सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
जेनजी आन्दोलन

गोलीले ढलेका लुम्बिनीका तीन युवा : देश सुधार्ने सपना देखेका थिए

बुधबार, ०१ असोज २०८२, १५ : १४
बुधबार, ०१ असोज २०८२

बुटवल । जेनजी आन्दोलन क्रममा लुम्बिनी प्रदेशका पनि ३ युवाको मृत्यु भयो । 

भदौ २३ गतेको आन्दोलनमा गोली लागेर घाइते भएका बाँके नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझी निवासी सुलभराज श्रेष्ठ, सोही स्थानका आयुष थापा र अर्घाखाँचीको भूमिकास्थान नगरपालिका– ४ फलामखिलीका १९ वर्षीय निर्मल सारू मगरको निधन भएको हो । 

उनीहरू तीनै जनाको काठमाडौँमा निधन भयो । सबैलाई गोली लागेको थियो । सरकारले उनीहरूलाई सहिद घोषण गर्दै परिवारलाई राहत रकम दिने निर्णय गरेको छ । त्यसदिनको आन्दोलनमा हालसम्म लुम्बिनीबाट तीनको मृत्यु भएको खुले पनि काठमाडौँमा सनाखत हुन बाँकी अझै शव रहेका लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

नेपालगञ्जमा  किरिया बसेका छन् आयुष र सुलभका आफन्त 

नेपालगञ्ज उपमहानगरपालिका–१ का धम्बोझीका सुलभराज श्रेष्ठ र आयुष थापा दुवै काठमाडौँमा थिए ।

१९ आयुष थापा र २३ सुलभराज प्रहरीको गोली लागेर भदौ २३  गते ढले । श्रेष्ठको शव सुरुमै पहिचान भए पनि थापालाई भने नेपालगञ्जबाट आफन्तहरू काठमाडौँ गएपछि मात्र चिने । 

3

फान्स जाने तयारीमा थिए आयुष, त्यसैले काठमाडौँ गएका थिए । नेपालगञ्ज उपमहानगरपालिका–१ का वडाध्यक्ष प्रमोद रिमालका अनुसार आयुषले नेपालगञ्जकै आदर्श माविबाट १२ कक्षा पास गरेका थिए । सुरुमा त  बेलायती सेनामा भर्ती हुन प्रयास गरेका उनी असफल भए । अनि विदेश जाने तयारी गर्न थाले । वडा कार्यालयबाट सम्पूर्ण कागजपत्र बनाएर आयुष काठमाडौँ गएका रिमाल बताउँछन् । 

सुलभ भने काठमाडौँको कान्तिपुर इन्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङका विद्यार्थी थिए । थप अध्ययनका लागि बाहिर जाने परीक्षाको तयारी गर्दै थिए । २३ गते प्रहरीको गोली लागेर निधन भएका उनको परीक्षा २४ गते थियो । 

२३ गते आयुष र सुलभ दुवैको उपचार क्रममा मृत्यु भएको हो । दुवैको शव शुक्रवार नेपालगञ्ज ल्याइएको वडाध्यक्ष रिमालले रातोपाटीलाई जानकारी दिए । 'आन्दोलनमा हाम्रो वडाका दुई युवाको मृत्यु भयो, हामीले वडा कार्यालयको तर्फबाट मृतकका परिवारलाई भेटेर श्रद्धाञ्जलि दियौँ,' उनले भने । 

2

सुलभका बुवा नरेन्द्र अहिले काजकिरियामा बसेका छन् । भेरी स्कुलका सञ्चालकसमेत रहेका नरेन्द्र छोराको अपल्पनीय निधनले मर्माहत भए पनि छोराले आन्दोलनताका भ्रष्टाचार रोक्न लेखेको पत्रबारे बताउँदै अब सबै त्यतातिर लाग्नुपर्ने बताउँछन् । सुलभ नरेन्द्रका एक्ला छोरा हुन् । भन्छन्, 'देश सुधार्न मेरो छोराले आवाज उठाएको थियो, मारिहाले । राज्यसँग मेरो केही माग छैन।'

सरकारले आफ्नो छोरालाई सहिद घोषणा गरेकोप्रति समर्थन जनाएका नरेन्द्र छोराको सपना पूरा हुने र देश निर्माण हुनेमा आशा राख्छन् । सोही वडाका आयुषको पनि घरमा अहिले काजकिरिया चलिरहेको छ । उनीहरू दुवै मृत्यु भएको हिन्दु धर्मअनुसार आज १०औँ दिन भएको छ । 

बुवा सुशील बस्न नमिलेपछि आफन्त मीनसिंह थापा आयुषको काजकिरियामा बसेका छन् । आयुष पनि घरका एक्ला छोरा हुन् । आयुषका बुवा सुशील विगतमा भेरी बस समितिमा काम गर्थे । तर अहिले जागिर छोडेका छन् । आफ्ना छोराहरूको हत्या गर्ने दोषीलाई निष्पक्ष छानबिन गरी कडाभन्दा कडा कारबाही गर्नुपर्ने उनको माग छ । 

1

भन्छन्, 'मेरो छोराजस्तै अन्यको हत्या नहोस्, दोषीलाई कारबाही गनुपर्छ ।'

अर्घाखाँची भूमिकास्थान नगरपालिका-४ फलामखिलीका १९ वर्षीय निर्मल सारू मगरको भने काठमाडौँमै दाहसंस्कार गरिएको छ । 

स्थानीय भगवती आधारभूत विद्यालय हुँदै शान्ति माविधारापानीबाट एसईई सकेका उनले यसै वर्ष बुटवलको कान्ति माविबाट व्यवस्थापन विषयमा राम्रो अंक ल्याएर कक्षा १२ उत्तीर्ण गरेका थिए । र स्नातक तह पढ्न भनी उनी दुई महिनाअघि काठमाडौँ पुगेका थिए । साइकलमा डेलिभरीको काम गर्ने जागिर पनि सुरु गरेका थिए । 

कीर्तिपुरमा डेरा गरेर बस्ने निर्मल सरकारले सामाजिक सञ्जाल बन्द गराएपछि साथीहरूसँग मिलेर बानेश्वर पुगेका थिए । बुवा कतारबाट फर्केपछि सोमबार निर्मलको काठमाडौँमा दाहसंस्कार गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका लुम्बिनी प्रदेश संयोजक हुन् । 

लेखकबाट थप