बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘परान’ को नयाँ पोस्टरमा नीर शाह, भूमिका कस्तो ?

सोमबार, ०६ असोज २०८२, १९ : ०९
सोमबार, ०६ असोज २०८२

काठमाडौँ । कलाकार दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको फिल्म ‘परान’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।सोमबार सार्वजनिक पोस्टरमा दिग्गज अभिनेता नीर शाह छन् । 

यसअघि अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराईलीलाई चित्रित गर्दै पोस्टर ल्याइएको थियो । नीर शाहलाई मात्र केन्द्रमा राखेर पोस्टर सार्वजनिक गरिएको हो ।

पोस्टरमा शाह शंख फुक्दै गरेको अवस्थामा छन्।उनको अनुहारमा गम्भीरता र अनुभवको भाव स्पष्ट झल्किएको छ ।

यो दृश्यले फिल्मको कथामा धर्म, संस्कृति वा कुनै परम्परागत रीतिरिवाजको महत्त्वपूर्ण स्थान हुन सक्ने सङ्केत दिन्छ।पोस्टरले नीर शाहको भूमिका र फिल्मको कथावस्तुबारे विभिन्न अड्कलबाजीहरू उब्जाएको छ। निर्माण पक्षले भने कथाबारे केही कुरा खुलाएको छैन। ‘परान’ को ट्यागलाइन ‘सासले होइन, साथले चल्ने’ छ । जसले फिल्मको मूल सन्देश एक अर्काको साथको महत्त्वलाई जोड दिएको आकलन गर्न सकिन्छ । 

फिल्ममा भावनात्मक पक्ष बलियो रहेको र सम्बन्धहरूको गहिराइलाई केलाएको हुन सक्ने अनुमान गर्न सकिन्छ।शाहजस्तो अनुभवी कलाकार केन्द्रीय भूमिकामा देखिनुले ‘परान’ एक सशक्त कथा र उत्कृष्ट अभिनय रहेको फिल्म हुने समेत अपेक्षा गर्न सकिन्छ ।

देशकै प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले परानको निर्माण गरेको हो ।

बाइस्कोप सिनेमाको एकल ब्यानरमा पहिलो प्रोजेक्टको रूपमा फिल्म निर्माण गरिएको बाइस्कोपका प्रबन्ध निर्देशक रन्जीत आचार्यले बताए । दीपक आचार्यकै कथा रहेको फिल्मको पटकथा तथा संवाद यम थापाले तयार पारेका हुन् ।

फिल्ममा वरिष्ठ अभिनेता नीर शाहसँगै महेश त्रिपाठी, अञ्जना बराइली, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायत कलाकारहरूको अभिनय छ। निर्देशक दिपक आचार्यको शब्द, रिदम कँडेलको सङ्गीत रहेको यस फिल्मका गीतमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमाललगायतले स्वर दिएका छन् ।

अजय उपाध्याय कार्यकारी निर्माता रहेको फिल्ममा शिवराम श्रेष्ठको डीओपी र मित्र डी. गुरूङको सम्पादन छ । फिल्ममा कोरियोग्राफी सुनिल क्षेत्रीको छ । ‘परान’ कात्तिक १४ (अक्टोबर ३१) देखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप