शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मित्रताको महत्त्व बुझाउने दिवस

बुधबार, १४ साउन २०८२, १३ : ४७
बुधबार, १४ साउन २०८२

हरेक वर्षको ३० जुलाईमा हामी ‘अन्तर्राष्ट्रिय मित्रता दिवस’ मनाउँछौँ । यो दिन मित्रताको महत्त्वलाई सम्झाउने र सम्बन्धलाई अझ बलियो बनाउने अनुपम अवसर हो । कसैसँग मित्रता हुनु मानिसका लागि यस्तो शक्ति वा ऊर्जा हो, जसले मानिसको जीवनलाई मात्र होइन आत्मालाई पनि बलियो बनाउँछ ।

जीवनमा हामीले सानै उमेरदेखि मित्रताको महत्त्व बुझ्न थाल्छौँ । विद्यालयको पहिलो दिनदेखि सुरु हुने नयाँ मित्रताहरू जसले हामीलाई डर र संकोचबाट बाहिर ल्याउँछ, खेल मैदानमा एउटै टिममा जितका लागि सँगै पसिना बगाउँदा हुने मित्रता, अनि कहिलेकाहीँ पढाइका बोझ र जिन्दगीका कठिनाइहरूसँगै सामना गर्दा बनिएका मित्रता— यी सबैले हामीलाई नयाँ ऊर्जा दिन्छन् ।

वयस्क जीवनमा पुगेपछि पनि मित्रताको महत्त्व अझ बढी देखिन्छ । कामको तनाव, पारिवारिक जिम्मेवारी र समाजका अपेक्षाहरूका बिच पुराना साथीहरूसँग केही समय बिताउँदा हुने हल्का हाँसो, पुराना कुरा सम्झँदा आउने रमाइलो, अनि गुनासो सुन्ने वा सुनाउने त्यो निस्वार्थ साथले हाम्रो मनलाई पुनः उत्साहित बनाउँछ ।

सुख वा दुःख दुवै घडीमा मित्रताले हामीलाई नयाँ ऊर्जा दिन्छ । जब जीवनले अप्रत्याशित चुनौती ल्याउँछ, चाहे त्यो परीक्षामा असफलता होस्, रोजगार गुमाउनु होस्, वा परिवारभित्रको समस्या होस् त्यतिखेर मित्रका सामु भावना व्यक्त गरेर हलुका हुन सकिन्छ । 

जीवनमा हामीले सम्पत्ति, प्रसिद्धि वा सफलता मात्र होइन मित्र पनि कमाउन सक्नुपर्छ, जोसँग सम्झनाहरू साँचिएका हुन् । कुनै साथीले निस्वार्थ साथ दिन्छ वा हामीले कसैलाई निस्वार्थ साथ दिन्छौँ भने त्यो मिठो सम्झना बन्छ । यही नै मित्रताको सबैभन्दा सुन्दर पक्ष हो ।

हरेकको जीवनमा कम्तीमा एकजना यस्तो साथी हुन्छ, जसले आफ्नो कमजोरीलाई पनि स्विकार्छ, सल्लाह दिन सक्छ र सही बाटोमा फर्काउँछ । कहिलेकाहीँ एउटै कप चिया साझेदारी गर्दा गहिरा वा गोप्य कुरा खोलिन्छन्, अनि कहिलेकाहीँ केही नबोल्दा पनि मित्रको मौन साथले धेरै कुरा भन्छ ।

अन्तर्राष्ट्रिय मित्रता दिवसको महत्त्व यतिमा मात्र सीमित छैन । यो दिवसले फरक देश, भाषा, धर्म र संस्कृति भएका मानिसबिच पनि मित्रताको सेतु निर्माण गर्न प्रेरित गर्छ । विश्वमा बढ्दो द्वन्द्व, विभाजन र असहिष्णुताका बिच मित्रता नै त्यो शक्ति हो, जसले हामीलाई सहकार्य र समझदारीतर्फ लैजान सक्छ ।

सामाजिक सञ्जालका कारण हामी संसारका जुनसुकै कुनाका मानिससँग सम्पर्कमा रहन सक्छौँ । डिजिटल मित्रतालाई पनि वास्तविकता जस्तै सजीव राख्न प्रयास गर्नुपर्छ । सन्देश मात्र नभई संवेदना पनि आदान–प्रदान गर्न भिडियो कल गरिन्छ, दिलको कुरा पनि खोलिन्छ । सामाजिक सञ्जालको दुनियाँमा मित्रता ‘लाइक’, ‘कमेन्ट’ वा ‘स्टोरी’बाट मात्र टिक्दैन, साँचो मित्रता त निस्वार्थ समझदारी, स्नेह र विश्वासले मजबुत हुन्छ ।
संसारका ठुलाठुला परिवर्तन पनि मित्रताबाटै सुरु भएका छन् । इतिहासका उदाहरणले देखाउँछन्, जब विभिन्न देशका मानिसबिच मित्रता र सहकार्य भयो, तब युद्धको स्थानमा शान्ति आयो र विकास सम्भव भयो । त्यसैले अन्तर्राष्ट्रिय मित्रता दिवसले व्यक्तिगत मात्र नभई सामूहिक जीवनमा पनि ठुलो सन्देश दिन्छ— विभाजन होइन एकता, घृणा होइन प्रेम ।

मित्रता दिवस मित्रहरुलाई सम्झने र मित्रताको महत्त्व बुझ्ने उत्सव हो । पुराना साथीहरूलाई सम्झेर फोन गर्नुहोस्, नयाँ साथी बनाउन नहिच्किचाउनुहोस् र आफूभित्र पनि असल मित्र बन्ने संकल्प गर्नुहोस् ।
जीवनमा हामीले सम्पत्ति, प्रसिद्धि वा सफलता मात्र होइन मित्र पनि कमाउन सक्नुपर्छ, जोसँग सम्झनाहरू साँचिएका हुन् । कुनै साथीले निस्वार्थ साथ दिन्छ वा हामीले कसैलाई निस्वार्थ साथ दिन्छौँ भने त्यो मिठो सम्झना बन्छ । यही नै मित्रताको सबैभन्दा सुन्दर पक्ष हो । 

यस अन्तर्राष्ट्रिय मित्रता दिवसमा आउनुहोस्, मित्रताको त्यो धागो अझ बलियो बनाउँ, जीवनलाई अझ अर्थपूर्ण र सुन्दर बनाउँ । किनभने मित्रता नै हो, जसले हामीलाई साँच्चै मानव बनाउँछ।
(लेखक राना स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाकी कोषाध्यक्ष समेत हुन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मिस्मा राना
मिस्मा राना
लेखकबाट थप