शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
अपराध

स्युचाटारबाट मोटरसाइकल चोरीमा संलग्न गिरोहका ६ जना पक्राउ

शुक्रबार, २० भदौ २०८२, २२ : २६
शुक्रबार, २० भदौ २०८२

सारांश

  • काठमाडौँको स्युचाटारबाट मोटरसाइकल चोरीमा संलग्न गिरोहका ६ जना पक्राउ परेका छन्।
  • प्रहरीले उनीहरूलाई कालीमाटी र कलङ्की क्षेत्रबाट २० वटा मोटरसाइकल चोरी गरेको आरोप लगाएको छ।
  • प्रहरी कारबाहीको क्रममा ४ जना प्रहरी घाइते भएका छन्, र ३ वटा मोटरसाइकल बरामद गरिएको छ।

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० स्थित स्युचाटारबाट प्रहरीले मोटरसाइकल चोरीमा संलग्न गिरोहका ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका घर भएका १८ वर्षीय बिजय तामाङ, १८ वर्षका नरेश रुम्बा, २० वर्षीय देवेन्द्र थिङ, २० वर्षका बिर बहादुर तामाङ, २१ वर्षीय दिपक तामाङ र २६ वर्षीय नारायण तामाङ छन् ।

उनीहरू सवै जना धादिङको गजुरी गाउँपालिका स्थित वडा नम्बर–७ र ८ का स्थानीय हुन् । समूह बनाएर मोटरसाइकल चोर्ने उनीहरूलाई प्रहरी वृत्त कालिमाटीका डीएसपी मधु थापा र उपत्यका अपराध अनुसन्धान कार्यालय कालीमाटी शाखाका प्रहरीहरूले भदौ १८ मा मध्यराती पक्राउ गरेका हुन् ।

सिसिटिभी फुटेजको आधारमा पछ्याएर आरोपीहरूलाई मध्यरात १ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए । आरोपीहरूले कालीमाटी र कलङ्की क्षेत्रमा २० वटा मोटरसाइकल चोरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । त्यस्तै सो गिरोहले मच्छेगाउँ, स्वयम्भुव, बल्खु, न्युरोड, कीर्तिपुर, र स्युचाटारमा मोटरसाइकल चोरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछ ।

प्रहरीसँग जम्काभेट भएपछि उनीहरुले प्रहरीलाई आक्रमण प्रयास गरेका थिए । पक्राउ गर्ने क्रममा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका ४ जना प्रहरी कर्मचारी घाइते भएका छन् । आरोपीहरूले चोरेको ३ वटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ । उनीहरुले चोरेको बागमती प्रदेश–०२–०३५ प ५८०९ नम्बरको पल्सर एनएस मोटरसाइकल, बागमती प्रदेश–०२–०४४ प ६६३७ नम्बरको एमटी मोटरसाइकल र बागमती प्रदेश–०३–०१५ प ७६१२ नम्बरको पल्सर मोटरसाइकल प्रहरीले बरामद गरेको हो ।

आरोपीहरू विरुद्ध अदालतबाट ४ दिनको म्याद लिएर प्रहरी वृत्त कालीमाटीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप