‘खुशीको गाउँ’ : विस्थापनको घाउ र प्रेमको उज्यालो
सारांश
- खगिन्द्रा खुसीको उपन्यास 'खुशीको गाउँ' ले भुटानी शरणार्थीको जीवन र विस्थापनको पीडालाई चित्रण गर्दछ।
- उपन्यासले भुटानी शरणार्थीहरूको सङ्घर्ष, प्रेम, र पहिचानको खोजीलाई उजागर गर्दछ।
- पुस्तकमा राजेन्द्र र राधिकाको प्रेम कथा, आर्थिक यथार्थ, र मानवीय सम्बन्धहरूलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ।
खगिन्द्रा खुसीको पहिलो उपन्यास ‘खुशीको गाउँ’ नेपाली साहित्यमा संवेदनशील विषयवस्तु बोकेको अद्वितीय कृति हो । पुस्तकको नामले एउटा रमाइलो गाउँको कल्पना गराउँछ तर पाना पल्टाउँदै जाँदा पाठक एकदमै फरक संसारमा प्रवेश गर्छन्— विस्थापनको पीडा, पहिचानको घाउ, अनिश्चित भविष्य र मानवीय अस्तित्वको जटिल यात्रामा ।
भुटानबाट लखेटिएका नेपालीभाषी शरणार्थीको अनुभव, उनीहरूको सङ्घर्ष, प्रेम र आशाको उज्यालो यस कृतिको मूल धड्कन हो । लेखिका स्वयंले शरणार्थी जीवनको पीडा नजिकबाट बोक्दै हुर्किएकीले यो कथा केवल सुनेको वा देखेको होइन, भोगेको सत्यजस्तै लाग्छ । यही कारण उपन्यास पढ्दा कल्पनाको भन्दा यथार्थको तिक्त अनुभव बढी हुन्छ ।
१९९० को दशकको मध्यतिर भुटानी शासकले दक्षिण भुटानमा बसोबास गर्ने नेपाली मूलका नागरिकलाई नागरिकताको अधिकार नदिने, भाषा–संस्कृतिमा भेदभाव गर्ने र अन्ततः देशनिकाला गर्ने नीति अघि सारे । आफ्नो घर, खेत, परम्परा, इतिहास र भविष्य गुमाउँदै हजारौँ नेपाली मूलका परिवार नेपाल छिर्न बाध्य भए । उनीहरूको अस्थायी आश्रय बने— झापाका बेलडाँगी, खुदुनाबारी, टिमाई, गोल्डेन क्याम्पजस्ता शिविरहरू । यही अस्थायी जीवनको कठोरता र राहतमा गुजारा चलाउने कठिन दिनहरूलाई उनले उपन्यासमा बुनेकी छन् । बारम्बारको बाढी–पहिरो, बेरोजगारी, असुरक्षा र अनिश्चित भविष्यको डरलाई उनले अत्यन्त मार्मिक र सजीव तरिकाले उतारेकी छन् । शरणार्थी हुनु केवल भौतिक दुःख होइन, यो आत्मसम्मान र पहिचान गुमाउनु पनि हो ।
पुस्तकमा बारम्बार सुनिने एउटा भावनात्मक वाक्य छ, ‘देश गुमाउँदा नागरिकता मात्र होइन, आत्मसम्मान पनि हराउँछ ।’ यही वाक्य उपन्यासको मूल आत्मा हो, जुन पाठकको मनमा लामो समयसम्म प्रतिध्वनित हुन्छ र सोच्न बाध्य बनाउँछ— आखिर के हो त देश, समाज र मानवीय प्रेम ?
भुटानी शरणार्थीको जीवनमा एउटा अदृश्य तर गहिरो पीडा छ— पहिचानको खोज र सङ्कट । नेपाली भाषा बोल्दा पनि नेपाली होइन, भुटानको भूमि गुमाएपछि भुटानी होइन । शिविरमा बस्दा पनि आफूलाई विदेशी ठान्ने र वरिपरिको समाजले ‘तिमीहरू यहाँका होइनौ’ भन्ने दृष्टिकोणले घेरिने । यही मानसिक र भावनात्मक दूरी उपन्यासभरि तन्किएको छ । नजिकको गाउँ र शिविरबिचको भौगोलिक दूरीभन्दा गहिरो यो मनोवैज्ञानिक पर्खालले पात्रहरूलाई निरन्तर थिचेको छ । खगिन्द्राले यसलाई केवल घटनाको विवरण होइन, मान्छेको आत्माभित्रको अदृश्य घाउलाई गहिरो तरिकाले उतारेकी छन् ।
यस गहिरो अँध्यारोमा पनि प्रेमको उज्यालो छ । उपन्यासको केन्द्रमा राजेन्द्र र राधिकाको प्रेमकथा छ । राजेन्द्र शरणार्थी शिविरमा हुर्किएको युवक हो भने राधिका नजिकैको गाउँकी नेपाली युवती हुन् । उनीहरूको प्रेममा अदृश्य सिमाना बारम्बार ठोक्किन्छ । समाज भन्छ, ‘शरणार्थीसँग बिहे गर्नु हुँदैन, उनीहरू अनागरिक हुन्, उनीहरूसँग भविष्य छैन ।’
समाजका सबै पर्खालभन्दा ठुलो हुन्छ प्रेम । राजेन्द्र र राधिकाको प्रेममा विद्रोहको साहस छ, आत्मिक तडप छ, मानवीय करुणाको गहिरो ताल छ । धनमायाजस्ता पात्रले नारीको आत्मसम्मान र स्वतन्त्रताको आवाजलाई अझ प्रस्ट बनाउँछन् । खगिन्द्राले प्रेमलाई शारीरिक आकर्षणको सीमामा राखेकी छैनन्; उनले यसलाई आत्मिक र सामाजिक विद्रोहको उच्च आदर्शका रूपमा प्रस्तुत गरेकी छन् । पढ्दा लाग्छ— मायाले सीमाना काट्छ, तर समाजको कडा बेडीले बारम्बार बाँध्न खोज्छ । यही द्वन्द्व उपन्यासको मुटु हो, प्रेम उत्सर्गको क्षण पनि ।
उपन्यासको अर्को सशक्त विषय आर्थिक यथार्थको सूक्ष्म चित्रण हो । राहतमा निर्भर दैनिकी, स–साना उद्यम र मेहनतका आधारमा नयाँ सम्भावना खोज्ने शरणार्थीको सङ्घर्ष प्रेरणादायी छ । उनीहरूसँग जग्गा छैन तर श्रम छ, सम्पत्ति छैन तर सीप छ । यही सीपले उनीहरूलाई बाँझो भविष्यमा पनि उज्यालो खोज्न ऊर्जा दिन्छ । शिविरकै कारण नजिकको स्थानीय बजार चलायमान हुन्छ । गाउँलेलाई खेतबारीमा कामदार पाउन सजिलो हुन्छ, तर सँगै अविश्वास र सांस्कृतिक दूरी पनि बढ्छ । यहाँ खगिन्द्राले एउटा गहिरो सत्य प्रस्ट देखाएकी छन्— मानव जहाँको भए पनि भावना, श्रम र आशाको मूल्य समान हुन्छ, तर पहिचानको पर्खालले मानिसलाई निरन्तर विभाजित गर्छ ।
देश गुमाउँदा मान्छेले के गुमाउँछ भन्ने सरल तर गहिरो प्रश्नले उपन्यासलाई दार्शनिक उचाइमा पुर्याएको छ । नागरिकता गुमाएर पनि आत्मा जोगाउने सङ्घर्ष, समाजमा भएर पनि समाजको मान्यता नपाउने पीडा, मातृभूमिबाट टाढा परेर पनि आफ्नोपनको खोज— यी सबै तत्त्वले ‘खुसीको गाउँ’लाई केवल भुटानी शरणार्थीको कथा होइन, सम्पूर्ण मानवताको साझा अनुभवको काव्य बनाउँछ ।
कथाले पहिचानको सङ्कटलाई सीमित कथाभित्र मात्र राख्दैन । खगिन्द्राले भुटानी शरणार्थीको पीडालाई सिरिया, प्यालेस्टाइन, अफ्रिकादेखि संसारभरका विस्थापित समुदायको साझा व्यथासँग जोड्न पनि सफल भएकी छन् । युद्ध, राजनीति, जातीय द्वन्द्वले घरबार गुमाएका, नागरिकता गुमाएका, आफ्नोपन गुमाएका सबैको साझा घाउ यहाँ प्रतिध्वनित हुन्छ । देश गुमाउँदा मान्छेले के गुमाउँछ भन्ने सरल तर गहिरो प्रश्नले उपन्यासलाई दार्शनिक उचाइमा पुर्याएको छ । नागरिकता गुमाएर पनि आत्मा जोगाउने सङ्घर्ष, समाजमा भएर पनि समाजको मान्यता नपाउने पीडा, मातृभूमिबाट टाढा परेर पनि आफ्नोपनको खोज— यी सबै तत्त्वले ‘खुसीको गाउँ’लाई केवल भुटानी शरणार्थीको कथा होइन, सम्पूर्ण मानवताको साझा अनुभवको काव्य बनाउँछ ।
भाषाशैली सरल तर गहिरो छ । गाउँघरको बोली, सहज संवाद र सजीव दृश्य वर्णनले पाठकलाई सिधै शिविरको गन्ध, धुलो र चहलपहलमा पुर्याउँछ । लेखकको व्यक्तिगत भोगाइले कथालाई अझ जीवन्त बनाएको छ । शरणार्थी जीवन नजिकबाट देखेकी र भोगेकी लेखिकाले आफ्ना देखाइ र सुनाइलाई पात्रको स्वरमार्फत प्रस्तुत गर्दा कथा शतप्रतिशत यथार्थ लाग्छ । पढिरहँदा लाग्छ— यो कुनै कल्पना होइन, न त कुनै भावनाको उछाल; बरु प्रत्यक्ष देखिएको र भोगिएको घटनाक्रम हो । यतिसम्म कि पृष्ठ पल्टाउँदा समय बितेको भान समेत हराउँछ ।
पुस्तकमा केही कमजोरी पनि छन् । भुटानी शरणार्थीको राजनीतिक पृष्ठभूमि, भुटानको दमनकारी नीति, अन्तर्राष्ट्रिय कूटनीति र नेपाल सरकारको भूमिकाबारे अझ गहिरो विश्लेषण आएको भए यो कृति अझ सशक्त हुन्थ्यो । पुनर्वासपछिको जीवन, विशेष गरी अमेरिका पुगेपछिको सांस्कृतिक सङ्घर्ष र मातृभूमिसँगको भावनात्मक दूरीलाई पुस्तकले हल्का मात्र छोएको छ । यसले आफ्नोपन बिर्सिंदै गएको तर केही सम्झना मात्र रहेको भान हुन्छ । राधिकाको वैवाहिक जीवनको उत्तरार्ध र उनका श्रीमान्को दृष्टिकोणबारे पनि पाठकको जिज्ञासा अधुरो रहन्छ । स–साना भाषिक त्रुटि र सम्पादनका कमजोरी पनि कतै–कतै देखिन्छन् । यी न्यूनताले उपन्यासको मूल शक्तिलाई ओझेलमा पार्न सकेका छैनन्, सक्दैनन् ।
‘खुशीको गाउँ’ आँसु बेच्ने प्रयास होइन, यो आँसुमा लुकेको सत्य प्रेमको कथा हो; प्रेममा आशा खोज्ने, वियोगमा पनि जीवनको उज्यालो देखाउने, पहिचान गुमाएर पनि आत्मसम्मान जोगाउने मानिसको साहसिक यात्रा हो । राधिका–राजेन्द्रको प्रेम, धनमायाको दृढता, गाउँ–शिविरको जटिल सम्बन्ध, शिविरको कष्ट र पुनर्वासको अनिश्चितता— यी सबैले उपन्यासलाई बहुआयामिक बनाएका छन् । पहिलो कृति भएर पनि खगिन्द्राको लेखनीमा देखिएको परिपक्वता, सूक्ष्म अवलोकन र गहिरो मानवीय संवेदनशीलता प्रशंसनीय छ । सरल भाषा, जीवन्त पात्र र सार्वभौमिक सन्देशले यसलाई दीर्घकालसम्म पढिनुपर्ने दस्ताबेज बनाएको छ ।
अन्ततः ‘खुशीको गाउँ’ केवल एउटा प्रेमकथा मात्र होइन, न त मात्र भुटानी शरणार्थीको इतिहास हो । यो मान्छे भएर पनि मान्छे हुन नपाएका लाखौँ विस्थापित आत्माको साझा कथा हो । माटोको माया, पहिचानको घाउ, प्रेमको उज्यालो र सङ्घर्षको गौरवलाई एकसाथ समेटेको यो कृति नेपाली साहित्यको दुर्लभ निधि हो । खगिन्द्रा खुसीले पहिलो उपन्यासमै जुन परिपक्वता, साहस र संवेदनशीलता देखाएकी छन्, त्यसका लागि उनलाई गहिरो सम्मान र आगामी यात्राका लागि हार्दिक शुभकामना दिनु उचित हुन्छ । यो कृति पढ्दा पाठक केवल भुटानी शरणार्थीको पीडा होइन, सिरिया, प्यालेस्टाइन र अफ्रिकाका विस्थापितहरूको आँसु पनि महसुस गर्छन् । यही कारणले ‘खुशीको गाउँ’ नेपाली साहित्यको दिगो दस्ताबेजका रूपमा आगामी पुस्ताले पढ्नैपर्ने सशक्त उपन्यासको रूपमा खडा हुन सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव बैठकका २२ निर्णय, सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउनेदेखि नयाँ दरबन्दीमा कडाइसम्म
-
सार्वजनिक बिदा पुनरवलोकन गर्न कार्यदल गठन गरिने
-
खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको सुझाव
-
सुर्खेतमा ट्राफिक कारबाहीबाट १ करोड ३२ लाख भन्दा बढी राजस्व सङ्कलन
-
गाडी चालक रामबहादुरको शव कर्णाली नदी टापुमा भेटियो
-
बढ्यो प्रचण्डको सक्रियता, माधवपछि ओलीलाई भेटेर प्रदेशबारे निर्णयमा पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण