शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डमा नासा सेक्युरिटिजको सहकार्य

आइतबार, २२ भदौ २०८२, १४ : ३०
आइतबार, २२ भदौ २०८२

सारांश

  • नेपाल खेलकुद पत्रकार मञ्चको अवार्डमा नासा सेक्युरिटिज सेयर ट्रेडिङ पार्टनरको रूपमा जोडिएको छ।
  • अवार्ड कार्यक्रम भदौ २९ गते पोखरामा हुँदैछ, जसमा विभिन्न विधामा पुरस्कार प्रदान गरिनेछ।
  • पिपल्स च्वाइस अवार्डका लागि भोटिङ भइरहेको छ, र विजेताले पल्सर मोटरसाइकल पाउनेछन्।

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको २२ औँ संस्करणमा नासा सेक्युरिटिज पनि जोडिएको छ । यही भदौ २९ गते पोखरामा हुने अवार्ड कार्यक्रममा नासा सेक्युरिटिज सेयर ट्रेडिङ पार्टनरको रूपमा जोडिएको हो ।

सहकार्यसम्बन्धी सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र नासा सेक्युरिटिजका प्रबन्ध निर्देशक मदन पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार नासा सेक्युरिटिजले गरेको प्रायोजनबापत मञ्चले नासालाई सेयर ट्रेडिङ पार्टनरको स्थान दिनेछ ।

नासा सेक्युरिटिजका प्रबन्ध निर्देशक पौडेलले नेपाली खेलकुदकै प्रतिष्ठित अवार्ड कार्यक्रमसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । ‘खेलाडीहरूलाई सम्मान गर्ने देशकै उत्कृष्ट कार्यक्रममा सहकार्य गर्न पाउँदा हामी उत्साहित छौँ । पहिलो पटक काठमाडौँबाहिर हुन गइरहेको यस अवार्डलाई भव्य सफलताको शुभकामना छ,’ पौडेलले बताए ।

मञ्च नेपाली खेल पत्रकारहरूको छाता सङ्गठन हो । ‘एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८१’ को तयारी तीव्र गतिमा भइरहेको मञ्चले जनाएको छ । अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता कायमै छ भने प्रवर्धकमा पोखरा महानगरपालिका रहेको छ । 

यस पटक अवार्डमा भोटिङ पार्टनरमा खल्ती, पोसाक पार्टनरमा केल्मी नेपाल र अफिसियल होटलमा मझेरी रिसोर्ट एन्ड स्पा रहेका छन् । अन्य सह प्रायोजकमा सूर्य नेपाल प्रालि, प्लाजा ग्रुप अफ होटल, रोयल सिंगी होटल, म्याजिस्टिक होटल, हिमश्री फुड्सलगायत छन् ।

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८१ मा १० विधामा अवार्ड प्रदान गरिनेछ । त्यसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड रहेको छ ।  

खेलाडीलाई जनमतबाट विजेता बनाउने विधाको रूपमा रहेको पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भइसकेको छ । मनोनयनमा परेका खेलाडी विजय सिन्जाली (उसु), इभाना थापा (टेबल टेनिस), हिमाल सुनारी (भलिबल), पूजा महतो (क्रिकेट) र रेखा पौडेल (फुटबल) का लागि सामाजिक सञ्जालमा व्यापक चर्चासँगै डिजिटल वालेट खल्ती आईएमई एपमार्फत भोटिङ पनि भइरहेको छ ।

पिपल्स च्वाइससहित वर्ष खेलाडी पुरुष, महिला, प्रशिक्षक र युवाका गरी पाँच विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् भने अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप