शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
बागमती प्रदेश

मुख्यमन्त्री बानियाँको काँधमा ६ मन्त्रालयको जिम्मेवारी

मङ्गलबार, २० साउन २०८२, २२ : ३२
मङ्गलबार, २० साउन २०८२

सारांश

  • बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले ६ वटा मन्त्रालयको कार्यभार सम्हाल्न बाध्य भएका छन्।
  • कांग्रेसबाट भागमा परेका मन्त्रालयमा मन्त्री नियुक्त हुन नसक्दा मुख्यमन्त्रीले नै कार्यभार सम्हालेका हुन्।
  • एमालेका मन्त्रीहरूले भने आ-आफ्नो मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्।

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ एकै पटक ६ वटा मन्त्रालयको कार्यभार सम्हाल्न बाध्य भएका छन्। नेपाली कांग्रेस र एमालेको समर्थनमा सरकारको नेतृत्वमा पुगेका मुख्यमन्त्री बानियाँले पहिलो चरणमा ८ मन्त्री नियुक्त गरेका छन्। तर काँग्रेसबाट भागमा परेको ७ मन्त्रालयमध्ये हालसम्म एक मात्र मन्त्रालयमा मन्त्रीले जिम्मेवारी लिएका छन्। बाँकी रहेका ६ मन्त्रालय मन्त्रीविहीन रहेकाले ती मन्त्रालयको कार्यभार बानियाँकै काँधमा आएको हो।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा (९) अनुसार मुख्यमन्त्री बानियाँको सिफारिसमा मन्त्रिपरिषद् गठन र कार्य विभाजन गरेका हुन्। हाल बागमती प्रदेशमा मुख्यमन्त्री कार्यालयसहित १४ वटा मन्त्रालय छन्, जसमध्ये ६ मन्त्रालयमा मन्त्रीको नियुक्ति नभएको अवस्थामा ती सबै जिम्मेवारी मुख्यमन्त्री बानियाँले आफैँ सम्हाल्ने भएका हुन्। उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँगै आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, सामाजिक विकास, संस्कृति तथा पर्यटन, युवा तथा खेलकुद र सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत कार्यभार सम्हालिरहेका छन्।

नेपाली काँग्रेसले भाग पाएको मन्त्रालयमा मन्त्री टुङ्ग्याउने विषयमा पार्टीभित्रको आन्तरिक छलफल अझै टुङ्गोमा नपुगेको कारण जिम्मेवारी बाँडफाँडमा ढिलाइ भएको हो। हालसम्म काँग्रेसबाट कृष्णकुमार तामाङले मात्र मन्त्रालयको जिम्मेवारी पाएका छन् भने अर्का मन्त्री शिवराज अधिकारी विना विभागीय अवस्थामा रहेका छन्। बाँकी मन्त्रालयका लागि पार्टी सभापति शेरबहादुर देउवा र शीर्ष नेताहरूसँग छलफल गरेर निर्णय गरिने र एक साता भित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने मुख्यमन्त्री बानियाँले जनाएका छन्।

यसबिच एमालेको भागमा परेका ६ मन्त्रालयमा भने मन्त्रीहरूले जिम्मेवारी सम्हालिसकेका छन्। एमालेबाट डा. दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकास मन्त्रालयमा, मधुसुदन पौडेल कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा, जयराम थापा श्रम, रोजगार तथा यातायात मन्त्रालयमा, किरण थापा स्वास्थ्य मन्त्रालयमा, भरत बहादुर केसी वन तथा वातावरण मन्त्रालयमा र विन्दु श्रेष्ठ उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा सम्हालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप