लयमा फर्कन सकेन म्याग्दीको पर्यटन
सारांश
- कोरोना महामारीपछि म्याग्दीको पर्यटन क्षेत्र लयमा फर्कन सकेको छैन, पर्यटकको संख्या घटेको छ।
- जिल्ला प्रहरी कार्यालयका अनुसार आव २०८१/८२ मा ३० हजार आठ सय ६५ पर्यटकले म्याग्दी भ्रमण गरेका छन्।
- घोडेपानी र पुनहिल क्षेत्रमा पर्यटकको रोजाइ भएपनि नयाँ गन्तव्य पहिचान र पूर्वाधारको कमीले पर्यटक आगमन बढेको छैन।
म्याग्दी । कोरोना महामारीका समयमा थलिएको म्याग्दीको पर्यटन क्षेत्र अझै लयमा फर्कन सकेको छैन ।
कोरोना महामारी सुरु हुनुअघि २०७५ सालसम्म वार्षिक ७५ हजारभन्दा बढी विदेशी पर्यटक घुम्न आउने म्याग्दीमा हाल वार्षिक ३० हजारको हाराहारीमा मात्र पर्यटक आउने गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । घोडेपानी र दरवाङमा रहेको इलाका प्रहरी कार्यालयले जिल्ला भित्रिने र बाहिरिने पर्यटकको विस्तृत विवरणसहितको तथ्याङ्क राख्ने गर्छन् । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलका अनुसार आव २०८१/८२ मा ३० हजार आठ सय ६५ जना पर्यटकले म्याग्दीका पर्यटकीयस्थलको अवलोकन गरेका छन् ।
आर्थिक वर्ष २०८०/८१ मा ३१ हजार तीन सय ३४ र आव २०७९/८० मा २९ हजार तीन सय २८ तथा आव २०७८/७९ मा सात हजार नौ सय २६ विदेशी पर्यटकले जिल्लाको भ्रमण गरेका थिए । छिमेकी जिल्ला मुस्ताङमा म्याग्दीको सडक भएर जाने पर्यटकको अभिलेख भने राख्ने गरिएको छैन ।
धवलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, खोपारा, अन्नपूर्ण धवलागिरि, धवलागिरि सेञ्चुरी, धवलागिरि चक्रीय, धवलागिरि आइसफल, टोड्के, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनीबजारलगायत धार्मिक, प्राकृतिक र ऐतिहासिक स्थलको भ्रमणका लागि म्याग्दीमा पर्यटक आउने गर्छन् ।
म्याग्दीमा आउने पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी पर्यटकको रोजाइमा अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी र पुनहिल क्षेत्र पर्ने गरेको छ । घोडेपानीको होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले पर्यटक आगमन अपेक्षाकृत नभएको बताइन् । नयाँ पर्यटकीय गन्तव्य पहिचान र प्रवर्द्धनको कमी, सडकका कारण पदमार्ग छोटिनु तथा भएका पर्यटकीयस्थलमा पूर्वाधारको विकास हुन नसक्दा देश र प्रदेशको अनुपातमा म्याग्दीमा पर्यटक आगमन वृद्धि हुन नसकेको उनको भनाइ छ ।
आव २०७६/७७ मा ५० हजार, आव २०७५/७६ मा ७५ हजार एक सय ९१, आव २०७४/७५ मा ७४ हजार सात सय ३३, आव २०७३/७४ मा ६९ हजार आठ सय ३७ तथा आव २०७२/७३ मा ४३ हजार छ सय ३२ विदेशी पर्यटकले म्याग्दीको भ्रमण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण