शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
धर्ना

उखु किसान भन्छन्– सरकारलाई कसरी घुँडा टेकाउनुपर्छ, हामीलाई थाहा छ

आइतबार, ०८ भदौ २०८२, १३ : २३
आइतबार, ०८ भदौ २०८२

सारांश

  • उखु किसानहरू अनुदान कटौती र पुरानो बक्यौता भुक्तानीको माग गर्दै काठमाडौंमा आन्दोलन गर्दैछन्।
  • सरकारले प्रति क्विन्टल ७० रुपैयाँ अनुदानको व्यवस्था नगरेपछि किसानहरू आक्रोशित भएका छन्, जसले गर्दा उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
  • किसानहरूले गत वर्षको अनुदान रकम र नयाँ बजेटमा घटाइएको अनुदानको विरोध गर्दै सात दिने आन्दोलनको घोषणा गरेका छन्।

काठमाडौँ । सरकारले दिँदै आएको अनुदान कटौती गरेपछि र पुरानो बक्यौता भुक्तानी नगरेपछि उखु किसानहरू फेरि आन्दोलनका लागि काठमाडौँ आएका छन् । उखु किसान महासङ्घको नेतृत्वमा देशका विभिन्न जिल्लाबाट आएका किसानहरूले आजदेखि माइतीघर मण्डलामा प्रदर्शन सुरु गरेका हुन् ।

उखु किसान महासंघका केन्द्रीय अध्यक्ष श्याम रायले रातोपाटीसँग कुरा गर्दै सरकारले बजेटमा प्रति क्विन्टल ७० रुपैयाँ अनुदानको व्यवस्था नराखेपछि आन्दोलन गर्नुपरेको बताए । ‘नेपाल सरकारले दिँदै आएको ७० रुपैयाँ अनुदान अहिलेको बजेटमा राखेको छैन, जुन सरासर किसानमाथि अन्याय हो,’ अध्यक्ष रायले भने,  ‘हाम्रो पुरानो सम्झौता कार्यान्वयन हुनुपर्छ भन्ने मुख्य माग हो ।’

सरकारले उखुको मूल्य प्रति क्विन्टल ६५५ रुपैयाँ तोकेको थियो, जसमा ५८५ रुपैयाँ उद्योगीले र ७० रुपैयाँ सरकारले अनुदान दिने सहमति थियो । तर, नयाँ बजेटमा अनुदानको व्यवस्था घटाइएपछि किसानहरू आक्रोशित भएका हुन् । चालु आवमा सरकारले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदानबाट ३५ रुपैयाँमा झारेको छ । 

यसका साथै किसानहरूले गत वर्षकै सरकारी अनुदानबापतको रकम पनि नपाएको गुनासो गरेका छन् । अध्यक्ष रायका अनुसार गत वर्ष देशभर भएको उखु क्रसिङको हिसाबमा सरकारले दिनुपर्ने एक अर्ब ६० करोड रुपैयाँ अनुदान किसानले अझै पाउन बाँकी छ । ‘मिलले दिनुपर्ने भुक्तानी बाँकी छैन, तर सरकारले दिने भनेको अनुदान नै दिएको छैन,’ उनले भने ।

माग पूरा नभए आन्दोलन थप चर्काउने चेतावनी

आफ्ना माग पूरा गराउन किसानहरूले काठमाडौँमा सात दिने आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । अध्यक्ष रायका अनुसार अहिले सिराहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी  लगायत  क्षेत्रका करिब ६ सय किसान काठमाडौँ आएका छन् ।

‘हामीले ७ दिनको कार्यक्रम लिएर आएका छौँ । यदि यो अवधिमा हाम्रो माग सुनुवाइ भएन भने हामी पछि हट्ने छैनौँ,’ उनले चेतावनी दिँदै भने, ‘हामी आन्दोलनलाई थप चर्काउँछौँ । सरकारलाई कसरी घुँडा टेकाउनुपर्छ, हामीलाई थाहा छ ।’

किसानहरूले आज माइतीघर मण्डलाबाट बानेश्वरसम्म र्‍याली गर्ने र कोणसभा गरेर पहिलो दिनको कार्यक्रम सम्पन्न गर्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप