बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति छिमेकी मुलुकलाई खुसी पार्ने खालको छ : विश्वकर्मा

बिहीबार, १८ असार २०८३, १४ : ०७
बिहीबार, १८ असार २०८३

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद गणेशबहादुर विश्वकर्माले प्रधानमन्त्रीले २०८३ जेठ १७ गते संसद्को रोस्टमबाट दिएको अभिव्यक्ति राष्ट्रियता विरुद्ध र छिमेकी मुलुकलाई खुसी पार्ने खालको भएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद विश्वकर्माले भने ‘नेपालको पश्चिमी सिमाना लिम्पियाधुरा हो, कालापानी र लिपुलेक मात्र होइन । प्रधानमन्त्रीज्यूलाई यति सानो कुराको जानकारी नहुनु आश्चर्यको विषय हो ।’ उनले प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन समेत माग गरे । 

उनले देशभर बर्ड फ्लु र डेंगु जस्ता रोगहरू फैलिरहँदा पनि सरकारले रोकथामका लागि कुनै ठोस कदम नचालेकोमा आपत्ति जनाए । वर्षायामको मुखमा सुकुमबासीहरूलाई होल्डिङ सेन्टर छाड्न धम्कीपूर्ण अल्टिमेटम दिइएको भन्दै उनले सरकारको आलोचना गरे । सुकुमबासीलाई सुरक्षित व्यवस्थापन गर्नुको साटो त्रास पैदा गर्न थालेको विश्वकर्माको भनाइ थियो । 

सांसद विश्वकर्माले कैलालीमा घटेका दुई वटा दुःखद घटनाबारे सदनलाई जानकारी गराउँदै निष्पक्ष छानबिनको माग गरे । कैलालीको लम्कीचुहा नगरपालिका–४ बाट हराएकी ६ वर्षीया बालिका मनिषा विकको शव शङ्कास्पद अवस्थामा फेला परेको र धनगढीमा डेरा गरी बस्ने युवा विराट ताम्राकारको मृत्यु अन्तरजातीय प्रेम सम्बन्धका कारण भएको हुन सक्ने भन्दै छानबिनको माग गरेका हुन् । 

‘सिन्धुलीका श्रीकृष्ण विकपछि कैलालीमा अर्का एक दलित युवाको शङ्कास्पद निधन हुनुले गम्भीर प्रश्न उब्जाएको छ,’ सांसद विश्वकर्माले भने, ‘यी घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न र विद्यालय तथा सार्वजनिक स्थलहरूलाई सुरक्षित बनाउन म सरकारसँग जोडदार माग गर्दछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप