शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
उद्यम

अचार बेचेरै लाखौँको कारोबार गर्दै दम्पती

सोमबार, २७ असोज २०८२, ०७ : ०३
सोमबार, २७ असोज २०८२

सारांश

  • धनगढी उपमहानगरपालिकाकी शान्ति गिरीले श्रीमानको साथमा फलफूल खेती र अचार उद्योग सुरु गरिन्।
  • शुरुमा विदेश पठाउने सोच भए पनि, श्रीमानको मिहिनेत र लगनशीलताले उनलाई उद्यमी बन्न प्रेरित गर्यो।
  • उनीहरुले अचार बेच्न थालेपछि राम्रो आम्दानी गर्न थाले, र अहिले उनीहरुको मासिक आम्दानी लाखौंमा छ।

धनगढी । ११ वर्षअघि धनगढी उपमहानगरपालिका–९, बंग्रा कटानकी शान्ति गिरीका लागि श्रीमानलाई विदेश पठाउनु नै परिवारको आर्थिक उन्नतिका लागि एकमात्र विकल्प थियो ।

श्रीमान्–श्रीमती दुवै बेरोजगार, नगद कमाइको कुनै बाटो थिएन । भएको भौतिक सम्पत्ति र खेतीपातीले परिवार पाल्न जेनतेन धानेको थियो । पैसाको अभाव सधैँ खट्किरहन्थ्यो । ‘हलो जोतेर उन्नति हुँदैन, पैसा कमाउन विदेश नै जानुपर्छ,’ शान्ति त्यतिवेला यस्तै सोच्थिन् ।

तर, उनका श्रीमान् रामचन्द्र गिरीको सोच फरक थियो । उनी पैसा कमाउन विदेश नै धाउनुपर्छ भन्ने पक्षमा थिएनन् । यहीँको माटोमा पसिना बगाएर सुन फलाउन सकिन्छ भन्नेमा उनी विश्वस्त थिए । यही विचारको मतभेदले कहिलेकाहीँ दम्पतीबिच ठाकठुक पनि हुन्थ्यो ।

एक दिन रामचन्द्रले शान्तिलाई भने, ‘तिमी ढुक्कले साथ देऊ, म आफ्नै ठाउँमा काम गरेर देखाउँछु । पैसा यहीँ हुन्छ ।’

श्रीमानको यही अठोटले शान्तिको जीवनमा नयाँ मोड ल्याइदियो ।

रामचन्द्रले आफ्नै साढे एक बिघा जमिनमा व्यावसायिक फलफूल खेतीको योजना बनाए । त्यसमध्ये १४ कट्ठामा आँप, कागती, लिची, कटहरलगायतका फलफूलका बिरुवा रोपे । १५ हजार रुपैयाँको लगानीबाट सुरु भएको यो यात्राले आज उनीहरूलाई सफल उद्यमीको पहिचान दिएको छ ।

‘आफ्नै बगैँचामा फलेको कागतीको अचार बनाएकी छु, मेरो हातको अचार खाइदिनुहोस्,’ उनी घर–घर पुगेर आग्रह गर्थिन् ।

सुरुमा अरुचि भए पनि श्रीमानको लगनशीलता देखेर शान्ति पनि सहमत भइन् । दुवै जना मिलेर बगैँचाको हेरचाहमा जुटे । बिरुवा हुर्कँदै गयो, बगैँचा लोभलाग्दो देखिन थाल्यो । दुई वर्षपछि उनीहरूले कृषि फर्म नै दर्ता गराए । रोपेको तीन वर्षमै कागतीले फल दिन थाल्यो । बजारमा कागती बेचेर थोरै भए पनि आम्दानी हुन थालेपछि शान्तिको विदेश मोह भङ्ग भयो ।

‘श्रीमानको विश्वास र लगनशीलताले मलाई पनि उत्प्रेरित गर्‍यो । कागती बेचेर पैसा आउन थालेपछि हामी निकै खुसी भयौँ,’ शान्तिले भनिन् ।

achar

बगैँचा लगाएको चार वर्षपछि उनीहरूले उत्पादित फलफूलबाट अचार बनाएर बेच्ने जुक्ति निकाले । शान्तिले ‘व्यावसायिक सीप तालिम केन्द्र’बाट अचार बनाउने छ महिनाको तालिम लिइन् र सानो लगानीमा अचार उत्पादन थालिन् । सुरुमा परीक्षणका लागि थोरै अचार बनाएर गाउँघरमै उनले देखाइन् ।

‘आफ्नै बगैँचामा फलेको कागतीको अचार बनाएकी छु, मेरो हातको अचार खाइदिनुहोस्,’ उनी घर–घर पुगेर आग्रह गर्थिन् ।

उनको यो परीक्षण सफल भयो । अचारको स्वाद सबैले मन पराए । माग बढ्दै गएपछि उनले उत्पादन पनि बढाइन् । पाँच वर्षमा बगैँचाका आँप, लिची र कटहरले पनि फल दिन थाले । यसपछि उनले कागतीका साथै आँप, लिची र लसुनको अचार पनि बनाउन थालिन् ।

गाउँघरबाट सुरु भएको उनको बजार यात्रा साप्ताहिक हाटबजारसम्म फैलियो । सुरुमा ‘यत्तिको घरानाको मान्छेले हाटबजारमा बोरा ओछ्याएर बस्नुहुँदैन’ भनेर कुरा काट्नेहरू पनि थिए, तर उनले कसैको कुरा सुनिनन् ।

पहिलो पटक एउटा बट्टा पनि बिकेन तर उनले हार मानिनन् । दोस्रो पटक एउटा, तेस्रो पटक तीन वटा हुँदै केही दिनपछि उनले दैनिक १०/१५ बट्टा अचार बेच्न थालिन् । लगातार दुई वर्षसम्म उनले यसैगरी हाटबजारमा अचार बेचिन् ।

555087580_1148239547412868_8308443330727879588_n

त्यसपछि श्रीमान्–श्रीमतीले मिलेर घरेलु तथा साना उद्योग कार्यालयमा ‘आनन्दी अचार उद्योग’ दर्ता गराए । आज उनीहरू महिनामा क्विन्टलका हिसाबले अचार बिक्री गर्छन् । धनगढीमा आफ्नै पसल छ, तर विभिन्न मेला–महोत्सवमा भने शान्ति आफैँ स्टल राख्न पुग्छिन् ।

व्यवसाय राम्रो भए पनि चुनौती उत्तिकै रहेको उनी बताउँछिन् । भारतीय सस्तो अचारसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको उनको अनुभव छ ।

अहिले उनीहरूको बगैँचामा आँपका १५, लिचीका ६०, करौँदाका २०, कागतीका सय र कटहरका ६ बोट फल दिने अवस्थामा छन् । उद्योगमा हाल कागती, लप्सी, अकबरे खुर्सानी, मुला, आँप, अमला, तामा लगायत नौ किसिमका अचार बन्छन् । आफ्नो बगैँचामा नफल्ने लप्सी, लसुन, अमलाजस्ता कच्चा पदार्थ शान्तिले सुदूरपश्चिमका पहाडी जिल्लाबाट मगाउँछिन् ।

‘अहिले हाम्रो उत्पादन धनगढी, अत्तरिया र महेन्द्रनगरमा खपत हुन्छ,’ शान्तिले भनिन्, ‘नेपालगञ्जसम्म पनि माग भइरहेको छ । महेन्द्रनगरमा त हप्तामा दुई–तीन दिन जानैपर्छ ।’

व्यवसाय राम्रो भए पनि चुनौती उत्तिकै रहेको उनी बताउँछिन् । भारतीय सस्तो अचारसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको उनको अनुभव छ । ‘भारतीय अचारमा अप्राकृतिक रङ र रसायन प्रयोग हुने भएकाले सस्तो हुन्छ । उपभोक्ताले हाम्रो उत्पादन महँगो भयो भन्नुहुन्छ,’ उनले भनिन्, ‘हामीले स्थानीय र अर्ग्यानिक सामग्री प्रयोग गर्छौँ, त्यसैले केही महँगो पर्न जान्छ ।’

achar 2

शान्तिको मिक्स अचार प्रतिकिलो तीन सय र अकबरे खुर्सानीको सात सय रुपैयाँ पर्छ । पछिल्लो समय देशमा युवाहरू बिदेसिने क्रम बढेकाले व्यापारमा केही धक्का महसुस भएको उनी बताउँछिन् । ‘देशमा खाने मान्छे नै कम भए, तर विदेश गएकाहरूले यहीँको स्वाद खोज्दै अचार मगाइराख्नु हुन्छ,’ उनले थपिन् ।

१५–२० हजारबाट सुरु भएको व्यवसायमा अहिले ५०–६० लाखभन्दा बढी लगानी भइसकेको छ । मासिक आम्दानी एक लाखभन्दा बढी छ । कुनै वेला बेरोजगार यो दम्पतीले आज अरूलाई पनि रोजगारी दिएको छ । अचार उद्योगमा दुई जना र बगैँचामा दुई जना गरी चार जनाले स्थायी रोजगारी पाएका छन् । सिजनको वेला उनीहरूले दैनिक २५ जनासम्मलाई काममा खटाउँछन् ।

शान्ति अचार व्यवसाय सम्हाल्छिन् भने रामचन्द्र बगैँचाको काममा व्यस्त हुन्छन् । उनी बगैँचामा कलमी गर्ने, सिँचाइ, मलखाद व्यवस्थापन र रोगकिरा नियन्त्रणमा खटिन्छन् । उनी जिल्ला कृषि ज्ञान केन्द्रको अनुदानमा सानो ग्रीन हाउस बनाएर केही फलफूलका कलमी बिरुवा उत्पादन गरेर बेच्ने पनि गर्छन् ।

‘बगैँचामा विभिन्न जातका फलफूलका बोट छन् । बर्खाको समयमा कलमी बिरुवा लिन मानिसहरू यहीँ आउँछन्,’ शान्तिले भनिन् । उनीहरूको योजना बगैँचासँगै रिसोर्ट पनि सञ्चालन गर्ने छ, जहाँ अर्ग्यानिक उत्पादनको स्वाद चखाइनेछ ।

३३ वर्षको उमेरमा उद्यमी बनेकी शान्तिलाई अब विदेश जानुपर्छ भन्ने लाग्दैन । श्रीमान्–श्रीमतीको आपसी सहयोग र विश्वास नै आफ्नो सफलताको सूत्र भएको उनी मान्छिन् । ‘हामी एकअर्कालाई सहयोग गर्छौँ, उहाँले मलाई अचारमा र मैले उहाँलाई बगैँचामा । बाहिरबाट खासै कुनै सपोर्ट छैन,’ उनी भन्छिन् ।

विदेश जानुपर्छ र पर्दैन भन्ने बहसले नै आफूहरूलाई स्वदेशमा व्यवसायी बनाएकोमा उनी गर्व गर्छिन् । ‘श्रीमानले बगैँचा बनाउनुभयो, मैले अचार बनाएँ । हामीले कमाइको बाटोमात्र भेटेनौँ, अरूलाई पनि रोजगारी दियौँ,’ उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप