बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कर्णालीका पूर्वमुख्यमन्त्री शाही भन्छन्– जेनजी आन्दोलन कांग्रेसका लागि ‘अग्निपरीक्षा’

मङ्गलबार, २४ भदौ २०८२, ११ : २८
मङ्गलबार, २४ भदौ २०८२

सारांश

  • पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले जेनजी पुस्ताको आन्दोलन कांग्रेसका लागि अग्निपरीक्षा भएको बताए।
  • शाहीले आन्दोलनमा सरकारी बेवास्ता र दमनका कारण भएको मानवीय क्षतिको उल्लेख गर्दै वार्ताको माग गरे।
  • उनले कांग्रेस नेतृत्वलाई गम्भीर परिस्थिति मूल्याङ्कन गरी निकास खोज्न आग्रह गरे।

सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले जेनजी पुस्ताबाट सुरु भएको आन्दोलनलाई सत्तारूढ नेपाली कांग्रेसका लागि ‘अग्निपरीक्षा’ को संज्ञा दिएका छन् ।

उनले निर्णायक हस्तक्षेप गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् । शाहीले वर्तमान सङ्कटपूर्ण अवस्थामा संयमित र जिम्मेवार भएर निर्णय लिनुपर्नेमा जोड दिएका छन् ।

शाहीले अपिल जारी गर्दै यो अति संवेदनशील समयमा उपयुक्त निर्णय लिनु कांग्रेस र सम्पूर्ण नेतृत्वका लागि चुनौतीपूर्ण रहेको बताए ।

उनले नेपाली कांग्रेसले सत्तारुढ दलको मुख्य घटकको नाताले जिम्मेवार दलको रूपमा प्रस्तुत भएर जेनजी पुस्ताको आवाजको सम्मान गर्दै निर्णायक हस्तक्षेप गर्नुपर्ने आवश्यकता औँल्याए ।

पूर्वमुख्यमन्त्री शाहीले आन्दोलनमा सरकारी पक्षको बेवास्ता र निर्मम दमनका कारण १९ जना कलिला भाइबहिनीहरूको ज्यान गएको र ३०० जनाभन्दा बढी गम्भीर घाइते भएको दुःखदायी घटनाको साक्षी बनिसकेको उल्लेख गरेका छन् ।

‘आन्दोलनको राप देशैभरि फैलिसकेको र थप मानवीय तथा भौतिक क्षतिको सामना गर्ने शक्ति कसैमा छैन,’ उनले भने । आन्दोलनरत जेनजी पुस्तासँग तुरुन्तै वार्ता गरी उनीहरूका जायज र कानुनसम्मत माग तत्काल पूरा गर्न उनले सरकारसमक्ष अनुरोध गरेका छन् ।

साथै, उनले यो गम्भीर परिस्थितिको मूल्याङ्कन गर्दै समयानुकूल निर्णय लिन तथा निकास खोज्न नेपाली कांग्रेस पार्टी नेतृत्वको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप