उपसभामुख हटाउने तयारीको विरोधपछि देउवा–शेखर ‘वान टु वान’
सारांश
- शेरबहादुर देउवाले उपसभामुखलाई हटाउने सहमति कार्यान्वयनका लागि बैठक बोलाए, तर महामन्त्री थापा र डा. कोइराला अनुपस्थित रहे।
- पार्टीभित्रै उपसभामुख हटाउने तयारीको विरोध भयो, र डा. कोइरालाले अनुपयुक्त समयमा यो विषय उठाइएको बताए।
- राज्य व्यवस्था तथा सुशासन समिति सभापतिबारे छलफल भयो, जसमा हृदयराम थानी र दिलेन्द्रप्रसाद बडूले आकांक्षा राखेका थिए।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ ३ गते मंगलबार बिहान आफ्नै निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक बोलाए ।
त्यसको अघिल्लो दिन साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरलाई ‘पदीय आचरण’विपरीत काम गरेको भन्दै हटाउने सहमति कार्यान्वयनका लागि सांसदहरूको हस्ताक्षर संकलन गर्ने प्रयोजनका लागि उक्त बैठक बोलाइएको थियो ।
देउवाले बोलाएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र पार्टीभित्रको इतर समूहका नेता डा. शेखर कोइराला सहभागी भएनन् । बैठकमा पार्टीका सांसदहरूको हस्ताक्षर संकलन गर्ने कुरा भएपछि महामन्त्री गगन थापाले विरोध गरे । ‘अहिले उपसभामुखलाई हटाउने प्रक्रिया सुरु गर्यौँ नराम्रो सन्देश जान्छ । नगरौँ,’ थापाले भनेका थिए, ‘यसमा मेरो समर्थन छैन ।’
थापाले विरोध गरे पनि देउवाले प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई हस्ताक्षर संकलनको निर्देशन दिए । पार्टीको संस्थापन पक्षका सांसदहरूले सिंहदरबारस्थित संसदीय दलमा आएर हस्ताक्षर गरे ।
त्यो हस्ताक्षर संकलन गर्ने कार्यकै दिन भैरहवामा रहेका महामन्त्री थापाले उतैबाट सञ्चारकर्मीहरूमार्फत विरोध जनाएका थिए । आगामी कात्तिक १७ गते तय भएको उपनिर्वाचनका लागि फिल्ड स्टडी गर्न थापा रुपन्देही–३ पुगेका थिए । डा. कोइरालाले भने काठमाडौँबाटै विरोध जनाएका थिए ।
भदौ ४ गते प्रतिनिधिसभा बैठक बोलाइएको थियो । बैठकअघि भदौ ४ गते बिहान पनि देउवाले सोही प्रयोजनका लागि पदाधिकारी र पूर्वपदाधिकारीसहित आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाए । दोस्रो दिनको बैठकमा पनि महामन्त्री थापा उपस्थित भएनन् । डा. कोइरालालाई बैठकमा बोलाउन उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियामार्फत टेलिफान भयो । तर कोइरालाले आफू बैठकमा सहभागी नहुने र देउवासँग छुट्टै बसेर यसबारे कुराकानी गर्ने गर्ने जानकारी पठाए ।
त्यसको दुई दिनपछि सभापति देउवाले भदौ ६ गते शुक्रबार डा. कोइरालालाई आफ्नो निवास बूढानीलकण्ठमा बोलाए । त्यस वेला कोइराला बूढानीलकण्ठ गएको र करिब एक घण्टा छलफल भएको उनै थपालियाले रातोपाटीलाई जानकारी दिए । ‘शुक्रबार सभापतिज्यूले बोलाएर दाइ (डा.शेखर) जानुभएको थियो । करिब एक घण्टा कुराकानी भएको हो,’ थपलियाले भने, ‘कुराकानी के भयो भन्ने जानकारी भएन ।’
देउवानिकट स्रोतका अनुसार उपसभामुखलाई हटाउने विषयमा भएको हस्ताक्षर संकलनमा किन असन्तुष्टि राख्नुभएको भनी देउवाले सोधेका थिए । जवाफमा डा. कोइरालाले गल्ती नै गरेको भए पनि अनुपयुक्त समयमा यो विषय उठाइएको बताएका थिए । ‘गल्ती गर्नेलाई कारबाही गर्नुपर्छ । तर, कारबाहीको समय हुन्छ,’ कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिले अनुपयुक्त समयमा यो विषय उठाइयो । यसले पार्टीलाई हित गर्दैन ।’
यता डा. कोइरालाले आफूले सभापतिलाई भेटेको र उपसभामुख प्रकरण र राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा कसरी अगाडि बढ्ने भन्ने विषयमा आइतबार बिहान आफू निकटका पदाधिकारी र सांसदहरूसँग छलफल गरेका छन् । आफ्नो सम्पर्क कार्यालय विशालनगरमा उनले सांसदहरूसँग छलफल गरेका थपलियाले पुष्टि गरेका हुन् ।
छलफलमा उपसभापछि धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारसहित सांसदहरू थिए । पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत हुन् । त्यस्तै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, सांसदहरू सरिता प्रसाईं, हृदयराम थानी, सञ्जय गौतम, रामकृष्ण यादवसहित सांसद सहभागी थिए ।
बैठकमा प्रतिनिधिसभा नियमावली अनुसारसमिति सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति निर्वाचित गरिसक्नुपर्छ । गत साउन २८ गते सभापति रामहरि खतिवडाले राजीनामा दिएको भदौ ११ गते १५ दिन पुग्ने भएकाले त्यसबारे छलफल गर्न सभापति देउवाले सोमबार पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन् ।
त्यसअघि आफ्नो समूहको धारणा बनाउन डा. कोइरालाले आफूपक्षीय सांसद र पदाधिकारीहरूसँग छलफल गरेका हुन् ।
डा. कोइरालाले छलफलमा महामन्त्री गगन थापालाई पनि बोलाएका थिए, तर उनी शनिबार वीरगञ्ज गएकाले आउन ढिला हुने भन्दै उपस्थित भएनन् । राज्य व्यवस्था तथा सुशासन समितिको सभापति भागबन्डाअनुसार कांग्रेसको भागमा परेको छ । सभापतिमा इतर समूहका सांसदहरू हृदयराम थानी र दिलेन्द्रप्रसाद बडूले आकांक्षा राखेका छन् । थानी राज्य व्यवस्था तथा सुशासन समितिका पूर्वसभापति हुन् भने पूर्वमन्त्री बडू अवकाशप्राप्त प्राध्यापक हुन् ।
बैठकमा सहभागी पार्टी केन्द्रीय सदस्यसमेत रहेका सांसद गौतमले मुख्यगरी दुई विषयमा छलफल भएको जानकारी दिए । ‘बिहान शेखर दाइले बैठक बोलाउनु भएको थियो । उपसभामुखलाई गर्न लागिएको कारबाही र पार्टीको अनुशासन समितिले गरेको कारबाहीका विषयमा छलफल भयो,’ गौतमले रातोपाटीसँग भने, ‘त्योबाहेक समसामयिक राजनीतिका विषयमा पनि कुरा भयो ।’
राज्य व्यवस्था तथा सुशासन समिति सभापतिबारे पनि कुरा भयो भन्ने प्रश्नमा गौतमले भने, ‘यसबारे खासै कुरा भएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण