शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
अन्तरवार्ता

‘प्रतिगमन सच्चिएझैँ विद्या भण्डारी बारेको निर्णय पनि सच्चिन्छ’

‘हामी कहिले प्रतिगमन आधा, कहिले आंशिक र कहिले पूरै सच्चियो भन्दै आएको पार्टीका कार्यकर्ता हौँ’
आइतबार, ०१ भदौ २०८२, ११ : ३०
आइतबार, ०१ भदौ २०८२

सारांश

  • एमाले केन्द्रीय समितिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण रोकेको छ।
  • एमालेभित्र भण्डारीको राजनीतिक भविष्यबारे बहस जारी छ, केही नेता उनको पुनरागमन आवश्यक ठान्छन्।
  • युवराज बास्कोटाले केन्द्रीय समितिको निर्णय सच्याउनुपर्ने र भण्डारीको राजनीतिक हक सुनिश्चित गर्नुपर्ने बताए।

विराटनगर । नेकपा एमालेको केन्द्रीय समितिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण रोकिदियो । त्यसपछि एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन र धमाधम भइरहेका पार्टी कमिटीका बैठकहरूमा एमालेका नेताहरूले केन्द्रीय समितिको यो निर्णयसँगै भण्डारीको राजनीतिमा आउने चाहना अब सधैँका लागि बन्द भएको आकलन गरेका छन् । यद्यपि उनको राजनीतिक भविष्यको विषयलाई लिएर एमालेभित्रको बहस अझै चर्किंदै गएको छ ।

पार्टीको संस्थापन पक्ष भण्डारीको सक्रियताको विपक्षमा उभिए पनि एउटा तप्का भने उनको पुनरागमन अनिवार्य रहेको बताउँदैछ । केन्द्रीय समितिको निर्णय सच्चिनुपर्छ भन्ने विषयमा खुलेर बोल्नेमध्येका एक हुन् केन्द्रीय सदस्य युवराज बास्कोटा । उनले यो निर्णयलाई ‘प्रतिगमन’ सच्याइएको घटनासँग तुलना गर्दै अन्ततः यो पनि सच्चिने दाबी गरेका छन् । आसन्न विधान महाधिवेशनले केन्द्रीय समितिको निर्णय उल्टाउने र भण्डारीको राजनीतिक हक सुनिश्चित गर्ने उनको विश्वास छ ।

प्रस्तुत छ– भण्डारीको आवश्यकता, अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी र पार्टीभित्रको आन्तरिक संघर्षबारे बास्कोटासँग संवाददाता अर्जुन आचार्यले गरेको कुराकानीको सम्पादित अंश :

  • राजनीतिमा सक्रिय हुने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घोषणा त घोषणामै सीमित हुने भयो, होइन ? एमालेले सदस्यता नै नवीकरण गरेर नि ?

होइन । म यस्तो मान्दिनँ । एमाले केन्द्रीय कमिटीको बैठकपछि जारी भएको पछिल्लो सार्वजनिक विषयवस्तुले यस्तो लाग्ला, तर योमात्र पर्याप्त होइन । उहाँका लागि एमालेको राजनीतिक वैचारिक अभियानसँग जोडिन सक्ने प्रशस्तै ठाउँ छन् ।

  • तपाईंले उहाँका लागि एमालेको राजनीतिक वैचारिक अभियानसँग जोडिन सक्ने प्रशस्तै ठाउँ छन् भन्नुभयो । त्यस्ता ठाउँचाहिँ के के हुन् ?

संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा आएको एक दशकपछि पनि नेपाली समाजको वस्तुगत र मनोगत अवस्थाको सुक्ष्म अध्ययन गर्ने, अध्ययनको सापेक्षमा बिचारको कसीलाई खार्ने, सामाजिक–आर्थिक परिवर्तन र रुपान्तरणका मुद्दामा आधारित रहँदै हामीले सैद्धान्तिक अस्त्रको रूपमा स्वीकार गरेको जनताको बहुदलीय जनवादका बारेमा व्यापकस्तरमा अभियान चलाउने, विचारको साँघुरोपन र संकुचित मनका विरुद्ध कार्यकर्ता पंक्तिलाई सचेत तुल्याउने, मानिसका निजी आकांक्षाको तुलो भारी पार्नका लागि विचार मर्न दिनुहुँदैन भनेर कार्यकर्तामा जाने काम गर्न सकिन्छ ।

राजनीतिक अभिभारा पूरा गर्नु भनेको अर्थराजनीतिका दृष्टिकोणले समाजलाई बलियो र सुदृढ तुल्याउनु हो । यो काम बाँकी नै छ भनेर निर्बिघ्न अभियान चलाउनुपर्ने छ । अब यो काम उहाँको नेतृत्वमा हुन्छ, उहाँले गर्नुहुन्छ ।

  • एमाले नेताहरूले प्रत्येक बैठक र छलफलमा उहाँबारे छलफल गर्नै रोक लगाएका छन् । १२औँ अन्तरपार्टी निर्देशनमा पनि उहाँलाई रोकिएको भनिएको छ । कोशी प्रदेश समितिकै बैठकमा पनि त्यो विषयमा छलफल गर्नै निषेध गर्न खोजिएको थियो नि ?

आँप, लिचीले झट्टी सहनुपर्छ । तर, खयरको वृक्षले कहिल्यै झट्टी खानुपर्दैन । उहाँको राजनीतिक सक्रियताको बाटो नै बन्द भएको भए फेरि चर्चाचाहिँ किन भइरहन्छ ? यो चर्चाका अघिपछि मनोवैज्ञानिक शङ्का, डर, त्रास आदि त छ नि ! होइन र ? जहाँसम्म भर्खरै सम्पन्न एमाले कोशी प्रदेश कमिटीको सातौँ पूर्ण बैठकको कुरा हो, त्यहाँ नेतृत्वको प्रस्तुतिमा अलिअलि राग त देखिन्थ्यो नै । तथापि, राजनीतिलाई विचार र जबजको वैचारिक मर्मअनुरुप व्यवहारको कसीमा बुझ्ने पंक्तिले त कुरा उठाएकै छ । नेतृत्वलाई निर्णय सच्याउन दबाब दिएकै छ । केही दिनअघि बागमती, आज कोशी हुँदै यो क्रम बढ्दो छ ।

  • त्यसो गर्दैमा एमालेले यो निर्णय सच्याउँछ जस्तो लाग्छ तपाईंलाई ? निर्णय सच्याउने ठाउँमा कसरी पु¥याउने ?

यो अभियानले नै कार्यकर्तालाई जोड्ने हो । जोडिएको कार्यकर्ता पंक्ति यति विषय बुझेपछि आजको आवश्यकतालाई बुझ्छ । आवश्यकताअनुरुपको नेतृत्व खोज्छ र भूमिकामा जोड्न प्रयत्नशील रहन्छ । पार्टी जीवनको व्यवस्थापनमा मैदानमा उत्रिएका दुई फरकफरक परिचयवाहक खेलाडीजस्तो मात्र होइन । फेरि उहाँले कसैलाई सक्न र कसैलाई रोक्न सक्रिय राजनीतिमा आउन लागेको भन्नुभएकै छैन । अहिलेसम्म प्राप्त अध्ययन र अनुभवसहितको ज्ञान राजनीतिक कामको मूल प्रवाहमा जोड्न चाहेको दर्शाइरहनुभएको छ । यदि कार्यकर्ताले यो पक्षलाई चाहे भने नेतृत्व आफूबाट भए–गरिएका निर्णयको परिस्कृत स्वरुप विकास गर्न सक्छ नि ! सक्दैन र ?

  • एमाले केन्द्रीय समितिले उहाँको सदस्यता नवीकरण नगर्ने भनेर गरेको निर्णय कहिले सच्चिन्छ ? आउँदो विधान अधिवेशनबाट कि महाधिवेशनबाट कि अर्काे अधिवेशनबाट ?

उहाँको पार्टी सदस्यता नवीकरण भएको विषय सार्वजनिक भइसकेको छ । यो नामेट छ । यसलाई बदर गर्ने, अनादर गर्ने विषय राजनीतिक जीवनका लागि अनुचित घटना हो, सच्याइनुपर्छ भनेर आवाज उठ्न थालेको छ । समयक्रममा सच्चिन्छ । विधान महाधिवेशनको मञ्चसम्म पुग्दा यो निर्णय सच्चिएर र परिस्कृत भएर आउने छ । हामी कहिले प्रतिगमन आधा सच्चियो, कहिले आंशिक सच्चियो र कहिले पूरै सच्चियो भन्दै आएका कार्यकर्ता पंक्ति हौँ । घटनाक्रममा व्यक्ति र व्यक्तिको भूमिकालाई पढ्ने हो । त्यो क्रम जारी छ ।

कहिले कमल थापालाई आफ्नो मानियो, कहिले राजेन्द्र लिङ्देनलाई, तर विद्यादेवी भण्डारीचाहिँ आफ्नो पार्टीको नेता–नेतृत्व किन हुन नसक्ने ? कार्यकर्ता पंक्तिमाझ विमर्श हुन थालेको छ । यो संगठित ढंगले विधान महाधिवेशनसम्म पुग्दा निर्णय सच्चिन्छ । तत्काल उहाँ कमिटीगत जीवनबाहिर बसेर पनि राजनीतिक वैचारिक मार्गदर्शन गर्न सक्नुहुन्छ । आसन्न महाधिवेशनले उहाँको राजनीतिक हक सुनिश्चित गर्न विवेक पु¥याउने छ ।

  • मैले कुरा नबुझेको नि, एमालेको नेतृत्वमा विद्या भण्डारी नै ल्याउनुपर्नेमा तपाईंहरूको यति धेरै जोड किन हो ? अरू नेताको खडेरी परेको हो कि अरूलाई नपत्याएको ? उहाँसँग देशलाई पार्टीलाई त्यस्तो ठुलो परिवर्तन गर्नसक्ने के गुण छ ?

वास्तवमा अहिले गरिनुपर्ने प्रश्न र खोजिनुपर्ने उत्तर यहीँनेर छ । पार्टी जीवनको व्यवस्थापनका सन्दर्भमा अन्तरपार्टी लोकतन्त्र र लोकतान्त्रिक अभ्यासका प्रवर्तक पार्टी अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ । उहाँले नै उमेर हदको किटानीसहित कार्यकालको विषयलाई लिपिबद्ध गर्नुभयो । यो दुवै विषयको विकल्प चहार्दा नेतृत्व खोजिनु वा नेतृत्वबारे सोचिनु जरुरी थियो, तर अहिले त्यो बेला होइन । फेरि हामी अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा मिसन ०८४ हासिल गर्ने सर्तमा संकल्पकृत भएपछि नेतृत्व खोजिनुपर्ने विषय पनि भएन । आज अध्यक्ष ओलीकै कारण एमालेले जुन उचाइ लिएको छ, यसलाई बचाइराख्न पनि उत्तिकै हाइट भएको नेतृत्व चाहिएला ! राजनीतिक वैचारिक हिसाबले सुझबुझ सम्पन्न र कार्यकर्ताको न्यायोचित व्यवस्थापन गर्न सक्ने नेतृत्व चाहिएला ! यसतर्फ अलिअलि देखिएको दौडधुपलाई सन्तुलनमा ल्याउन र एकले अर्कालाई स्वीकार्न सकिने पात्रका रूपमा देखिनुभएका समकालीन अनुहारको साझा उपस्थिति चाहिन्छ भन्ने नै हो ।

विद्यादेवी भण्डारीमा विचारप्रतिको दृढता छ, राजनीतिक आन्दोलनको इतिहासमा इमान, लगन र निष्ठा छ । अनेमसंघको अध्यक्ष हुँदा होस् वा रक्षामन्त्रीको रूपमा रहँदा होस् वा राष्ट्रपतिको भूमिकामा रहँदा होस्, उहाँले देखाउनुभएको दुरगामी महत्त्वको अग्रसरता, कार्यतत्परता, देशभक्तिपूर्ण निष्ठा आदिको पक्ष तुलनात्मक रूपमा भिन्न छ । नेपाली समाजको वस्तुगत पक्षको अध्ययन निकै गहिरो छ र परिवर्तनको पक्षमा आमनेता, कार्यकर्ता र सर्वसाधारणलाई सँगसँगै लिएर अहोरात्र लाग्ने, खट्ने हुटहुटी र छटपटी छ ।

  • प्रसङ्ग थोरै बदलौँ । मदन भण्डारी फाउण्डेसन ठगी खाने भाँडो भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले नै भन्नुभयो । यसअघि मदनका दुई श्रीमती, सहकारी ठगीमा पनि मानिसले जोडे भनेर छेडखानी गर्नुभयो । मदन भण्डारी परिवार, विद्या भण्डारी र फाउन्डेसनसँग उहाँ किन यति धेरै रिसाउनु भएको ?

नेता–नेतृत्वका नाममा बनेको संघसंस्था गरिखानका लागि मात्र नबनुन् । ठगीखाने नबनुन् भन्ने आशयले भन्नुभएको विषयलाई मचाहिँ सचेत हुनका लागि भन्नुभएको अर्थमा लिन्छु । किनभने मदन भण्डारी फाउण्डेशन जननेता मदनकुमार भण्डारीको दुःखद् देहावसानपछि उहाँकै पहलमिश्रित कदमीबाट पनि बनाइएको हो । फाउण्डेशनमा म स्वयं रहँदाको पनि अनुभव छ । उहाँले फाउण्डेशनका कार्यक्षेत्रका बारेमा प्रशिक्षित गर्नुहुन्थ्यो । फराकिलो कार्यक्षेत्रमा आधारित रहँदै अनुसन्धानमूलक काम गर्न राय सुझाउनुहुन्थ्यो । आफैँले मलजल सिञ्चन गरेको बनाएको संस्थाबारे बजारमा चर्चा छाएजस्तो उहाँको अभिव्यक्ति आएको होइन होलाजस्तो लाग्छ ।

जहाँसम्म श्रीमतीको प्रसङ्ग छ, त्यो कालरात्रिका दिनहरूमा नेता बचाउन गाह्रो थियो । मानिसले सोझै अभियोग लगाउँथे, आरोप लगाउँथे, आक्षेप लगाउँथे भन्ने कोणबाट भन्नुभएको हो । यसलाई अलिक तोडमरोड गरेर बजारको खपतका हिसाबले बुझियो कि भन्ने लाग्छ । इतिहासको त्यो बेलामा सहकारी नै थिएनन् । किन सहकारी भन्नुहुन्थ्यो र ? उहाँले भन्न खोज्नुभएको साझाका बारेमा हो । गाउँका सोझा निमुखा र गरिबमारा केही साझा काण्ड राजनीतिक लडाइँको कालखण्डमा घटेका भए पनि तत्कालीन अवस्थामा पार्टीको कार्यनीतिक योजनाका साथ भए । यो राजनीतिक परिवर्तनको लडाइँको उत्कर्षको समय थियो । हाम्रा अध्यक्षको विषयवस्तुको प्रस्तुतिगत स्वभाव पनि अलिक भिन्नखालको छ । रसिलो र फरासिलो छ । यो पक्षलाई मैलेभन्दा बढी स्वयं विद्यादेवी भण्डारीले बुझ्नुभएको छ । यसकारण यसलाई छेडखानीभन्दा पनि स्वभावजन्य अभिव्यक्ति होला भन्ने ठान्दछु मचाहिँ ।

  • यसले राम्रो सन्देश त गएको छैन नि ?

आजको एमाले निर्माणको प्रश्नमा उहाँहरू दुवैजना एक अर्काको पर्याय र परिपूरक हुनुहुन्छ । कुनै पनि एक जना अर्कोसँग रिसाउनुभएको होला भन्ने मलाई लाग्दैन । सन्देशको कुरा त मैले यसरी बुझ्छु । अर्को, कसले कसरी बुझ्छ भन्ने न हो । राम्रोलाई बुझ्ने र बुझेकोलाई प्रवाह गर्नेभन्दा पनि खेदो खन्ने, हिलो छ्याप्ने र अर्काको विपत्तिमा रमाउने चलन बढी छ नि हाम्रोमा । यसकारण पनि दुर्गन्ध बढी चलेको वा चलाइएको होला ।

  • अन्तिममा, तपाईं सम्मिलित पार्टीको केन्द्रीय समिति बैठकले गरेको निर्णयबारे पुनर्विचारको कुरा निरन्तर गर्दा कारबाहीमा परिने डर हुँदैन ?

मलाई रत्तिभर डर छैन । मलाईमात्र होइन, धेरै जनालाई डर छैन । कतिपय कारणले उहाँहरू बोल्न नसक्नुभएको मात्र हो । मैले जे जति गरेको छु, यो पार्टी निर्माणको पक्षमा बोलेको छु । मिसन ०८४ हात लिने भनेको जनमत आर्जन गर्ने हो । चोइटिएको, चिरिएको र मनोवैज्ञानिक हिसाबले परस्पर नमिलेको कार्यकर्ता पंक्तिबाट मिसन ०८४ परिणामका दृष्टिकोणले आर्जन गर्न सकिँदैन भन्ने हो ।

हिजो सर्वसम्मत दुई कार्यकालसम्म राष्ट्रपति बनाइएको व्यक्तित्वलाई बेवास्ता गरेर आन्दोलन बन्छ ? बन्दैन । उहाँले कमाएको ज्ञान र अनुभवलाई पनि सँगसँगै लैजानुपर्छ भन्ने हो । व्यवस्थापन कहाँ गर्ने ? कसरी गर्ने ? त्यो त मूल नेतृत्वले गर्ने हो । हिजोचाहिँ राजनीतिक योग्यता चाहिन्छ, त्यो भनेको विद्यादेवी भण्डारी हो भनेर विश्वास गरेर राष्ट्रपति बनाइएको हो । जननेता मदनकुमार भण्डारीसँग जोडेर होइन । अनि आजचाहिँ आफ्नो बचेखुचेको समय पूर्ववर्ती राजनीतिक व्यानरमुनि उभिएर व्यतीत गर्छु भन्दा फतुरा आरोप त लगाउनु भएन नि । एमाले निर्माणका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी दुई पर्याय मिल्नुपर्छ भनेर जोड दिइएको छ । एकबाट अर्कोलाई अलग्गै राखेर रजगज गर्न चाहनेलाई बिचमा खेल्न दिनुहुँदैन भन्ने हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप