शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

जनकपुरधाममा सेनाले सम्हाल्यो मोर्चा

बुधबार, २५ भदौ २०८२, १३ : २९
बुधबार, २५ भदौ २०८२

जनकपुरधाम । जेनजी पुस्ताको आन्दोलनपछि जनकपुरधाममा मंगलबार रातिदेखि निरन्तर भइरहेको आगजनी र लुटपाटलाई नियन्त्रणमा लिन नेपाली सेनाले मोर्चा सम्हालेको छ ।

जनकपुरधामका भन्सार कार्यालय, प्रहरी चौकीहरू, उपमहानगरपालिका कार्यालय, यातायात कार्यालय, विभिन्न राजनीतिक दलका कार्यालय, मन्त्रिपरिषद्को कार्यालय, शिक्षा, कृषि र भौतिक पूर्वाधार मन्त्रालय, मधेस प्रदेश सभा भवन लगायतका महत्त्वपूर्ण संरचनामा तोडफोड, आगजनी र लुटपाट भएको थियो ।

विशेष गरी जनकपुरधाम उपमहानगरपालिकाको नयाँ पाँच तले भवनमा भएको आगजनीबाट करिब दुई सय ग्यास सिलिन्डर विस्फोट भएको थियो भने भवन पूर्णरूपमा क्षति भएको छ । सोही भवनमा रहेका कम्प्युटर, ल्यापटप, प्रिन्टर, कुर्सी–टेबल लगायतका सम्पूर्ण सामग्री लुटेर भवनमा आगो लगाइएको जनाइएको छ ।

त्यसैगरी भन्सार कार्यालयमा रहेका सयौँ मोटरसाइकल लुटिएको र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका कम्प्युटर, ल्यापटपलगायत सम्पूर्ण विद्युतीय उपकरण मंगलबार राति १ बजेसम्म लुटपाट भएको बताइएको छ ।

बुधबार बिहानसम्म पनि विभिन्न कार्यालयमा लुटपाट नरोकिएपछि नेपाली सेनाले स्थिति नियन्त्रणमा लिँदै लुटपाट तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनेहरूलाई हटाएको छ । सेनाले अशान्ति बढाउने कार्य नगर्न र संलग्नहरूमाथि कडा कारबाही हुने चेतावनी दिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप