शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
विधान महाधिवेशन

एमाले विधान संशोधन प्रस्ताव : वरिष्ठ उपाध्यक्षको व्यवस्था हट्याे, केन्द्रीय कमिटीको संख्या घट्याे

केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय
शुक्रबार, २० भदौ २०८२, १८ : ३९
शुक्रबार, २० भदौ २०८२

सारांश

  • एमालेको विधान महाधिवेशनमा केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय बनाइने प्रस्ताव पेश भएको छ।
  • प्रस्तावमा वरिष्ठ उपाध्यक्षको व्यवस्था हटाइएको छ भने पदाधिकारीको संख्या घटाइएको छ।
  • एमालेले पार्टी सदस्यलाई दुई प्रकारले वर्गीकरण गर्ने र उम्मेदवार बन्न प्रशिक्षण अनिवार्य गरिने प्रस्ताव गरेको छ।

ललितपुर । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तावित संशोधन विधानमा केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय हुने भएको छ । प्रस्तुत प्रस्तावित विधान संशोधन प्रस्तावमा ३ सय १ सदस्यीय कमिटीलाई घटाएर २ सय ५१ कायम गरिएको छ ।

उपाध्यक्ष विष्णु पौडेलले पेस गरेको संशोधन प्रस्तावमा १५ जना पदाधिकारीसहित केन्द्रीय कमिटीको सङ्ख्या २ सय ५१ को हुने व्यवस्थालाई अघि सारिएको छ । प्रस्तावित संशोधन विधानलाई यसअघि केन्द्रीय कमिटीले पारित गरिसकेको छ ।

विधानको धारा १६ (२) मा ३ सय १ को केन्द्रीय कमिटीलाई संशोधन गर्दै १५ सदस्यीय पदाधिकारी सहित २ सय ५१ को केन्द्रीय कमिटी हुने प्रस्ताव उपाध्यक्ष पौडेलले गरेका छन् । 

प्रस्तावमा वरिष्ठ उपाध्यक्षको व्यवस्थालाई हटाइएको छ भने ६ उपाध्यक्षको सङ्ख्यालाई घटाएर ३ मा झारिएको छ । प्रस्ताव अनुसार अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३, सचिव ७ सहित १५ जना पदाधिकारी रहने गरी प्रस्ताव गरिएको छ ।

पदाधिकारीमा महिला एक जना अनिवार्य गरिएको छ । स्थायी कमिटी र पोलिटब्युरो सदस्यको सङ्ख्या पनि घटाइएको छ । 

धारा १७ (२) को ४५ सदस्यीय स्थायी कमिटीलाई घटाएर पार्टीका १५ जना पदाधिकारीलाई मात्र स्थायी कमिटीका रूपमा राख्ने प्रस्ताव गरिएको छ ।

९९ सदस्यीय पोलिटब्युरोको सङ्ख्या घटाएर बढीमा एक तिहाई रहने गरी निर्वाचनमार्फत पोलिटब्युरोको पूर्ति निर्वाचन प्रक्रियाबाट गरिने प्रस्ताव गरिएको छ । 

दुई प्रकारका पार्टी सदस्यता

एमालेले पार्टी सदस्यलाई दुई प्रकारले गर्ने प्रस्ताव गरेको छ । पार्टीको विधानको धारा ४ को (क) लाई थप गर्दै पार्टी सदस्य र सङ्गठित सदस्य गरेर दुई खाले सदस्यता रहने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ ।

दुवै सदस्यताका लागि एमालेको नीति बिचारलाई समर्थन गर्ने र तोके बमोजिम सदस्यता शुल्क तिर्न तत्पर व्यक्तिले मात्र अब एमालेको सदस्यता लागि योग्य हुने व्यवस्था प्रस्ताव गरिएको छ । 

जनताको बहुदलीय जनवाद, पार्टीले लिएका नीतिमा समर्थन जनाउने व्यक्तिलाई साधारण सदस्यता प्रदान गरिने छ ।यसको परिक्षणकाल ६ महिनाको राखिएको छ । यस्ता सदस्यहरू पार्टीका सम्बन्धित कमिटीले तोकेको सङ्गठनमा सङ्गठित भई काम गर्नु पर्ने छ । 

सङ्गठित सदस्यले कुनै न कुनै कमिटीमा अनिवार्य रूपमा आबद्ध भएको हुनु पर्ने व्यवस्था संशोधित विधानमा प्रस्ताव गरिएको छ । 

७ वटा केन्द्रीय निकाय रहेकाे एमालेले वृद्धि गरेर ८ पुर्‍याएको छ । उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राख्नु भएको विधान संशोधन प्रस्तावमा केन्द्रीय निकायका रूपमा राष्ट्रिय महाधिवेशन, नीति अधिवेशन, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्, केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद्लाई राखिएको छ । 

पोलिटब्युरो र स्थायी कमिटीलाई पनि केन्द्रीय कमिटी मातहत राख्ने गरी संशोधन प्रस्ताव अघि सारेको छ । धारा १५ को विधान अधिवेशनलाई अबदेखि नीति अधिवेशनका रूपमा आयोजना गर्ने प्रस्ताव गरिएको छ ।

गोदावरीको सनराइज हलमा सुरु भएको एमाले विधान महाधिवेशनमा उपाध्यक्ष पौडेलले गरेको विधान संशोधनको प्रस्तावमा पार्टी अध्यक्षको अधिकार थप गरिएको छ भने वरिष्ठ नेताको व्यवस्थालाई हटाइएको छ । 

धारा २१ (१) (ग) र (घ) मा संशोधन गर्दै पार्टी अध्यक्षले केन्द्रीय निकायहरुको अध्यक्षता गर्ने, केन्द्रीय निकायमा अध्यक्षका हैसियतले राजनीतिक प्रतिवेदन पेस गर्ने कुरा थप गरिएको छ । 

यसैगरी पार्टीमा केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीको बैठकका लागि महासचिवलाई निर्देशन दिने, बैठकमा कार्यसूची प्रस्ताव गर्ने, बैठकको अध्यक्षता गर्ने, बैठक सञ्चालन गर्ने र बैठकका निर्णय प्रमाणीकरण गर्ने र अन्तरपार्टी निर्देशन जारी गर्ने काम अध्यक्षका लागि थप गर्ने प्रस्ताव गरिएको छ । 

यसअघि पार्टीको शक्तिशाली निकायका रूपमा रहेको सचिवालय र केन्द्रीय कार्यालयको संरचनालाई हटाउने प्रस्ताव गरिएको छ । 

धारा २१ (४) क  र ख मा गरिएको सचिवालय र उपधारा ४ (ङ) मा व्यवस्था गरिएको केन्द्रीय सचिवालय र कार्यालयका कामलाई पार्टी अध्यक्षको निर्देशनमा महासचिवले गर्ने प्रस्ताव गरिएको छ ।

 दुई महाधिवेशनको बिचमा आयोजना गरिने महाधिवेशन प्रतिनिधि परिषद्लाई एक पटक आयोजना  गर्ने व्यवस्था गरिएको छ । 

पार्टीका केन्द्रीय निकायका रूपमा रहेका केन्द्रीय आयोगहरू (अनुशासन/लेखा/निर्वाचन)का अध्यक्षहरूको मर्यादाक्रम पार्टीको पोलिटब्युरो सदस्य सहर हुने र आयोगका सदस्यहरूको मर्यादाक्रम केन्द्रीय सदस्य सरह हुने व्यवस्था सहित प्रस्ताव गरिएको छ । 

एमालेले काठमाडौँ उपत्यकाका तीन जिल्ला रहेको राजधानी विशेष कमिटीलाई प्रदेश कमिटी सरहको कमिटीका रूपमा प्रस्ताव गरेको छ । 

प्रदेश मातहत ४ वटा तहगत संरचनाको प्रस्ताव गरिएको छ । बन्दशत्रमा प्रस्तुत विधान संशोधन प्रस्तावमा धारा २८ मा टोल/प्रारम्भिक कमिटी, वडा/शाखा कमिटी, पालिका/इलाका कमिटी, जिल्ला कमिटीका रूपमा रहने व्यवस्था अघि सारिएको छ ।

यसैगरी राजधानी विशेष कमिटी, सम्पर्क विशेष कमिटीलाई प्रदेश कमिटी सरह र विशेष जिल्ला कमिटी, प्रदेश सम्पर्क विशेष कमिटीलाई  जिल्ला कमिटी सरहको कमिटीका रूपमा स्थापित गर्ने व्यवस्था गरिएको छ । 

सबै प्रदेश कमिटीको पदाधिकारीमा एक जना महिलालाई अनिवार्य व्यवस्था गरिएको छ । एमालेले पालिकामा ७५, उप–महानगर ८५, महानगर १०१ सदस्यीय कमिटी गठन गर्ने प्रस्ताव गरेको छ । यसैगरी यो विधान पारित भए एमालेका वडा कमिटी ३१ देखि ५१, टोल कमिटी २१ सदस्यीय  हुनेछन् । 

कमिटीको उम्मेदवार हुन प्रशिक्षण अनिवार्य 

एमालेले हरेक कमिटीको सदस्य वा पदाधिकारीमा उम्मेदवार बन्नका लागि माथिल्लो कमिटीको स्कुल विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी भएको हुनुपर्ने व्यवस्था गरेको छ । 

धारा ६३ (१२) मा संशोधन प्रस्ताव गर्दै एमालेले हरेक नेतालाई पार्टीको नीतिसँग साक्षात्कार हुनुपर्ने नीतिलाई कार्यान्वयन गर्न यस्तो व्यवस्था गरिएको उपाध्यक्ष पौडेलले बताउनु भयो ।

यद्यपि जुन व्यक्ति अहिले रहेको विद्यमान कमिटीको पदका लागि उम्मेदवार हुन चाहेको खण्डमा प्रशिक्षणमा सहभागी बनेको प्रमाण आवश्यक पर्ने छैन । 

उमेर हदको व्यवस्था हटाउने 

सबै तहको कमिटीमा निर्वाचित हुन ७० वर्षे उमेर हदको व्यवस्थालाई हटाउने प्रस्ताव अघि सारिएको छ । पहिलो विधान महाधिवेशनबाट धारा ६४ मा गरिएको उक्त व्यवस्थालाई २०८० वैशाख २८ देखि ३० गतेसम्म बसेको पाँचौँ केन्द्रीय कमिटीको बैठकले निष्क्रिय गरेको उक्त व्यवस्थालाई विधानबाटै हटाउने प्रस्ताव महाधिवेशनमा गरिएको छ । 

बन्दशत्रमा उपाध्यक्ष पौडेलले गरेको विधान संशोधन प्रस्तावमा पार्टीका बैठकको समयमा हेरफेर गरिएको छ । धारा ७० मा  केन्द्रीय कमिटी बैठक ६ महिनामा, प्रदेश कमिटी ४ महिना, जिल्ला कमिटी ३ महिना, पालिका कमिटी २ महिना र वडा कमिटी एक महिनामा बस्ने गरी समय निर्धारण गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप