पार्टी रूपान्तरण र पुनर्गठनको अभियानमा लाग्दा जस्तोसुकै मूल्य चुकाउन तयार छु : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भाद्र २३ र २४ गतेका आन्दोलनका शहीद र घाइतेहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै पार्टी सुधार र देश निर्माणमा आफू दृढ रहेको स्पष्ट पारेका छन्।
उनले शनिबार फेसबुकमा भनेका छन्, 'हाम्रो भत्केका घरहरू फेरि बन्नेछन्, कार्यालयहरू ठडिनेछन्, तर गुमेको जीवन फर्किँदैन।' साथै, कतिपय साथीहरूले घाइते र शहीद परिवारलाई किन भेट्न नगएको भनेर प्रश्न गरेको बताउँदै थापाले तत्काल जान नसक्ने कारण समेत खुलाएका छन् ।
उनले भने, 'भ्रष्टाचारको अन्त्य र सुशासनको माग पूरा गर्ने सन्दर्भमा मेरो प्रयत्नले ठोस परिणाम ल्याएपछि मात्र म परिवारलाई भेट्न योग्य ठान्छु।'
थापाले भाद्र २३ को आन्दोलनमा व्यापक दमन भएको र भाद्र २४ को आन्दोलनमा नौजवानहरूको पवित्र आक्रोश र घुसपैठ दुवैको छानबिन आवश्यक रहेको बताए। 'दोषीले सजाय पाउनुपर्छ, यदि दण्डहीनता भयो भने आन्दोलनको पवित्रता बदनाम हुन सक्छ,' उनले भने।
उनले भ्रष्टाचार विरुद्धको छानबिनमा पनि जोड दिँदै भने, '२०४६ सालपछि जिम्मेवार राजनीतिक, प्रशासनिक र सेना क्षेत्रमा रहेका व्यक्तिहरूको सम्पत्ति, जग्गा, व्यापार आदि कानूनी ढंगले छानबिन हुनुपर्छ। गल्ती भएकोले सजाय पाउनुपर्छ, अनि मात्रै उपलब्धि स्वीकार्य हुन्छ।'
थापाले पार्टीको रूपान्तरण र पुनर्गठनको आवश्यकता औंल्याउँदै विशेष महाधिवेशन वा नयाँ अधिवेशनमार्फत नेतृत्व र नीति निर्धारण गर्ने विकल्पमाथि जोड दिए। उनले स्पष्ट पारे, 'पार्टीको रूपान्तरण नगरी आन्दोलनको भावनालाई बोकेर हिँड्न सकिँदैन। अधिवेशन वा विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व, नीति र सुधार कार्यान्वयन गर्नुपर्छ।'
थापाले अगाडि भने, 'पार्टी रूपान्तरण र पुनर्गठनको यो अभियानमा लाग्दा जस्तोसुकै मूल्य चुकाउन म तयार छु। पार्टीको साधारण सदस्य भएर भुइँमा बस्न पनि म तयार छु। पार्टी भन्दा माथि देश छ, देशको हितका लागि काम गर्नुपर्छ।'
उनले अन्त्यमा सबैलाई आह्वान गर्दै भने, 'नौजवानहरूले जुन आगो ओकलेका छन्, त्यसको मर्म बुझ्नुपर्छ। उनीहरूले खोजेको परिवर्तनलाई सम्बोधन गर्ने पार्टी मात्र देशका लागि जिम्मेवार बन्न सक्छ। यस्तो पार्टी बनाउन सक्यो भने मात्रै हामी शहीद परिवारलाई श्रद्धाञ्जली अर्पण गर्न योग्य हुनेछौँ।'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण