नेपाल–चीन व्यापार सहजीकरण लागि उत्तरका थप नाका खोल्न निकासी पैठारी सङ्घको माग
सारांश
- नेपाल समुद्रपार निकासी पैठारी सङ्घले चीनसँगको व्यापार सहज बनाउन थप नाका खोल्न माग गरेको छ।
- बाढीपहिरोले रसुवागढी र तातोपानी नाका बन्द हुँदा व्यवसायीहरू मर्कामा परेका छन्, र सामानहरू बिच बाटोमै अलपत्र परेका छन्।
- संघले सरकारलाई कोरला र ओलाङ्चुङगोला लगायतका नाकाहरू सञ्चालनमा ल्याउन र पूर्वाधार विकास गर्न आग्रह गरेको छ।
काठमाडौँ । नेपाल समुद्रपार निकासी पैठारी सङ्घले बाढीपहिरोका कारण उत्तरतर्फका दुई व्यापारिक नाका रसुवागढी र तातोपानी वर्षायाममा बर्सेनि बन्द हुने गरेकोले मित्रराष्ट्र चीनसँग स्थलमार्गबाट हुने व्यापारलाई सहज बनाउन अन्य नाका खुलाउनेतर्फ कूटनीतिक पहल र पूर्वाधारको व्यवस्था गर्न माग गरेको छ ।
गत असार २४ गते रातिको बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएपछि रसुवागढी नाकाबाट मानिस र व्यापारिक सामानको आवागमन ठप्प भएको छ । बाढीपहिरोकै कारण सिन्धुपाल्चोकको तातोपानी नाका पनि दुई सातादेखि अवरुद्ध छ ।
प्राकृतिक प्रकोपका कारण अकस्मात् नाका बन्द हुँदा नेपालका लागि आयात भएका मालसामान बोकेका सयौँ कन्टेनर र ट्रकहरू बिच बाटोमै अलपत्र परेका छन् । व्यवसायी चर्को व्ययभार बोक्न बाध्य भएका छन् ।
यो अवस्था बर्सेनि दोहोरिइरहेको परिप्रेक्ष्यमा चीनसँगको आयात–निर्यात सहज बनाउन अन्य नाकाहरू खोल्नु जरुरी रहेकोले कूटनीतिक पहलमार्फत ती नाकाहरू अविलम्ब सञ्चालनमा ल्याउन र अन्य वैकल्पिक नाकाहरूमा पूर्वाधारको व्यवस्था गर्न सङ्घले सरकारलाई आग्रह गरेको हो ।
व्यवस्थापिका संसद्को विकास समितिले २०७२ सालमै उत्तरी नाकाहरूको अवस्था अध्ययन गरी कोरला र ओलाङ्चुङगोला नाका सञ्चालनमा ल्याउन सकिने सुझाव दिएको थियो । नेपाल र चीन सरकारका उच्च अधिकारीहरू एक दशकअघि नै द्विपक्षीय छलफलका क्रममा सात वटा उत्तरी नाका खोल्न सहमत भएका थिए । ती नाकाहरूमा तातोपानी, मुस्ताङको कोरला, सङ्खुवासभाको किमाथांका, दोलखाको लामाबगर, ताप्लेजुङको ओलाङ्चुङगोला, मुगुको आम्जापास, हुम्लाको यारी हिल्सा र गोरखाको लार्के थिए । तर हालसम्म रसुवागढी र तातोपानी बाहेक अन्य नाका व्यापारिक प्रयोजनका लागि खुलेका छैनन् ।
कोरला नाका १२ महिना नै सञ्चालन गर्न सकिने अवस्थामा छ । कोरला नाकामा चीनतर्फ पूर्वाधार पनि तयार छ । नेपालतर्फ पनि कोरालासम्म सडक पुगिसकेको छ । ताप्लेजुङको ओलाङ्चुङगोला नाकाबाट पनि दुई मुलुकबिचको व्यापार सञ्चालन गर्न सकिने अध्ययनले देखाएको छ । अतः यी नाकाहरू छिटोभन्दा छिटो व्यापारिक प्रयोजनका लागि खुला गर्न र व्यापारिक हिसाबले उपयुक्त अन्य नाका पनि सञ्चालनमा ल्याउने वातावरण तयार गर्न सङ्घले सरकारको ध्यानाकर्षण गराएको छ ।
आयात व्यापारमा चीन नेपालको दोस्रो ठुलो साझेदार हो । पछिल्लो समय पूर्वाधार तयार भएसँगै चीनसँगको व्यापार उत्तरी नाकातर्फ सर्ने क्रम बढेको तथ्याङ्कले देखाउँछ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा तातोपानीबाट ५० अर्ब रुपैयाँभन्दा बढीको र रसुवागढी नाकाबाट ८५ अर्ब रुपैयाँभन्दा बढीको सामान आयात भएको छ ।
चीनबाट चाडपर्व लक्षित सामान आयात हुने दुवै नाका बन्द हुँदा व्यापारिक गतिविधि अपेक्षाकृत बढ्न नसक्ने, आम उपभोक्ता सुपथ मूल्यमा वस्तु प्राप्त गर्नबाट वञ्चित हुने र सरकारले पाउनुपर्ने राजस्व पनि गुम्ने अवस्था रहेको तर्फ ध्यानाकर्षण गराउँदै सङ्घले उत्तरका थप नाकाहरू व्यापारिक प्रयोजनको लागि खुला गर्नेतर्फ अविलम्ब पहल गर्न माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण