बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
राजनीति

कसले गर्‍यो माओवादीमा द्वन्द्व सिर्जना गर्ने षड्यन्त्र ?

बुधबार, ११ भदौ २०८२, १२ : ५४
बुधबार, ११ भदौ २०८२

सारांश

  • प्रचण्डले पार्टीभित्र चलिरहेका षडयन्त्रबारे बताए, गुटबन्दी अन्त्य र पार्टीलाई एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे।
  • माओवादी केन्द्रको लोकप्रियताका कारण प्रतिक्रियावादी र दलालहरू आतङ्कित भएको र पार्टीलाई कमजोर बनाउन खोजेको प्रचण्डको भनाइ छ।
  • पार्टीभित्रको विवाद र अन्तर्विरोध समाधानका लागि स्थायी समिति बैठकले गुट, उपगुट र स्वार्थ समूह विघटन गर्ने निर्णय गरेको छ।

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र द्वन्द्व सिर्जना गर्न विभिन्न षड्यन्त्रहरू भइरहेको बताएका छन् । कर्णाली प्रदेशको पूर्ण बैठकलाई बुधवार सम्बोधन गर्दै प्रचण्डले द्वन्द्व व्यवस्थापनका लागि सबैखाले गुटबन्दी र अराजकता अन्त्य गरी पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता जनाए ।

माओवादी केन्द्रको यो बढ्दो लोकप्रियताले प्रतिक्रियावादी र दलालहरूलाई आतङ्कित भएकाले पार्टीलाई कमजोर बनाउन अराजकता मच्चाउन खोजिएकाले पार्टीको स्थायी समिति बैठकले अनुशासनहीनताको अन्त्य गरी एकताबद्ध बनाउने सङ्कल्प गरिएको नेताहरूलाई सुनाए ।

साउन ६ र ७ गते नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसको अवसरमा अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा बिचको अन्तर्विरोध सार्वजनिक रूपमै छताछुल्ल भएको थियो । साउन १९ मा सम्पन्न माओवादीको स्थायी समिति बैठकले अन्तर्विरोध हल गर्न पार्टीभित्रका सबै गुट, उपगुट तथा स्वार्थ समूह विघटन गर्ने निर्णय गरेको थियो । प्रचण्डले स्थायी समिति बैठकको निर्णयबारे जानकारी दिएको कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्लले जिकिर गरे । षड्यन्त्रकारी पार्टीभित्रका नेताहरूलाई भन्दा पनि बाहिरको बिचौलिया, प्रतिक्रियावादी शक्तिहरूलाई भन्न खोजेको उनले दाबी गरे । बैठकमा शर्माको अभिव्यक्तिलाई लिएर प्रचण्डले कुरा नउठाएको मल्लले दाबी गरे । पार्टीभित्र द्वन्द्व सिर्जना गर्न षड्यन्त्र गर्नेहरू बाहिरी शक्तिको विषयमा पनि कसैको नाम नलिएको उनले जिकिर गरे ।

‘अध्यक्ष प्रचण्डले पार्टीभित्रका कुनै नेताहरूप्रति लक्षित गरेर केही बोल्नु भएको छैन । स्थायी समिति बैठकले गुट, उपगुट र स्वार्थ समूह विघटन गर्ने सङ्कल्प गरेको छ । हाम्रो पार्टीलाई कमजोर बनाउन विभिन्न षड्यन्त्र भइराखेका छन्’, रातोपाटीसँग उनले भने, सबै खाले षड्यन्त्रलाई परास्त गर्न एकजुट भएर लाग्न निर्देशन दिनुभएको हो । नेता विशेषलाई केही भन्नुभएको छैन । उहाँको अभिव्यक्ति पार्टीका नेतालाई नभई बाहिरी दलाल, बिचौलिया र प्रतिक्रियावादी शक्तिलाई भन्न खोल्नुभएको हो ।’

भर्चुअल बैठकमा उपमहासचिव शर्माले अध्यक्ष प्रचण्डलाई कमजोर बनाउनेगरी आफूले अभिव्यक्ति नदिएको जिकिर गरेका छन् । आफूले पार्टी निर्माण, विधि र पद्धतिको विषयमा कुरा राखेको भनाइ राखेको कर्णालीका अर्का एक केन्द्रीय सदस्यले बताए ।  

‘पार्टी निर्माण, विधि र पद्धतिका विषयमा मैले प्रश्न उठाएको हुँ । अध्यक्षलाई कमजोर बनाउने गरी मैले बोलेको छैन । शान्ति प्रक्रियामा आउँदा शक्तिशाली रहेको पार्टी अहिले किन कमजोर भयो ? यसबारे गम्भीर समीक्षा गरेर माओवादी आन्दोलनलाई पुनर्गठन गरौँ भनेर स्थायी समिति बैठकमा प्रस्ताव राखेको हो । पछिल्लो बैठकले गरेको निर्णय मानेर जान तयार छु भनेर  जनार्दनजीले भन्नुभयो’, ती सदस्यले भने ।

एक हप्ताअघि अध्यक्ष प्रचण्डले दलको नेता भएर पनि देशको जिम्मेवारी आफ्नै काँधमा आएको जस्तो अनुभूति भएको बताएका थिए । देशको खाँबो आफूले छोडेमा भताभुङ्ग हुन्छ कि भनेर चिन्ता लागेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । तर प्रचण्डको अभिव्यक्तिलाई उपमहासचिव शर्माले घुमाउरो शैलीमा काउन्टर दिँदै ‘शेष नागले ब्रह्माण्ड थामेको कुरा दन्त्य कथा’ भइसकेको बताएका थिए ।

भदौ ९ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न आर्थिक उत्पादन विभागको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा पनि प्रचण्डले पार्टीभित्र दलाल, नोकरशाही र बिचौलियासँग सम्बन्ध राख्नेहरूलाई माओवादी केन्द्रमा धेरै दिन स्थान नभएको चेतावनी दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप