‘धेरै लेखकले पाठकको रुचि अनुसारका पुस्तक लेख्न बाँकी छ’
सारांश
- लेखिका सीमा आभासको नयाँ उपन्यास ‘महायुग’ बजारमा आएको छ, जसको बारेमा उनले कुरा गरेकी छिन्।
- उनले पुस्तक पढ्न समय व्यवस्थापन र किताबप्रतिको आफ्नो धारणाबारे बताइन्, साथै उनले पढेका पुस्तकहरूको चर्चा गरिन्।
- लेखिकाले नेपालको पठन संस्कृति र पाठकलाई सुझाव दिँदै, पछिल्लो पुस्ताका पाठक र लेखकको भूमिकाबारे प्रकाश पारेकी छन्।
ओखलढुुंगामा जन्मिएकी सीमा आभासको ‘साँझको सङ्घार’ (कवितासंग्रह, २०६३), ‘टापुका स्वरहरू’ (कथासंग्रह, २०६६) र ‘म स्त्री अर्थात् आइमाई’ (कवितासंग्रह, २०७३) र महायुग (उपन्यास, २०८२) बजारमा आएको छ । उनै सीमा आभासलाई यसपटक हामीले रातोपाटीको ‘किताबका कुरा’ स्तम्भमा निम्त्याएका छौँ ।
- दिनमा कति समय पढ्नुहुुन्छ ? पढ्नका लागि समयको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
म बाँचेको समाजमा महिलालाई पढ्नैका लागि यति समय छुट्ट्याउँछु भन्ने अवसर नै हुँदैन । भोलिका पुस्ताका लागि ती दिन आउन् भन्ने कामना गर्दछु । घरका दैनिक कामधन्दा, जागिर, बालबच्चाको हेरचाह सबै काम सकेपछि भ्याउँदा पढ्ने हो । जे–जे आइपर्छ, त्यो त्यो गर्दै जाने हो, व्यवस्थापनको विशेष सूत्र केही पनि छैन ।
- यहाँले हालैका दिनमा पढेको पुस्तक कुन थियो ? कस्तो छ, त्यो पुस्तक ?
दीपा दाहालको कथासङ्ग्रह ‘विजयिनी’ पढेर सकेँ । नहार्ने पात्रका कथा छन् विजयिनीमा । मलाई नहार्ने पात्रहरू मनपर्छन् । अमिसको राम फेरि पढ्दै छु । ‘छालबाटो’ पनि फेरि पढ्दै छु । कहिले एक समयमा अलग–अलग विधाका पुस्तक पढ्छु । कुनै पढ्दै गएर सक्छु । कुनैलाई बिचैमा पढ्न छाड्छु । पढेर दोहो¥याएका र पढ्दै आधा छाडेका थुप्रै पुस्तक हुन्छन् ।
- तपाईंका लागि किताब के हो ? किताबसँग यहाँको साइनो कसरी जोडियो ?
मेरा लागि किताब के हो भन्ने त मलाई पनि थाहा छैन । किताबसँगको साइनो त विद्यालय जान थालेदेखि कक्षा १ बाटै जोडिएको हो तर किताब मनपर्छ ।
- तपाईंको व्यक्तिगत लाइब्रेरीमा कति किताब छन्, कुन विधाका पुस्तक बढी छन् र किताब किन्नका लागि कति खर्च गर्नुहुन्छ ?
किताब कति छन् भन्ने सङ्ख्या त थाहा छैन । मागेरचाहिँ हतपत पढ्दिनँ । पढ्न मन लागेका किताब पाएसम्म आफैँले लगानी गरेर किन्छु । आफूले पढ्ने किताबमा आफैँले लगानी गर्नुपर्छ भन्ने मेरो मान्यता छ । खर्च कति हुन्छ भन्ने हिसाबकिताब छैन । चाहिएका किताब पढ्न अहिलेको नेपाली बजारमा गाह्रो छैन ।
जे भन्नका लागि लेखिएको हो, त्यो भनिएको छ भने जुनसुकै किताब पनि मन पर्छ । भन्न खोजेको कुरा एकथोक छ, लर्बर गरेर अर्थोकै भनेका किताब र लेख्दा ढंग नपुगेका किताब मलाई मात्र होइन कसैलाई मनपर्दैन ।
- आख्यान र गैरआख्यानमध्ये कुन विधाका पुस्तक बढी पढ्न रुचाउनुहुन्छ, किन ?
काव्य, आख्यान, गैरआख्यान— सबै विधाका राम्रा किताब भए पढ्छु । यही भन्ने मेरो रोजाइ छैन ।
- नेपाली लेखकका कम्तीमा पाँचवटा कृति सम्झनुपर्दा कुन कुन कृतिलाई सम्झनुहुन्छ ? यी किताबमा त्यस्तो के छ, जसकारण तपाईंंलाई मनपर्यो ?
पाँचवटै रोज्ने भन्ने केही छैन । थुप्रै किताब छन् मलाई मन परेका । जे भन्नका लागि लेखिएको हो, त्यो भनिएको छ भने जुनसुकै किताब पनि मन पर्छ । भन्न खोजेको कुरा एकथोक छ, लर्बर गरेर अर्थोकै भनेका किताब र लेख्दा ढंग नपुगेका किताब मलाई मात्र होइन कसैलाई मनपर्दैन ।
- विदेशी लेखकका कम्तीमा पाँचवटा कृति सम्झनुपर्दा कुन कुनलाई सम्झनुहुन्छ, किन ?
मलाई खासखास यो मनपर्छ, यो मनपर्दैन भन्ने खालको रुचि नै छैन । नेपाली किताबको हकमा माथि भनेजस्तै हो, विदेशी लेखकका किताबको हकमा पनि त्यही हो । म यकिन ढंगले भन्नै सक्तिनँ ।
- जीवनमा तपाईंले कुनै पुस्तक चोर्नुभएको छ कि ! तपाईंको जिन्दगीमा पुस्तक हराएका वा चोरी भएका छन् ?
मेरो निम्ति यो प्रश्न गलत लाग्यो । तथापि जवाफ दिन्छु । चोर्ने भन्ने कुरा मेरो जीवनमा लागु हुँदैन । मेरो स्टाटस चोरेको त मलाई मन पर्दैन । गफगाफमा राम्रा वाक्य बोलेकी छु र कसैले लेख्यो भनेँ पनि म आपत्ति जनाउँछु । किताब चोर्ने भन्ने कुरा त म कल्पनै गर्दिनँ । किताब चोर्ने मान्छेले अरु के बाँकी राख्छ ! व्यावसायिक चोरले त सबैथोक चो¥यो भने पनि किताब चोर्दैन । चोरसँग त किताब नचोर्ने धर्म हुन्छ । म किताबमा जीवन देख्न प्रयत्नरत छु, कसरी चोर्ने कल्पना गरुँ !
थुप्रै किताब हराए । चोरेको त कसरी थाहा पाउनु र ! मेरा किताब लगेर फिर्ता नगर्नेहरू चैँ छन् । त्यस्ता संगत गर्न लायक होइनन् भनेर पन्छिन्छु । कुरै खत्तम !
- आफूले खोजेको तर नभेटेको वा मुस्किलले भेटेको कुनै किताब थियो कि ? थियो भने कसरी प्राप्त गर्नुभयो ?
यत्रो प्रविधिको पहुँच छ । मेरो दायरा अनुसार नपाइने र नभेटिने पुस्तक केही छैन । बरु किनेर राखेका तर पढ्न बाँकी रहेका किबात चैँ छन् ।
- यहाँले पहिलोपटक पढेको ठुलो आकारको पुस्तक कुन हो ? त्यसबाट के पाउनुभयो ?
खासै याद छैन । महाभारत चैँ सबैभन्दा ठुलो पुस्तक हो भन्ने थाहा छ । महाभारतका केही कथा कोट्ट्याउन सक्छु । मैले जति जानेकी छु, त्यति कथा चैँ मजा लाग्छ ।
- तपाईंको सोचलाई नै बदल्न सफल कुनै पुस्तक छन् कि ?
सोच भन्ने कुरा रातारात बदल्ने भन्ने हुँदैन । पढ्दै जाँदा पुस्तकले मान्छेको सोच बदल्छ भन्ने विश्वास चाहिँ छ । त्यसरी सोच बदल्न थुप्रै पुस्तकले भूमिका खेलेका हुन्छन् ।
- यहाँलाई कुन कुराले लेख्नलाई बढी प्रेरित गर्छ ?
मैले भोगेको, देखेको र जानेको कुराले नै लेख्न प्रेरित गर्छ ।
- नेपालको पठन संस्कृति कस्तो पाउनुहुन्छ ? आजका पाठकलाई के सुझाव दिन चाहनुहुन्छ ?
पठन संस्कृति बिग्रियो, अहिलेका पुस्ताले पढ्दैनन् भनेर अग्रजहरू आरोप लगाउँछन् । यो आरोपप्रति मेरो ठुलो आपत्ति छ । नयाँ पुस्तालाई सुहाउँदो हामीले लेख्न सकेनौँ भनेर आफ्नो कमजोर छोप्न सिंगो पुस्तालाई अग्रजले लगाएको आरोप हो । पाठकका तर्फबाट पठन संस्कृति राम्रो छ । धेरै लेखकले पाठकको रुचि अनुसारका पुस्तक लेख्न बाँकी छ ।
बरु पठन संस्कृति बिगार्न अग्रज लेखक (सबै होइन)को चैँ हात छ कि भन्ने लाग्छ । किनकि अग्रजहरूले नयाँ पुस्ताका लेखकका कृति कम पढ्छन् कि भन्ने शंका लाग्छ । कार्यक्रममा हिँडिरहने साहित्यकार हुँ भनिरहनेहरू चैँ एकदमै कम पढ्छन् । लेखक, साहित्यकारले चैँ पठन संस्कृति बिगारेका छन् । पाठकहरू त पढिरहेका छन् ।
मभन्दा पछिल्लो पुस्ता हामीभन्दा धेरै कुरामा जान्ने, सुझबुझ भएका र अब्बल छन् । अघिल्लो पुस्तालाई म सुझाव दिन सक्तिनँ, पछिल्लो पुस्ता मभन्दा जान्नेछन् ।
- भर्खरै यहाँको पछिल्लो कृति ‘महायुग’ पाठकसामु आएको छ । यस पुस्तकका बारेमा केही बताइदिनुहुन्थ्यो कि !
मैले भन्नुपर्ने कुरा महायुग कृतिमा भनिसकेकी छु । इमानदारपूर्वक लेखकका तर्फबाट गर्नुपर्ने मिहिनेत गरेकी छु । पुस्तक पढिदिनुस् । पढिसकेर राम्रा–नराम्रा कुरा औँल्याइदिनुभयो भने आगामी दिनमा थप लेख्न हौसला मिल्ने नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण