तलब नपाएपछि सप्तरीको खडक नगरपालिकाका शिक्षकद्वारा तालाबन्दी
सारांश
- सप्तरीको खडक नगरपालिकाका शिक्षकहरूले चार महिनादेखि तलब नपाएको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्।
- शिक्षकहरूले दसैँको मुखमा तलब नपाउँदा आर्थिक संकट परेको र 'भोकै पेटले पढाउन नसकिने' गुनासो गर्दै आन्दोलन गरेका हुन्।
- नगरप्रमुखको असहयोगका कारण तलब वितरण रोकिएको आरोप लगाउँदै शिक्षकहरूले तत्काल तलब उपलब्ध गराउन माग गरेका छन्, नभए थप आन्दोलन गर्ने चेतावनी दिएका छन्।
सप्तरी । चार महिनादेखि तलब नपाएको गुनासो गर्दै सप्तरीको खडक नगरपालिकाका शिक्षकहरूले बिहीबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । लामो समयदेखि तलब रोकिँदा दसैँजस्तो ठुला पर्वको मुखमा आर्थिक सङ्कटमा परेका उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
खडक नगरपालिका–स्थित कल्याणपुरको नगर कार्यपालिकाको कार्यालयमा तालाबन्दी गर्दै शिक्षकहरूले “भोकै पेटले पढाउन सकिँदैन” भन्दै आफ्नो पीडा सार्वजनिक गरेका छन् । चार महिनासम्मको तलब नपाउँदा घरखर्च, चाडपर्व र पारिवारिक जिम्मेवारी सबै प्रभावित भएको उनीहरूको गुनासो छ ।
शिक्षक कुलानन्द साहका अनुसार कार्यपालिकाले दसैँअघि नै शिक्षक र कर्मचारीलाई तलब उपलब्ध गराउने निर्णय गरेको थियो । “असोज ७ गते जिल्ला प्रशासन कार्यालयलाई समेत लिखित रूपमा जानकारी गराइएको थियो,” उनले भने, “तर त्यसपछि पनि कुनै सुनुवाइ नभएपछि अन्ततः तालाबन्दी गर्नु परेको हो ।”
शिक्षक शैलेन्द्र कुमार चौधरीले भने, “चार–चार महिनासम्म भोको पेटले काम गरिरहेका थियौँ। अब बाध्य भएर आन्दोलनमा उत्रनु परेको छ। शिक्षाजस्तो संवेदनशील क्षेत्रलाई यति बेवास्ता गर्न मिल्दैन ।”
तालाबन्दीका क्रममा जारी गरिएको प्रेस विज्ञप्तिमा धर्मराज सिंहसहित १५ जना शिक्षकको हस्ताक्षर रहेको छ । उनीहरूले तत्काल तलब उपलब्ध गराइने व्यवस्था नभए थप आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
यसैबिच, खडक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुले तलब वितरण रोकिनुमा नगरप्रमुखको असहयोग मुख्य कारण भएको आरोप लगाएका छन् । “असारमै नगरसभा सम्पन्न भइसकेको थियो, कार्यपालिकाले निर्णय पनि गरिसकेको हो,” सोनुले भने, “तर नगरप्रमुख जयप्रकाश चौधरीले आवश्यक हस्ताक्षर र अख्तियारी नदिएकाले तलब वितरण प्रक्रिया अघि बढ्न सकेको छैन ।”
उनका अनुसार, असोज २ गते पुनः कार्यपालिकाले शिक्षक तथा कर्मचारीको तलब भुक्तानी गर्ने निर्णय गरे पनि नगरप्रमुखले दस्तखत नगरेपछि प्रक्रिया अड्किएको हो ।
शिक्षकहरूको आन्दोलनसँगै खडक नगरपालिकाभित्रका विद्यालयहरूमा पठनपाठन पूर्णरूपमा ठप्प भएका छन् । विद्यार्थीको पढाइमा प्रत्यक्ष असर पर्न थालेको भन्दै अभिभावकहरू पनि चिन्तित बनेका छन् । उनीहरूले तत्काल समस्या समाधान गरी विद्यालय सञ्चालनमा फर्काउन स्थानीय प्रशासन र जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्क साम्पाङले महावीरलाई गराए सचेत
-
हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह
-
आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो
-
महावीर पुनले भने : नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण