रुसले पूर्वी युक्रेनका दुई गाउँ नियन्त्रणमा लिएको दाबी
सारांश
- रुसी सेनाले पूर्वी युक्रेनको डोब्रोपिलिया नजिकका दुई गाउँ नियन्त्रणमा लिएको दाबी गरेको छ।
- यी दुवै गाउँ डोब्रोपिलियाबाट करिब १५ किलोमिटर टाढा छन्, र रुसले यस क्षेत्रमा तीव्र सैन्य दबाब दिइरहेको छ।
- अमेरिकी अध्ययनका अनुसार, रुसको पछिल्लो २४ घण्टाको सैन्य प्रगति एक वर्षयताकै ठूलो हो।
मस्को । रुसको सेनाले पूर्वी युक्रेनको डोब्रोपिलिया नजिकका दुई गाउँ नियन्त्रणमा लिएको दाबी गरेको छ । डोब्रोपिलिया पूर्वी युक्रेनको एउटा पुरानो कोइला खानी क्षेत्र हो, जुन हालसम्म युक्रेनी सरकारको नियन्त्रणमै रहेको छ ।
रुसी रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा भनिएको छ,“डोनेट्स्क जन गणराज्य अन्तर्गत पर्ने सुवोरोभो र निकानोरीभका बस्तीहरू मुक्त गरिएको छ ।” युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रलाई मस्कोले ‘डोनेट्स्क जन गणराज्य’ भनी सम्बोधन गर्ने गरेको छ ।
यी दुवै गाउँहरू डोब्रोपिलियाबाट करिब १५ किलोमिटर टाढा रहेका छन् ।
हालका दिनहरूमा रुसले यस क्षेत्रमा तीव्र सैन्य दबाब सिर्जना गर्दै युक्रेनी सुरक्षाकर्मीहरूका रक्षा पङ्क्तिहरू भेदन गर्न सफल भएको बताइएको छ । यो सैन्य प्रगति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार हुने बैठकभन्दा केही दिन अगावै देखिएको हो ।
एएफपीले अमेरिकी ‘इन्स्टिच्युट फर द स्टडी अफ वार (आइएसडब्लु)’ को तथ्याङ्कको विश्लेषण गर्दै मंगलबारको दिन २४ घण्टाभित्र रुसी सेनाले गरेको यो प्रगति पछिल्लो एक वर्ष यता सबैभन्दा ठूलो हुने जनाएको छ ।
यसअघि, युक्रेनी अधिकारीहरूले जुलाई महिनामा डोब्रोपिलियाबाट बालबालिका भएका परिवारहरूको सुरक्षित स्थानमा स्थानान्तरणको आदेश दिएका थिए ।
झन्डै २८ हजार जनाको पूर्व–सङ्घर्ष जनसङ्ख्या रहेको यो सहर हाल निरन्तर रुसी ड्रोन र गोला बर्सातको चपेटामा रहेको बताइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण