नेपालको राजनीतिक यात्रा : अधुरा क्रान्तिदेखि पुनर्जागरणसम्म ?
नेपालको राजनीतिक इतिहासमा एउटा स्पष्ट ढाँचा देखिन्छ । प्रत्येक दशकमा एउटा ठुलो आन्दोलन हुन्छ, व्यवस्था परिवर्तन हुन्छ, नयाँ नेताहरू उदाउँछन् र ठुला परिवर्तनका वाचा गरिन्छन् तर त्यसपछि परिणाम अपेक्षित रूपमा नआउँदा फेरि जनतामा निराशा फैलिन्छ र नयाँ आन्दोलनको बिउ रोपिन्छ ।
आज फेरि युवा सडकमा छन् । यसपालि के फरक हुनेछ ? के यो इतिहासको एक दोहोरिने प्रक्रिया मात्र हो, वा नेपालको राजनीतिक यात्रामा एउटा वास्तविक र दिगो परिवर्तनको सुरुवात ? यो प्रश्न केवल राजनीतिक होइन, यो एक गहिरो दार्शनिक र सांस्कृतिक प्रश्न पनि हो, किनभने नेपालको हरेक पुस्ताले आफ्ना पुर्खाको अधुरो सपनालाई पूरा गर्ने ऐतिहासिक भारीको जिम्मेवारी बोकेको छ ।
हाम्रो राजनीतिक इतिहासलाई फर्केर हेर्दा यस चक्रीय ढाँचालाई स्पष्ट रूपमा बुझ्न सकिन्छ । २००७ सालको क्रान्तिले १०४ वर्ष लामो निरंकुश राणाशासनको अन्त्य गरेर प्रजातन्त्रको जग बसाल्यो । त्यस समयमा शिक्षितहरूको संख्या न्यून, सञ्चारमाध्यमको अभाव र राजनीतिक चेतनाको कमीजस्ता कारणले प्रजातन्त्र संस्थागत हुन सकेन र राजा महेन्द्रले २०१७ सालमा यसलाई पूर्ण रूपमा कुल्चिए । यद्यपि त्यो अधुरो क्रान्तिले नेपालीलाई एउटा बेजोड पाठ सिकायो— राजनीतिक अधिकार माग्ने होइन, खोसेर लिनुपर्छ ।
२०४६ सालको जनआन्दोलनले निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य गरेर बहुदलीय व्यवस्था पुनः स्थापना गर्यो । यस आन्दोलनपछि पनि राजनीतिक दलहरूको इमानदारीको अभाव र कांग्रेस तथा एमालेबिचको निरन्तर शक्ति संघर्षले संसदीय लोकतन्त्रलाई अस्थिर बनायो । भ्रष्टाचारले चरम रूप लियो र जनताको आकांक्षा र नेताहरूको व्यवहारबिच गहिरो खाडल निर्मित भयो । यही असन्तोषको परिणामस्वरूप २०५२ सालदेखि माओवादी जनयुद्ध सुरु भयो, जसले १७ हजारभन्दा बढी मानिसको ज्यान लियो ।
यसलाई केवल हिंसाको रूपमा हेर्नु अन्याय हुनेछ, किनभने यो पुराना दलहरूको गम्भीर असफलताविरुद्ध उठेको जनक्रोधको आवाज थियो । यसै जनयुद्धको जगमा २०६२/६३ को दोस्रो जनआन्दोलन भयो । त्यसै आन्दोलनले नेपालको सबैभन्दा सफल राजनीतिक परिवर्तन गर्न सक्यो । यसले राजतन्त्रको अन्त्य, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिताजस्ता महत्त्वपूर्ण उपलब्धि हासिल गर्यो । संविधानसभाको निर्वाचनले पहिलोपटक सबै समुदायलाई प्रतिनिधित्व दियो । मधेसी, आदिवासी जनजाति, दलित र महिलाहरूको आवाज संसद्मा सुनिन्न थाले । यो ऐतिहासिक उपलब्धि थियो तर सत्तामा पुगेपछि परिवर्तनकारी शक्ति ठानिएका माओवादीहरू र अन्य प्रमुख दलहरू भ्रष्टाचार, पदलोलुपता र अवसरवादमा लिप्त भए । यसले जनतामा ठुलो निराशा पैदा गर्यो र आज हामी फेरि अर्को पुस्ताले यस्तै संघर्ष र बलिदानी गर्नुपरेको छ ।
आजको यो आन्दोलन अकस्मात् उत्पन्न भएको घटना होइन; बरु राजनीतिक विश्वासघात, गम्भीर आर्थिक संकट र राज्यका संस्थाहरूको चरम विफलताको संयुक्त परिणाम हो । तीन दशकको बलिदानपछि पनि सुशासन, पारदर्शिता र न्यायको वास्तविक अनुभूति भएन । संसद्मा गम्भीर बहस हुन छाडेर आरोप–प्रत्यारोप मात्र बढ्यो । प्रत्येक वर्ष करिब पाँच लाख २० हजारभन्दा बढी युवाले रोजगारीको खोजीमा विदेश जाने बाध्यता सिर्जना भयो, जसले नेपाललाई मुख्यतः एक उपभोक्ता मुलुकमा परिणत गर्यो । विश्वविद्यालय, न्यायपालिका, प्रहरी र प्रशासनजस्ता सबै संस्थामा राजनीतिक हस्तक्षेपका कारण जनतामा गहिरो असन्तोष बढ्यो । यसैबिच जेन–जी (सन् १९९७ देखि २०१२ सम्म जन्मेको पुस्ता) ले लोकतन्त्रलाई केवल शासन प्रणाली नभएर आफ्नो व्यक्तिगत पहिचान र भावी सम्भावनासँग जोडेर हेरेको छ । उनीहरूका लागि स्वतन्त्रता मौलिक अधिकार हो, कुनै विशेषाधिकार होइन । यही सांस्कृतिक जागरणले यो आन्दोलनलाई एक नयाँ आयाम दिएको छ ।
यो एक ‘नेटवर्कयुक्त क्रान्ति’को नयाँ युग हो, जहाँ प्रत्येक सहभागी आफैँ एक विचार–केन्द्र बनेको छ र परम्परागत नेतृत्वको आवश्यकता उल्लेखनीय रूपमा घटेको छ ।
आजका युवाले डिजिटल माध्यमलाई एक शक्तिशाली राजनीतिक हतियारका रूपमा प्रयोग गरेका छन् । फेसबुक, टिकटक र ट्विटरजस्ता सामाजिक सञ्जालमार्फत उनीहरूले आफ्ना मुद्दालाई तुरुन्तै राष्ट्रिय र अन्तर्राष्ट्रिय एजेन्डा बनाउन सकिरहेका छन् । परम्परागत मिडियाको ढिलो र सीमित पहुँचको विपरीत सामाजिक सञ्जालले उनीहरूलाई प्रत्यक्ष संवादको व्यापक अवसर दिएको छ । यो एक ‘नेटवर्कयुक्त क्रान्ति’को नयाँ युग हो, जहाँ प्रत्येक सहभागी आफैँ एक विचार–केन्द्र बनेको छ र परम्परागत नेतृत्वको आवश्यकता उल्लेखनीय रूपमा घटेको छ । यो क्रान्ति अत्यन्त शक्तिशाली छ तर जोखिमपूर्ण पनि छ । यस पुस्ताको सबैभन्दा ठुलो शक्ति भनेको प्रश्न सोध्ने क्षमता हो । उनीहरू केवल स्वीकार गर्दैनन्, ‘सत्य के हो ?’ भनेर निरन्तर खोज्छन् । उनीहरू परम्परागत अधिकारलाई चुनौती दिन्छन् र स्थापित मान्यतालाई प्रश्न गर्छन् । यस आन्दोलनमा केही सीमा पनि स्पष्ट छन् । एकै उमेर–समूहमा केन्द्रित भएकाले संगठन र दीर्घकालीन नेतृत्वमा चुनौती आउन सक्छ । उनीहरूमा जोश छ तर विचार निर्माण हुने सम्भावना र अनुभवको कमी छ । तत्काल परिणाम चाहने प्रवृत्तिले कहिलेकाहीँ धैर्यताको परीक्षा गर्छ ।
सामाजिक सञ्जालको युगमा अर्को महत्त्वपूर्ण जोखिम छ, त्यो हो, सत्य र असत्यबिचको सीमा धुमिल हुने प्रवृत्ति । जानकारीको तीव्र प्रवाहले सजगता बढाए पनि भ्रम र प्रचार पनि समान गतिमा फैलिन्छ । यसले समाजमा ‘इको चेम्बर’ (आफूजस्तै सोच्नेहरूसँग मात्र कुरा गर्ने प्रवृत्ति) को गम्भीर समस्या निम्त्याउँछ, ध्रुवीकरण बढाउँछ र स्वस्थ संवादको संस्कृतिलाई घटाउँछ । यसका साथै नेतृत्वको अभाव र संगठनात्मक संरचनाको कमीले गर्दा आन्दोलनको परिणाम तुरुन्त नआउँदा निराशा बढ्न सक्छ र केवल एक अस्थायी ‘क्रोधको विस्फोट’ मात्र हुने जोखिम रहन्छ । यसले नेपालको राजनीतिलाई अझ गहिरो अस्थिरतामा धकेल्न सक्छ ।
अब निर्णायक प्रश्न उठ्छ, यो आन्दोलन कहाँ जाने ? के यो पनि अघिल्लाजस्तै अधुरो रहनेछ ? त्यसको स्पष्ट जवाफ जेन–जीको आफ्नै हातमा छ । उनीहरूले आफूलाई ‘परिवर्तनकारी’ शक्तिका साथै ‘निर्माणकर्ता’ पनि प्रमाणित गर्नुपर्ने चुनौती छ । केवल विरोध गर्नु पर्याप्त छैन, ठोस र व्यावहारिक विकल्प प्रस्तुत गर्नुपर्छ । नाराभन्दा बढी गहिरो विचार, आरोपभन्दा बढी पारस्परिक सम्मान र भावनाभन्दा बढी तर्कपूर्ण र रचनात्मक बहसलाई प्राथमिकता दिनुपर्छ । यस पुस्ताले अनुभवी र विश्वसनीय मार्गदर्शकको खोजी गर्नुपर्छ । इतिहासका सफल आन्दोलनमा युवाको जोस र अनुभवीको विवेकको संयोजन देखिन्छ । नेपालमा पनि भ्रष्टाचारमा नमुछिएका, सिद्धान्तवादी र युवाहरूको आकांक्षा बुझ्न सक्ने व्यक्तित्व छन् । उनीहरूसँगको साझेदारीले आन्दोलनलाई दिशा र स्थायित्व दिन सक्छ । त्यसका लागि सडक आन्दोलनमा मात्र सीमित नभई युवाले संस्थाहरूभित्र काम गर्ने, नीति निर्माणमा वास्तविक योगदान पुर्याउने र दीर्घकालीन रणनीति बनाउने क्षमता विकास गर्नुपर्छ ।
यसरी हेर्दा नेपालको राजनीतिक यात्रा लामो र अत्यन्त कष्टकर छ तर आजको युवा पुस्ताले अधुरा क्रान्तिको दुष्चक्र तोड्ने ऐतिहासिक अवसर पाएको छ । उनीहरूसँग अपार शक्ति छ, दृढ संकल्प छ र आधुनिक प्रविधि छ । यद्यपि सफलताका लागि परिपक्व विवेक, आवश्यक धैर्य र प्रभावकारी रणनीतिक सोच पनि चाहिन्छ । उनीहरूले यी सबै गुणहरूको सफल संयोजन गर्न सके भने नेपालको राजनीतिक इतिहासमा सबैभन्दा महत्त्वपूर्ण अध्याय लेखिनेछ र त्यो हुनेछ— वास्तविक लोकतान्त्रिक पुनर्जागरणको अध्याय, जहाँ प्रत्येक नागरिक आफ्नो देशको भविष्य निर्माणमा सक्रिय र अर्थपूर्ण सहभागी बन्नेछन् । अन्यथा नेपाल फेरि त्यही अनन्त चक्रमा फस्नेछ— आन्दोलन, अपेक्षा, निराशा र पुनः आन्दोलनको दोहोर्याइमा; जहाँ हरेक नयाँ पुस्ताले आफ्ना पूर्वजकै भुलहरू दोहोर्याउने र समान पीडा भोग्ने बाध्यता हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण