निर्भीकजंग रायमाझीका तीन कविता
१) आँखीझ्याल
आँखीझ्याल सानो छ
तर यसैबाट संसार चियाउन सकिन्छ ।
घरका ठुला–ठुला ढोकालाई
अहङ्कारका खापाले बन्द राखेका छन्
घरका बुट्टेदार झ्यालका सिसालाई
पर्दाले छोपेका छन् ।
थुनिएको छ घर चारैतिर
सबै दृश्य बन्द छ ।
तर को आयो साँझमा पाहुना
आँखीझ्यालबाट हेर्न पाइयो
बिहानी घामको पहिलो झुल्को
ओछ्यानबाटै छुन पाइयो ।
आहा ! आँखीझ्याल हुँदै
जस्तो त्रासमा पनि संसार चियाउन पाइयोस्
जस्तो याममा पनि क्षितिज निहार्न पाइयोस्
जस्तो त्रासमा पनि संसार चियाउन पाइयोस्
चाहन्छु, एउटा सानो आँखीझ्याल
तिम्रो मनमा पनि भइदियोस् !
०००
२) कति रानीमहल हृदयको कुनामा बने
जर्साबले कालीगण्डकीको किनारमा
सेतो, सुन्दर एउटा महल बनाइदिए
र मानिसहरूले भन्न थाले— आहा रानीमहल !
असाध्यै सुन्दर
जूनको उज्यालोमा धपक्कै बल्ने
हुस्सुले छोप्दा समेत टाढैबाट देखिने
मानौँ, सधैँ गण्डकीको पानी पिएर फुलेको
इन्द्रकमलको उद्यान हो रानीमहल ।
तर जे नाम दिए पनि
जति नै भव्य भए पनि
यो ढुङ्गा–माटोको महल हो
रंग–रोगन गरिएको, बुट्टा भरिएको घर हो
जो हिजो कसैको थियो
ताजमहल, रानीपोखरी, बेबिलोनको झुलन बगैँचाजस्तै
सायद कसैको मृत्युपछि बनाइने चिहान–ढुङ्गोजस्तै ।
आहा ! कति यस्ता महल बनेका थिए
दुनियाँभरिका प्रेमीहरूको हृदयमा
सपना देख्ने मानिसका आँखामा
ती महल, जो बन्दाबन्दै सानो कम्पनमै ढले
ती महल, बैँसको तापमा मैनझैँ पग्लेर गले
ती महल, जो आँसुको छालसँगै बगेर गए...
अहा !
ती महल, जो आँशुको छालसँगै बगेर गए...
कति–कति रानीमहल हृदयको कुनामा बने ।
००
३) कालो अबिर
यसपालि
म पनि खेल्न चाहन्छु होली
दलेर कालो अबिर
जल्लादहरूको चेहरामा !
उसो त इन्द्रेणीहरू मन नपर्ने कहाँ हो र मलाई
घमाइलो दिन र फूलबारी मन नपर्ने कहाँ हो र मलाई
तर मेरै गुराँसको लाली चोरेर
मेरै फूलबारीमा तेजाब फ्याँकेर
तिमीले उत्सव पो मनायौ प्रत्येक साल ।
सहेर बसेथेँ जसोतसो
तिमीले मसाल फाल्यौ मेरै छानोमा
मौलो राख्यौ आँगनमा
र निचोर्दै मान्छेको धड्किरहेको मुटु
खेलिरह्यौ होली प्रत्येक साल ।
यसपालि भने
म पनि खेल्दै छु होली
दलेर कालो अबिर
तिम्रो सभ्यताको निधारभरि ।
०००
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण