बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

पाँचपोखरी थाङ्पालमा ८४ फिटको बुद्ध प्रतिमा अर्को वर्षसम्ममा निर्माण सम्पन्न हुने

बिहीबार, २९ साउन २०८२, २० : ५८
बिहीबार, २९ साउन २०८२

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालमा गौतम बुद्धको विशाल प्रतिमा निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ । थाङपाल गाउँपालिका ७ भोटेनाम्लाङस्थित युङ्बा दोङ (ठुलो ढुङ्गा) मा निर्माणाधीन बुद्धको प्रतिमा तीव्रता पाएको हो ।

गाउँपालिका अध्यक्ष टाशी लामाले पालिकाको गौरवको योजनाका रूपमा रहेको यो परियोजना चार वर्षदेखि  सुरु गरिएको जानकारी दिए ।धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण मानिएको बुद्धको प्रतिमालाई एउटै ठुला ढुङ्गामा बनाइएको उनले बताए ।  ८४ फिट अग्लो बुद्धको शिरको निर्माण कार्य पूरा भइसकेको र अन्य भागहरूको निर्माण तीव्र रूपमा भइरहेको जानकारी अध्यक्ष लामाले दिए ।

अध्यक्ष लामाका अनुसार एसियाकै अग्लो ढुङ्गामा कुँदिएको एकै टुक्राको बुद्ध प्रतिमा बन्ने लक्ष्यका साथ काम भइरहेको छ । परियोजनाको अनुमानित लागत ३ करोड रुपैयाँ रहेको र आगामी वर्षसम्म निर्माण सम्पन्न हुने लक्ष्य रहेको छ । 

पाँचपोखरी गाउँपालिका, बागमती प्रदेशको समन्वय र राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठानको प्राविधिक पक्षको सहयोगमा बुद्धको प्रतिमा बनाउने काम भइरहेको छ ।

’विश्वका धेरै ठुला बुद्धका प्रतिमा टुक्रा–टुक्रा ढुङ्गा जोडेर बनाइएका छन् । हामी भने एउटै ढुङ्गा प्रयोग गरेर इतिहासमै पहिलो पटक यस्तो काम गर्दैछौं,’ उनले भने । उनले  धार्मिक पर्यटन प्रवर्द्धन गर्न, स्थानीयको आर्थिक समृद्धिमा टेवा पुर्‍याउन र पाँचपोखरी थाङ्पाललाई आध्यात्मिक भूमि र अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा चिनाउन यो योजना अघि सारेको बताए ।

’बुद्ध जन्मेको देशमा, बुद्धकै सन्देश फैलाउने हाम्रो अभियान हो,’ अध्यक्ष लामाले भन्छन्,’यो काम युगौँ युगसम्म इतिहासमा कायम रहने छ।’ अध्यक्ष लामाले देश तथा विदेशमा रहेका नेपाली तथा श्रद्धालुहरूलाई आर्थिक सहयोग गर्न आग्रह गरे । उनले सहयोगीहरूको नाम शिलालेखमा राखिने उल्लेख गरे ।

विश्वभरका बौद्ध अनुयायीहरूलाई यस प्रतिमाले आकर्षण गर्ने उनले विश्वास व्यक्त गरे । गाउँपालिकाले प्रतिमा निर्माणपछि यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको अध्यक्ष लामाले दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप