शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

एमाले सचिवालय बैठकमा मागियाे केपी ओलीको राजीनामा

शुक्रबार, २४ असोज २०८२, २० : ५८
शुक्रबार, २४ असोज २०८२

सारांश

  • नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरिएको छ।
  • वरिष्ठ नेताहरूले ओलीले मार्ग प्रशस्त गर्नुपर्ने र पार्टी पुनर्गठन गर्नुपर्ने धारणा राखेका थिए।
  • बैठकमा प्रतिनिधि सभा पुनर्स्थापना र चुनावबारे नेताहरूबीच भिन्न मत देखिएको थियो।

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरिएको छ ।

शुक्रबार बसेको सचिवालय बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र पार्टी पुनर्गठनका सवालमा धारणा राख्ने ९ नेतामध्ये सात जना नेताहरूले अध्यक्ष ओलीले मार्ग प्रशस्त गर्न राजीनामा दिनुपर्ने धारणा राखेका हुन् ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली,अष्टलक्ष्मी शाक्य,विष्णु पौडेल, सुरेन्द्र पाण्डे, र रामबहादुर थापाले ओलीले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका हुन् । उनीहरुले अहिले नै वा चाँडो महाधिवेशन गरेर ओलीले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका हुन् ।

बैठकमा उपाध्यक्ष गुरु बराल र महासचिव शंकर पोखरेलले भने सङ्कटको बेला मिलेर जानुपर्ने धारणा राखेका छन् ।

छलफलमा नेताहरूले भदौ २३ र २४ गते त्यति ठुलो घटना हुँदा पनि प्रधानमन्त्री र सरकारले कसरी थाहा पाउन सकेन भनेर प्रश्न गरेका थिए । 

त्यस क्रममा उनीहरुले २ दिने आन्दोलनको समग्र आत्मसमीक्षा गर्नुपर्ने र पार्टीलाई रूपान्तरण गर्नुपर्ने नेताहरूको भनाइ थियो । 

एक सचिवालय सदस्यका अनुसार बैठकमा अध्यक्ष ओलीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भनेर धारण राख्नेमा उपाध्यक्षहरू शाक्य, ज्ञवाली र पाण्डे रहेका थिए भने, पौडेलले पर्नुगठनको शब्द प्रयोग गरेका थिए । 

अर्का उपाध्यक्ष थापाले पार्टीलाई नवीकृत गर्नुपर्ने बताएका थिए । गुरु बराल र महासचिव शंकर पोखरेलले सङ्कटका बेला मिलेर जानुपर्ने धारणा राखेका थिए ।

बैठकमा अध्यक्ष ओलीले प्रतिनिधि सभा पुनर्स्थापनामा जानुपर्ने धारणा राखेका थिए । त्यसमा पनि अधिकांश नेताहरूले चुनावलाई स्विकार्नुपर्ने भन्दै प्रतिवाद गरेका थिए ।

‘प्रतिनिधि सभा विघटनको विरोध गर्न सकिएला तर त्यसो भन्दैमा चुनावको विरोध गर्न मिल्दैन’, बैठकमा धारणा राख्ने अधिकांश नेताको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘बादलले समेत अब चुनावलाई लक्ष्य बनाएर जानुपर्ने बताउनुभयो ।'

बाँकी उपमहासचिव र सचिवहरूले शनिबारको बैठकमा धारणा राखेपछि बैठक सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप