सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
जेनजी आन्दोलन

जेनजी आन्दोलन : संयमित भएर अघि बढेको भिड कसरी बिच्कियो ?

सोमबार, २३ भदौ २०८२, १९ : ४६
सोमबार, २३ भदौ २०८२

काठमाडौँ । सोमबार काठमाडौँको सडकमा युवापुस्ताको सशक्त उपस्थिति देखियो, जसले भ्रष्टाचार तथा बेथितिविरुद्ध आवाज उठाएर सरकारलाई खबरदारी गर्‍यो । ‘जेनजी’ पुस्ता, जो आफ्नो ‘करिअर’कोमात्र चिन्ता गर्न छाडेर देशमा बढ्दो बेथितिप्रति चिन्तित हुँदै सडकमा उत्रिएको थियो ।

माइतीघर मण्डला चोकमा बिहान ९ बजेदेखि नै युवाहरूको जमघट सुरु भएको थियो । उपत्यकाका विभिन्न कुनाबाट युवा–विद्यार्थीहरू आ–आफ्नै ब्यानर बोकेर आएका थिए । बिहान १० बजेदेखि भिड ह्वात्तै बढ्यो । तीनकुने, शंखमुल, पुरानो बानेश्वर र बबरमहल लगायतका क्षेत्रबाट पनि युवाहरू जम्मा हुँदै गएका थिए ।

जेनजी पुस्ताको यो प्रदर्शनको मुख्य उद्देश्य सरकारको कमजोरी, भ्रष्टाचार र ‘नेपो बेबी’ (नेपोटिज्मबाट लाभ लिनेहरू) विरुद्ध खबरदारी गर्नु रहेको देखिन्थ्यो ।

माइतीघर मण्डलाबाट सुरु भएको यो जुलुस नयाँ बानेश्वर चोकतर्फ अगाडि बढ्दै थियो । सुरुवाती चरणमा आन्दोलनकारीहरू अत्यन्तै संयमित र रचनात्मक देखिएका थिए । उनीहरूले ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ जस्ता राष्ट्रिय भावना जगाउने गीतहरू गाउँदै मार्च गरेका थिए ।

ब्याण्ड बाजा र शंखधुनको सुमधुर धुनले आन्दोलनलाई शालीन वातावरण प्रदान गरेको थियो । यो एउटा सिर्जनात्मक र सांस्कृतिक आन्दोलनजस्तो देखिन्थ्यो ।

आन्दोलनकारी युवाहरू नाचगान गर्दै, सरकार र नेताहरूलाई संयमित भाषामा गाली गर्दै अगाडि बढिरहेका थिए । यसै क्रममा केही युवाहरूले स्वयंसेवकको भूमिका निभाउँदै अन्य प्रदर्शनकारीहरूलाई पानी वितरण गरिरहेका थिए भने केहीले मास्क बाँड्दै हिँडेका थिए । उनीहरूले सडकका आइल्याण्डहरूमा रोपिएका फूलहरूमा क्षति नपुर्‍याउन समेत एकअर्कालाई आग्रह गरिरहेका थिए ।

नयाँ बानेश्वर पुगेपछि ब्यारिगेट राखेर सडक छेकेर बसेको प्रहरीको टोलीसँग प्रदर्शनकारी आमनेसामने भए । एभरेष्ट हस्पिटल अगाडि प्रहरीले ब्यारिगेट राखेर जुलुसलाई रोक्ने प्रयास गर्‍यो । युवाहरूको ठुलो भिडले ब्यारिगेट हटाएपछि प्रहरीले सुरुमा पानीको फोहोरा प्रहार गर्‍यो । यसको प्रतिकारमा युवाहरूको विशाल समूहले प्रहरीलाई पछि हट्न बाध्य पार्‍यो, जसले प्रदर्शनकारीहरूको मनोबल उच्च बनायो ।

त्यसपछि भिडलाई रोक्न प्रहरीले अश्रु ग्यास प्रहार गर्‍यो, तर यसले युवाहरूलाई थप आक्रामक बनायो ।

आन्दोलनको क्रममा मीनभवन र बानेश्वर चोकमा गोली चलेपछि युवाहरूको आक्रोश चरम सीमामा पुग्यो । गोली चलेको खबरले कसैमा डर र कसैमा आक्रोश बढायो, जसले गर्दा भिड थप अनियन्त्रित बन्यो । डराएका युवा भाग्न खोजेपछि भिड तितरबितर हुन थाल्ने भने आक्रोशित युवाले बानेश्वरस्थित संसद भवन परिसरलाई लक्षित गर्दै बोतल र ढुंगा प्रहार गर्न थाले । परिणामस्वरुप सुरक्षाकर्मीले छरिएका प्रदर्शनकारीलाई नियन्त्रणमा राख्ने सामर्थ्य गुमाउँदै गयो ।

प्रहरी र आक्रोशित युवाहरूबिच केहीबेर आमनेसामनेको स्थिति सिर्जना भयो । युवाहरू संसद भवनको मूल गेटमै पुगेर तारजाली र पर्खाल भत्काउने प्रयास गर्न थाले । स्थिति नियन्त्रण बाहिर गएको देखेपछि प्रहरीले मान्छेलाई नै लक्षित गरी गोली चलाउन थाल्यो, जसका कारण केही युवा ढले ।

प्रहरीको गोली प्रहारपछि केहीबेर भिड छरपष्ट भए पनि युवाहरू फेरि जम्मा हुँदै आक्रामक बन्न थाले । जेनजीहरूले संसद भवनको पर्खाल नजिकै रहेका सुकेका पातहरूमा आगो बाले । केहीले संसद् भवनको पर्खाल भत्काउने प्रयास गरे, तर त्यो प्रयास असफल भयो । पर्खाल भत्काउन नसकेपछि केही आन्दोलनकारी पर्खालमाथि राखिएको रेलिङ भत्काएर संसद् भवन परिसरमा हामफाले । यद्यपि, प्रहरीले तुरुन्तै लखेट्यो र उनीहरू पछि हट्न बाध्य भए । यस क्रममा उनीहरूले संसद् भवनको सेन्ट्री पोष्टमा समेत कब्जा जमाएका थिए ।

नेतृत्वको अभाव

यो आन्दोलनमा कुन हदसम्म जाने, के–कस्ता परिस्थितिमा के–कसरी अघि बढ्ने भन्नेबारे निर्देशन दिने वा भिडलाई नेतृत्व गर्ने कुनै खास अनुहार थिएन । परिणामस्वरुप प्रदर्शनकारीहरू आफ्नो विवेक अनुसारका गतिविधिमा सक्रिय भए । खासगरी प्रहरीले बल प्रयोग गर्न थालेपछि कस्तो रणनीति अपनाउने भन्नेबारे प्रदर्शनकारी अलमलमा देखिन्थे ।

कोही त्रसित भएर भाग्ने क्रममा भिड अझ बढी चलायमान भइदियो । यो अवस्थालाई प्रहरीले पनि भिड अनियन्त्रित भएको अर्थमा बुझेर अझ बढी बल प्रयोग गर्न थाल्यो । नेतृत्वको अभावमा कोही प्रहरीको मुभमेन्ट बढेपछि माग्ने, कोही आक्रोशित भएर ढुंगामुढा गर्ने अवस्था सिर्जना भयो ।

आन्दोलनमा सहभागी एक युवाले भने, ‘म राज्य र राज्यको स्रोत दोहन गर्नेहरूका विरुद्धमा, नेपो बेबी विरुद्ध आन्दोलनमा आएको हो । त्यसको मतलब संसद भवन जलाउने, सरकारी सम्पत्ति तोडफोड गर्ने कुरामा मेरो समर्थन छैन ।’

उनले आन्दोलन यति हिंसात्मक हुन्छ भनेर कल्पनासमेत नगरेको बताए । कलेजको पोशाकमै रहेका उनले थपे, ‘हामी आन्दोलन शान्तिपूर्वक गर्ने, रचनात्मक गर्ने भन्ने योजनामा आएका हौँ । मैले कलेजका साथीहरूलाई पनि त्यही भनेको थिएँ तर अवस्था सोचेजस्तो भएन ।’

उनीजस्तै आन्दोलनमा सक्रिय सहभागी सीमा बमले पनि आफूहरूको आन्दोलन व्यवस्था परिवर्तन गर्न नभएको बताइन् । ‘नेताहरूले गलत गरे भनेर हामी खबरदारीमा आएका हौँ, तर यहाँ हानाहानको स्थिति भयो,’ उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप