२७ घण्टामै सत्ता ढाल्न सफल ‘जेनजी’ पुस्ता कहाँ अलमलियो ?
सारांश
- जेनजी पुस्ताले विरोध प्रदर्शन गर्दा २४ घण्टामै सरकार ढल्यो र प्रधानमन्त्रीले राजीनामा दिए।
- प्रदर्शनमा भएको दमनको कारण ठूलो मानवीय क्षति भयो, तर अर्बौंको भौतिक संरचना ध्वस्त भए।
- जेनजी पुस्ताले अब पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आफ्नो प्रतिनिधिको रूपमा अघि सार्ने तयारी गरेका छन्।
काठमाडौँ । भदौ २३ गते विरोध प्रदर्शनका लागि सडकमा उत्रिएको जेनजी पुस्ताले करिब २७ घण्टामै सत्ता ढाल्न सफल भयो । २३ गते आन्दोलनमा व्यापक दमन भएपछि ठुलो मानवीय क्षति भएको थियो ।
विरोध प्रदर्शनमा भएको दमनकै कारण २४ गते जेनजी पुस्ता आक्रोशित भएर सडकमा निस्किए । त्यसदिन अघिल्लो दिनको तुलनामा मानवीय क्षति त धेरै भएन तर अर्बौंका भौतिक संरचना ध्वस्त भए ।
देशभर एकसाथ भएको विरोध प्रदर्शन सरकारले झेल्न सकेन । परिणामस्वरुप मंगलबार दिउँसो करिब साढे दुई बजे केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए ।
त्यस यता राष्ट्रपति रामचन्द्र पौडेल र प्रधान सेनापति अशोकराज सिग्देलले जेनजी पुस्तालाई वार्ताका लागि आह्वान गरेका छन् ।
बुधबार जेनजीका अगुवाहरूबिच अब कसरी प्रस्तुत हुने भन्नेबारे छलफल भएको थियो । सोही क्रममा उनीहरूले पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई आफ्नो प्रतिनिधिका रूपमा अघि सार्ने तयारी छन् । यसबारे बिहीबार बिहानसम्म फाइनल निर्णयमा पुग्ने र बिहीबार नै प्रधान सेनापतिसँग छलफलमा बस्ने जेनजी अगुवाको तयारी छ ।
आगामी मार्गचित्र प्रस्ट नहुँदा मुलुकमा एक प्रकारको अन्योल छ । ओलीले राजीनामा दिइसकेपछि कार्यकारी प्रमुखको भूमिकामा एकातिर शून्यता छ भने अर्कोतिर राज्यका विभिन्न निकाय अन्योलमा छन् ।
जेनजी पुस्ताले सामूहिक भावबाटै आन्दोलन अघि बढाएका थिए, जसका लागि छुट्टै नेतृत्वको विकास गरिएको थिएन । सूचना–प्रविधिका माध्यमबाट संगठित भएका उनीहरूले सुरुमा आफ्नो सम्पूर्ण ध्यान आन्दोलनमा केन्द्रित गरे ।
आन्दोलन सफल भइसकेपछि सकेसम्म जेनजी पुस्ताको सामूहिक निर्णय, त्यो हुन नसके अधिकांशको सहमतिका आधारमा मुलुकलाई निकास दिने तयारी गर्दा केही समय लागेको उनीहरूको तर्क छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण