बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

'हामी नेपाल'ले जेनिशको सैन्य पोसाकको स्रोत खुलाउँदै दियो स्पष्टीकरण

सोमबार, ०६ असोज २०८२, १५ : १५
सोमबार, ०६ असोज २०८२

सारांश

  • हामी नेपालले जेनजी आन्दोलनमा संलग्न व्यक्तिको विषयमा स्पष्टीकरण जारी गरेको छ।
  • संस्थाले उक्त व्यक्तिसँग कुनै सम्बन्ध नरहेको र जेनिश नामक स्वयंसेवकको बारेमा जानकारी दिएको छ।
  • जेनिशलाई सेनाले उपहार दिएको पोशाक लगाएको र नकारात्मक आरोपमा उनको संलग्नता नरहेको संस्थाले जनाएको छ।

काठमाडौँ । हालै सामाजिक सञ्जाल र इन्टरनेटमा फैलिएको तस्बिर र समाचारको खण्डन गर्दै सामाजिक संस्था ‘हामी नेपाल’ले स्पष्टीकरण जारी गरेको छ । 

जेनजी आन्दोलनका क्रममा पूर्ण सैन्य पोशाकमा देखिएका एक अज्ञात व्यक्तिलाई आफ्नो संस्थाको स्वयंसेवक भन्दै आपराधिक गतिविधिमा संलग्न भएको आरोप लागेपछि ‘हामी नेपाल’ले आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

संस्थाले आफूहरूसँग उक्त अज्ञात व्यक्तिको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ । ‘हामी ती व्यक्तिलाई चिन्दैनौँ । उनी हाम्रो संस्थासँग कुनै पनि रूपमा आबद्ध हुनुहुन्न र हामीसँग उनी वा उनका कार्यहरूसँग कुनै सम्बन्ध छैन,’ संस्थाले फेसबुकमा जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । 

यो स्पष्टीकरण जेनजी आन्दोलनका क्रममा मास्क लगाएर हिंसात्मक तथा आपराधिक गतिविधि गरेको भन्दै आलोचना भएका अज्ञात व्यक्तिहरूसँग जोडिएर आएको हो । 

यद्यपि संस्थाले आफ्नो एक सक्रिय स्वयंसेवक ‘जेनिश’को बारेमा भने विस्तृत जानकारी दिएको छ । संस्थाका अनुसार जेनिश ‘हामी नेपाल’सँग विभिन्न सामाजिक अभियानहरूमा सक्रिय रूपमा काम गर्दै आएका छन् । 
उनको सैन्य शैलीको पोशाकको विषयमा स्पष्टीकरण दिँदै संस्थाले थप स्पष्ट पारेको छ, ‘उहाँले लगाएको ट्याक्टिकल सुट सेनाले उनको सेवाको कदरस्वरूप अनौपचारिक रूपमा उपहार दिएको हो ।’

संस्थाका अनुसार जेनिशले उक्त पोशाक ‘हामी नेपाल’द्वारा सञ्चालित कुनै पनि अभियानहरूमा लगाउने गर्छन् । ‘हामी नेपाल’ले जेनिशलाई लगाइएका सबै नकारात्मक आरोपहरूको खण्डन गर्दै भनेको छ, ‘जेनिशलाई लगाइएका कुनै पनि गतिविधि/भूमिकामा उहाँ संलग्न हुनुहुन्न ।’ 

संस्थाले आफ्नो विज्ञप्तिमा ठुलो अक्षरमा ‘जेनिश कुनै पनि नकारात्मक आरोपमा संलग्न छैनन्’ भनी थप स्पष्ट पार्न खोजेको छ । ‘हामी नेपाल’ले आफ्नो नाम र आफ्ना सक्रिय स्वयंसेवकहरूको छविमाथि प्रश्न उठेपछि यो स्पष्टीकरण जारी गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप