बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चीनमा ‘न्यानो प्रविधि’ मा आधारित कम्पनीहरू तीव्र गतिमा वृद्धि

मङ्गलबार, १७ भदौ २०८२, २३ : २८
मङ्गलबार, १७ भदौ २०८२

सारांश

  • चीनले विगत २५ वर्षमा न्यानो प्रविधिमा सम्बन्धित आविष्कार अधिकारको ४३ प्रतिशत हिस्सा ओगटेको छ।
  • चीनमा न्यानो प्रविधिमा आधारित कम्पनीहरूको संख्या ३४ हजार ५०० नाघेको छ, जसले ९९ लाख मानिसलाई रोजगारी दिएको छ।
  • बेइजिङमा आयोजित एक सम्मेलनमा हरित ऊर्जा, जैविक औषधि र सूचना प्रविधिमा न्यानो प्रविधिको भूमिकाबारे छलफल भयो।

बेइजिङ। विगत २५ वर्षमा विश्वभर स्वीकृत ‘न्यानो प्रविधि’सम्बन्धी आविष्कार अधिकार (पेटेन्ट) हरूको ४३ प्रतिशत हिस्सा चीनको रहेको छ । यो तथ्य आइतबार बेइजिङमा आयोजित एक औद्योगिक मञ्चमा सार्वजनिक गरिएको ‘चीन न्यानो प्रविधि उद्योग २०२५’ शीर्षकको श्वेतपत्रमा उल्लेख गरिएको हो ।

‘पेटेन्ट’ भन्नाले कुनै नयाँ आविष्कार, प्रक्रिया, उपकरण वा प्रविधिमा अधिकार प्रदान गर्ने कानुनी प्रमाणपत्र हो, जसले आविष्कारकर्तालाई एक सीमित अवधिको लागि त्यो आविष्कारको उपयोग, उत्पादन र वितरणमा विशेष अधिकार दिन्छ । यसको उद्देश्य नवप्रवर्तनलाई प्रोत्साहन गर्नु हो । पेटेन्ट पाएको आविष्कार अरूले बिना अनुमति प्रयोग गर्न पाउँदैनन्, जसले प्रतिस्पर्धामा पारदर्शिता र आविष्कारको व्यवसायीकरणलाई सहयोग पुर्‍याउँछ ।

सन् २००० देखि २०२५ सम्म विश्वभर १० लाख ७० हजारभन्दा बढी न्यानो प्रविधिसम्बन्धी अधिकार प्रमाणपत्र (पेटेन्ट) जारी गरिए, जसमध्ये चार लाख ६४ हजार चीनले प्राप्त गरेको छ । यो सङ्ख्या अमेरिका, जापान र दक्षिण कोरियाले संयुक्त रूपमा पाएका प्रमाणपत्रहरू भन्दा धेरै हो ।

श्वेतपत्रमा उल्लेख अनुसार, चीनका पेटेन्टहरू मुख्यतः अर्धचालक उपकरण (सेमिकन्डक्टर), उत्प्रेरक रसायन, जैविक औषधि र नयाँ सामग्री जस्ता प्रमुख प्रविधिमा केन्द्रित छन् । अर्धचालक प्रविधिमा बेइजिङ, सांघाई, शेन्जेन र सुछोउ अगाडि रहेका छन् भने जैविक औषधिमा बेइजिङ, सांघाई र ग्वाङझोउ मुख्य केन्द्रहरू हुन् ।

चीन विज्ञान प्रतिष्ठानले २३ हजार ४०० आविष्कार अधिकार प्राप्त गरी विश्वका सबैभन्दा धेरै पेटेन्ट भएका संस्थाको रूपमा पहिलो स्थान हासिल गरेको छ । चीनमा न्यानोप्रविधिसम्बन्धी अधिकारहरू स्थानान्तरण दिने दर ८ प्रतिशत नाघिसकेको छ, जसले प्रविधिको व्यवसायीकरणमा प्रगति भइरहेको देखाउँछ ।

सन् २०१८ सालको अन्त्यसम्म चीनमा न्यानो प्रविधिमा आधारित कम्पनीहरूको सङ्ख्या ३४ हजार ५०० नाघेको छ, जसमध्ये ७३९ कम्पनी शेयर बजारमा सूचीकृत छन् । यो क्षेत्रले करिब ९९ लाख मानिसलाई रोजगारी प्रदान गरिरहेको छ ।

श्वेतपत्रमा विश्व न्यानो प्रविधि बजार सन् २०२५ को अन्त्यसम्म १.५ ट्रिलियन अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ, जसको वार्षिक औसत वृद्धिदर सन् २०१८ देखि २०२५ सम्म १७ प्रतिशतभन्दा बढी रहेको छ ।

उक्त श्वेतपत्र १०औँ अन्तर्राष्ट्रिय न्यानो विज्ञान तथा प्रविधि सम्मेलन अन्तर्गत आयोजित एक उप–मञ्चमा सार्वजनिक गरिएको हो । सम्मेलन शनिबारदेखि सोमबारसम्म बेइजिङमा आयोजना गरिएको थियो, जसको व्यवस्थापन चीनको राष्ट्रिय न्यानो प्रविधि केन्द्रले गरेको हो ।

सम्मेलनमा सात जना विश्वस्तरीय वैज्ञानिकहरूले प्रमुख सम्बोधन प्रस्तुत गरे भने ६०० भन्दा बढी विज्ञहरूले न्यानोप्रविधिका १५ चर्चित विषयहरूमा अनुसन्धान प्रतिवेदन प्रस्तुत गरे ।

उद्घाटन समारोहमा सम्मेलन अध्यक्ष बै चुनलीले भने, “न्यानो प्रविधि हरित ऊर्जा, जैविक औषधि र सूचना प्रविधिजस्ता रणनीतिक क्षेत्रहरूमा परिवर्तन ल्याउने प्रमुख शक्ति हो । यसले उत्पादन प्रणालीमा गुणात्मक सुधार ल्याउन मद्दत गर्छ ।”

उनले कृत्रिम बुद्धिमत्ताको विकासले न्यानो प्रविधिको अनुसन्धान पद्धतिमा आमूल परिवर्तन ल्याएको बताए । भविष्यमा आधारभूत अनुसन्धानलाई बल दिनुका साथै, प्रयोगमुखी प्रविधि विकास, अन्तर्राष्ट्रिय सहकार्यको गहिरोकरण र विश्व नवप्रवर्तनमा न्यानो प्रविधिको भूमिका अझ सशक्त बनाउने कार्यमा जोड दिइनेछ ।

यो सम्मेलन सन् २००५ देखि सुरु भई लगातार ९ संस्करणसम्म बेइजिङमै आयोजित हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप