सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बिजौरी आयुर्वेद चिकित्सालयमा बिरामीको आकर्षण बढ्दो

आइतबार, ०३ साउन २०८३, १९ : ५७
आइतबार, ०३ साउन २०८३

दाङ। दाङको बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा उपचारका लागि आउने बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। आयुर्वेद उपचारप्रति नागरिकको विश्वास बढ्दै गएसँगै लुम्बिनी प्रदेश सरकारले चिकित्सालयलाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरिसकेको छ।

चिकित्सालयका निमित्त निर्देशक डा.. प्रवेश श्रीवास्तवका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा एक लाख ६२ हजार ५४२ जनाले विभिन्न सेवा लिएका छन्। यस अवधिमा नौ हजार ४०२ जनाले पाइल्स तथा फिस्टुला,६ हजार ६६० जनाले अम्लपित्त र ६ हजार २३१ जनाले वातसम्बन्धी रोगको उपचार गराएका छन्।

उनका अनुसार चिकित्सालयले परम्परागत आयुर्वेद उपचारसँगै आधुनिक प्रविधिमा आधारित सेवा विस्तार गरेको छ। पूर्णकालीन पञ्चकर्म सेवा, क्षारसूत्र शल्यक्रिया तथा मानसिक रोगसम्बन्धी विशिष्टीकृत सेवा नियमित रूपमा सञ्चालन हुँदै आएका छन्।

सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउन चिकित्सालयले डिजिटल वडा.पत्र र टोकन प्रणाली लागू गरेको छ। बालबालिकाको स्वास्थ्य प्रवव तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि पाँच हजार ३७९ बालबालिकालाई डिजिटल प्रणालीमार्फत स्वर्णविन्दु प्राशन गराइएको डा.. श्रीवास्तवले जानकारी दिए।

प्रयोगशाला सेवामा पनि सुधार गरिएको छ। आधुनिक सीएलआईए, एनालाइजर तथा डिजिटल एक्सरे उपकरण सञ्चालनमा आएपछि रोग पहिचान र उपचार अझ प्रभावकारी बनेको उहाँको भनाइ छ । सेवाको गुणस्तर मापन गर्ने एमएसएस स्कोर ८४.९३ पुगेको चिकित्सालयले जनाएको छ।

बिरामीको चाप बढ्दै जाँदा जनशक्ति र भौतिक पूर्वाधार भने चुनौतीका रूपमा रहेका छन्। चिकित्सालयमा स्वीकृत ३५ दरबन्दीमध्ये हाल २१ जना मात्र स्थायी कर्मचारी कार्यरत छन् भने ११औँ तहको निर्देशकसहितका महत्त्वपूर्ण विशेषज्ञ पद रिक्त छन्।

हालको अन्तरङ्ग भवन पुरानो र साँघुरो भएकाले बढ्दो सेवाको चाप व्यवस्थापन गर्न कठिनाइ भइरहेको र छुट्टै प्रशासनिक भवन आवश्यक रहेको डा. श्रीवास्तवले बताए। आफ्नै औषधि उत्पादनका लागि निर्माणाधीन भवन अझै हस्तान्तरण हुन नसकेको तथा ढल व्यवस्थापनसम्बन्धी समस्या समाधानलाई पनि चिकित्सालयले आगामी योजनामा प्राथमिकता दिएको उनले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप