शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रास्वपा महाधिवेशन

पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी

शुक्रबार, १२ असार २०८३, ०२ : २९
शुक्रबार, १२ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा पदाधिकारीका लागि चुनावी प्रतिस्पर्धा सुरु भएको छ ।
  • सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् भने वरिष्ठ नेतामा बालेन शाह रहने निश्चित छ ।
  • खुला उपसभापतिमा डा. स्वर्णिम वाग्ले र विराजभक्त श्रेष्ठ, महिला उपसभापतिमा सोबिता गौतम, इन्दिरा राना मगर र डा. तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुनेछ ।

चितवन । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशन अहिले नेतृत्व चयनको निर्णायक र रोचक मोडमा आइपुगेको छ । केन्द्रीय सदस्यहरूको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएसँगै नेतृत्वको दोस्रो तह अर्थात् पदाधिकारीका लागि नेताहरूबिचको रस्साकस्सी निकै तातिएको छ । निर्वाचन आयोगले प्रवासतर्फको मत समेत जोडेर अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी गरिरहँदा पदाधिकारीका आकांक्षीहरूले पनि आ–आफ्नो दाबेदारीलाई घनिभूत बनाएका छन् ।

पार्टीको विधानमा कूल १९ पदाधिकारी रहने व्यवस्था भए पनि यसपटक ६ वटा पदका लागि मात्रै प्रत्यक्ष निर्वाचन हुने भएको छ । सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् भने वरिष्ठ नेताका रूपमा बालेन शाह रहने निश्चित छ । बाँकी रहेका पदहरूमध्ये एक खुला उपसभापति, एक महिला उपसभापति, एक खुला महामन्त्री, दुई खुला सह–महामन्त्री र एक महिला सह–महामन्त्री पदका लागि मात्रै चुनावी प्रतिस्पर्धा हुन लागेको हो । अन्य पदाधिकारीका पदहरू भने विधानको व्यवस्थाअनुसार समावेशी सिद्धान्तका आधारमा पछि मनोनीत गरिनेछन् ।

उपसभापति पदका लागि हुने प्रतिस्पर्धालाई महाधिवेशनमा निकै चासोका साथ हेरिएको छ । खुला उपसभापतिमा पार्टीका प्रभावशाली र बौद्धिक नेताका रूपमा चिनिएका डा. स्वर्णिम वाग्ले र विराजभक्त श्रेष्ठ मैदानमा उत्रिएका छन् । त्यस्तै, महिला उपसभापति पदमा पनि उत्तिकै चर्चित अनुहारहरू सोबिता गौतम, इन्दिरा राना मगर र डा. तोसिमा कार्कीबीच कडा भिडन्त हुने देखिएको छ । प्रभावशाली महिला नेतृहरू एकै पदका लागि मैदानमा उत्रिएपछि महाधिवेशन स्थलको चुनावी सरगर्मी अझ बढेको छ ।

यता महामन्त्री र सह–महामन्त्री पदमा पनि आकांक्षीहरूको संख्या निकै ठूलो छ । खुलातर्फको एक महामन्त्रीका लागि मन्त्री शिशिर खनाल, मनिष झा, कबिन्द्र बुर्लाकोटी, विपिन आचार्य, रञ्जु दर्शना, सागर ढकाल र गणेश पराजुली लगायतका झण्डै एक दर्जन नेताहरूले दाबी गरेका छन् । यस्तै, सह–महामन्त्री पदका लागि हरि ढकाल, पुकार बम, असिम शाह, रिमा विश्वकर्मा र ज्वाला संग्रौला लगायतका युवा नेताहरू चुनावी दौडमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप