'बर्थिङ सेन्टर' पुग्न दुई घण्टाको पैदल यात्रा
सारांश
- कञ्चनपुरको भीमदत्त नगरपालिकाका गर्भवती महिलाहरू प्रसूति सेवाबाट वञ्चित छन्, जसले गर्दा उनीहरू घरमै सुत्केरी हुन बाध्य छन्।
- बस्तीमा बर्थिङ सेन्टर नहुँदा र यातायातको असुविधाका कारण गर्भवती महिलाहरूले स्वास्थ्य सेवा पाउन कठिनाइ भोग्दै आएका छन्।
- स्थानीय बासिन्दाले बर्थिङ सेन्टर स्थापना र आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितताको माग गरेका छन्।
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-९, खल्ला मसेट्टी क्षेत्रका गर्भवती महिलाहरू नजिकै प्रसूति सेवासहितको स्वास्थ्य संस्था नहुँदा घरमै सुत्केरी हुन बाध्य छन्।
बस्तीबाट आठ किलोमिटर टाढा ब्रह्मदेवमा ‘बर्थिङ सेन्टर’ भए पनि जोखिमपूर्ण कच्ची बाटोका कारण त्यहाँ पुग्न मुस्किल पर्छ। सेन्टर पुग्न दुई घण्टा पैदल हिँड्नुपर्ने भएकाले घरमै सुत्केरी हुनुको विकल्प छैन। सरकारले गर्भवतीको नियमित जाँच र स्वास्थ्य संस्थामै सुत्केरी गराउनुपर्ने नीति लिए पनि यहाँ यो लागू हुन सकेको छैन। यातायातको सुविधा नभएकाले गर्भवतीलाई स्ट्रेचरमा बोकेर स्वास्थ्य संस्था पुर्याउनुपर्ने बाध्यता छ।
यहाँका स्वास्थ्य स्वयंसेविका विमला बमका अनुसार, कतिपय गर्भवती बाटोमै सुत्केरी भएर फर्कन बाध्य भएका छन्। "बाटोमा नै शिशु जन्मिएका घटना पनि छन्, बाध्यता छ, के गर्नु गाउँमा बर्थिङ सेन्टर छैन," उनले भनिन्।
सरकारले घरमा सुत्केरी हुने दर शून्यमा झार्ने अभियान चलाएको छ र नियमित चार पटक गर्भजाँच गरेबापत ७०० रुपैयाँ र स्वास्थ्य संस्थामा सुत्केरी भएबापत यातायात खर्चबापत ३ हजार रुपैयाँ दिने व्यवस्था छ। तर, यहाँका गर्भवतीहरूले यो सुविधा पाउन सकेका छैनन्। स्थानीय रेखा विकले भनिन्, "हिउँदमा त एम्बुलेन्स आउँछ, जसोतसो स्वास्थ्य संस्था पुगिन्छ। तर, नियमित जाँचका लागि पनि दुई घण्टा पैदल हिँड्नुपर्छ।"
उक्त बस्तीमा गाउँघर क्लिनिक स्थापना गरिएको छ, जहाँ एक अनमी, अहेब र एक कार्यालय सहयोगी छन्। क्लिनिककी अनमी ममता महता डेढ वर्षदेखि सुत्केरी बिदामा गएपछि फर्किएकी छैनन्। उनको ठाउँमा अर्को कर्मचारी नखटाइँदा बालबालिकालाई खोप र भिटामिन खुवाउनसमेत समस्या भएको छ। अहिले ब्रह्मदेव स्वास्थ्य केन्द्रबाट महिनामा एक पटक अनमी आएर सेवा दिने गरेको क्लिनिकका अहेब नारायण बोहराले बताए।
"यहाँ बाटोको समस्या छ, सुत्केरीलाई स्ट्रेचरमा बोकेर पाँच किलोमिटर टाढा पुर्याउनुपर्ने बाध्यता छ," बोहराले भने, "यहाँ खानेपानीसमेत छैन, म घरबाट पानी बोकेर आउँछु।" उनका अनुसार, दैनिक २५ देखि ३० जना सेवाग्राही आउँछन्। स्थानीयहरूले घर नजिकै बर्थिङ सेन्टर स्थापना गरी सुरक्षित सुत्केरीको अधिकार सुनिश्चित गर्न माग गरेका छन्।
सुगम जिल्ला भनेर चिनिने कञ्चनपुरभित्रै रहेको यो बस्ती विकासका आधारभूत सुविधाबाट वञ्चित छ। पक्की बाटो, स्वास्थ्य, शिक्षा, बिजुली र खानेपानीजस्ता आधारभूत सेवा पाउन पनि यहाँका बासिन्दाले ठुलो कष्ट भोगिरहेका छन्। सदरमुकामदेखि २० किलोमिटर उत्तरमा रहेको यो बस्तीमा जोखिमपूर्ण कच्ची बाटो पार गरेर मात्र पुग्न सकिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण