बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
एमाले सचिवालय बैठक

जेनजी पुस्तालाई एमालेको आग्रह : इतिहासलाई इन्कार गर्ने बाटोमा नजानुहोला

‘पार्टीभित्र उठेको सबै प्रश्नको जवाफ महाधिवेशनबाट’
शुक्रबार, २४ असोज २०८२, १९ : १८
शुक्रबार, २४ असोज २०८२

सारांश

  • एमालेले युवा पुस्ताको भविष्य इतिहासलाई सुरक्षित गरेर मात्रै सुनिश्चित हुने जनाएको छ।
  • एमालेले जेनजी पुस्तालाई इतिहासलाई इन्कार नगर्न र भदौ २४ गतेको हिंसाबाट अलग रहन आग्रह गरेको छ।
  • एमालेले सरकार निर्वाचन गराउनेभन्दा पनि मुलुकलाई तिक्ततातिर लैजान खोजेको आरोप लगाएको छ।

काठमाडौँ । एमालेले नवयुवा पुस्ताको भविष्य इतिहासलाई सुरक्षित गरेर मात्रै हुने र दलहरूलाई निषेध गरेर भविष्य सुनिश्चित हुन नसक्ने जनाएको छ ।

शुक्रबार बसेको सचिवालय बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जेनजी पुस्ता इतिहासलाई इन्कार गर्ने बाटोमा जानु नहुने बताए । 

‘एमाले जेनजी पुस्ताका कुरा सुन्न तयार छ । तपाईँहरूको आवाजले हामीलाई पनि कमीकमजोरी सच्चाउन अनुकूल वातावरण बनाएको छ’, ज्ञवालीले भने, ‘तर इतिहासलाई इन्कार गर्ने बाटोमा नजानुहोला । त्यो पार लाग्ने बाटो होइन र कहीँ पुर्‍याउँदैन ।’ उनले जेनजी पुस्ताले भदौ २४ गतेको हिंसाबाट पृथक राख्न जरुरी रहेको पनि बताए ।

यसैबिच सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार निर्वाचन गराउने भन्दा पनि मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मूठभेडतिर लैजान उद्यत भएको आरोप लगाएको छ ।

नेता ज्ञवालीले भने, ‘प्रहरीलाई कुटीकुटी हत्या गर्ने एकातिर र हतियार लुट्नेलाई सजिलै छाडिदिने र अर्कोतिर शान्तिपूर्ण प्रदर्शन गर्ने दलहरूलाई रोक्ने, नेताहरूलाई स्थान हद तोक्ने कुराले वर्तमान सरकार निर्वाचन गराउने बाटोमा नभई मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेडतिर लैजान उद्धत छ ।’ वर्तमान सरकारले गरेका क्रियाकलापबारे पार्टीमा गम्भीर समीक्षा भएको ज्ञवालीको भनाइ छ ।

जेनजी आन्दोलनको गहिरो छानबिन हुनुपर्ने पनि एमालेको भनाइ छ । भदौ २४ गते जे भयो, त्यो लोकतन्त्र, इतिहासप्रतिकै ठुलो आक्रमण भएको एमालेको ठहर छ । ‘यसको गम्भीरताका साथ छानबिन अघि बढ्नुपर्छ, दोषीहरूलाई कारबाही गर्नुपर्छ भन्ने सबैको मत रहेको छ’ ज्ञवालीको भनाइ छ । त्यस्तै एमालेले सरकारकै तर्फबाट हिंसाको भाषा बोलिएकोमा आपत्ति जनाएको छ ।

‘सरकारले जे क्रियाकलाप गर्दै छ । यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । मुलुकलाई विभाजित भएको मनस्थितिलाई जोडेर राष्ट्रिय एकता कायम गर्नुपर्ने थियो तर, सरकार साथ लिने होइन निषेधको बाटोबाट अघि बढेको छ । हामीले यो सरकार बनायौँ भन्नेहरू हिंसाको भाषा बोलिरहनुभएको छ, बौद्धिक आक्रमणका धम्की छन्’, एमालेले भनेको छ ।

एमालेले अहिले उठेका सबै प्रश्नको जवाफ महाधिवेशनबाट खोज्ने जनाएको छ ।एमालेले राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएर अभिभावकीय भूमिका खेलेकोमा धन्यवाद पनि दिएको छ ।

उसले सरकारले सर्वदलीय बैठक आह्वान गर्नुपर्नेमा त्यसो नगरिएको जनाएको छ । भयरहित र निष्पक्ष निर्वाचन हुँदा लोकतान्त्रिक पार्टी पछि नहट्ने पनि एमालेको भनाइ छ । 

एमालेले कांग्रेसलगायतका दलसँग संवादमै रहेको भन्दै लोकतन्त्र पक्षधर शक्तिलाई साथ लिएर अघि बढ्ने बताएको छ । सचिवालय बैठक शनिबार पुन बस्ने र निर्वाचन स्विकार्ने वा संसद् पुनर्स्थापनामा जाने भन्ने ठोस निर्णय गर्ने नेता ज्ञवालीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप