प्रतिनिधिसभामा उठ्यो उखु किसान र कवाड व्यवसायीको आन्दोलनको विषय
सारांश
- प्रतिनिधिसभामा सांसदहरूले उखु किसान र कवाड व्यवसायीको आन्दोलनबारे आवाज उठाएका छन्।
- उखु किसान र कवाड व्यवसायीहरूले आफ्ना माग पूरा गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन्।
- सांसदहरूले किसान र व्यवसायीका जायज मागहरू वार्ताद्वारा समाधान गर्न सरकारलाई आग्रह गरेका छन्।
काठमाडौँ । उखु किसान र कवाड व्यवसायीहरूले आ–आफ्ना माग राखेर गरिरहेको आन्दोलनबारे प्रतिनिधिसभामा सांसदहरूले कुरा उठाएका छन् । प्रतिनिधिसभाको आकस्मिक, शून्य र विशेष समय बोल्ने सांसदहरूले आन्दोलनमा उठाइएका विषय पूरा गर्न माग गरेका हुन् ।
उखु किसानहरू भुक्तानी मागेर विभिन्न जिल्लाबाट काठमाडौँ आई आइतबारदेखि माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । कवाड व्यवसायीहरू व्यवसायमा अवरोध हुने गरी काठमाडौँ महानगरपालिकाले गतिविधि गरेको भन्दै सोमबारबाट आन्दोलन गरिरहेका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सत्ता पक्षका र विपक्षका सांसदहरूले उनीहरूका माग सम्बोधन गर्न माग गरे । सत्ताको नेतृत्वकर्ता नेकपा एमालेका सांसद ठाकुर गैरेले उखु किसान र कवाड व्यवसायीले राखेका जायज माग तत्काल सम्बोधन गर्न माग गरे । उनले भने, ‘उखु किसान आन्दोलनमा छन् । कवाड श्रमिकको दुःख पनि सुनिरहेका छौँ । उखु किसान र कवाड व्यवसायीले राखेका जायज माग तत्काल सम्बोधन गर्न माग गर्दछु ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले उखु किसान र कवाड व्यवसायीसँग शीघ्र वार्ता गरेर कहिल्यै आन्दोलन गर्न नपर्ने गरी माग सम्बोधन गर्न माग गरे । ‘विगत एक हप्तादेखि माइतीघर मण्डलामा उखु किसान आफ्ना दुःखका पोका लिएर आन्दोलनमा छन् । सरकार यता शीघ्र वार्ता गरेर फेरि कहिल्यै आन्दोलन गर्नुपर्ने नगरी सम्बोधन गर्नको लागि आग्रह गर्दछु,’ सांसद पराजुलीले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले उखु किसानलाई दिनु पर्ने पैसा दिन नसक्ने सरकारलाई कसरी दुई तिहाइको सरकार भन्ने भन्दै प्रश्न गरे । ‘उखु किसानको पैसा दिन सक्दैन भने यो सरकार कसरी दुई तिहाइ ? नेताहरू उखु किसानले आन्दोलन गरिरहेको स्थल काठमाडौँको माइतीघरमा माइतीघर जानुहुन्छ तर, उनीहरूलाई पैसा दिन सरकारलाई दबाब दिनेमा कमैको मात्र ध्यान पुगेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले उखु किसानले प्रत्येक वर्ष जस्तो आन्दोलन गर्नुपर्ने अवस्था लाजमर्दो रहेको बताए । उनले वार्ताका माध्यमबाट दिगो रूपमा समस्याको समाधान गर्न माग गरे ।
नेपाली कांग्रेसका सांसद एनपी साउदले उखु किसानहरूले विगतमा पाउँदै आएको उत्पादनमा आधारित कृषि अनुदान प्रति क्विन्टल ७० रुपैयाँ पुनः उपलब्ध गराउन र बक्यौता रकम भुक्तानी गर्न सरकारसँग माग गरे ।

‘यस आर्थिक वर्षदेखि सरकारबाट घटाइएको अनुदान रकमको सट्टा विगत वर्षदेखि उपलब्ध गराउँदै आएको उत्पादनमा आधारित कृषि अनुदान प्रति क्विन्टल रु. ७० पुनः उपलब्ध गराउन र बक्यौता रकम भुक्तानी गर्न सरकारसँग जोडदार माग गर्दछु,’ साउदले भने ।
२०६६ सालदेखि पटक–पटक आन्दोलन गर्दै आइरहेका उखु किसानहरू हरेक पटक आन्दोलनमा सरकारबाट समस्या समाधानको आश्वासन पाएपछि गाउँ फर्किने गरे पनि समस्या समाधान हुन नसकेको उनको भनाइ थियो ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सहरको सुन्दरताका लागि काम गरिरहेका कवाड व्यवसायी सम्मानित हुनुपर्नेमा राज्यबाट दण्डित हुने वातावरण निर्माण गरिएको आरोप लगाए ।
त्यस्तै अच्युत प्रसाद मैनाली, किसान श्रेष्ठ, शक्ति बस्नेत, नगिना यादव र माधव सापकोटाले पनि जायज माग राखेर आन्दोलन गरिरहेका उखु किसान र कवाड व्यवसायीहरूका माग वार्ताका माध्यमबाट दिगो रूपमा समाधान हुने गरी टुङ्ग्याउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण