शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

भोटर आईडी कार्ड विवादमा अभिनेता प्रकाश राजलाई अदालतबाट राहत

शनिबार, २७ असार २०८३, १३ : ०४
शनिबार, २७ असार २०८३

सारांश

  • अभिनेता प्रकाश राजलाई एकभन्दा बढी भोटर आईडी कार्ड राखेको मामलामा अदालतबाट राहत मिलेको छ।
  • बेंगलोरको ४८औँ एसीजेएम अदालतले अभिनेता प्रकाश राजलाई ४ हजार रुपैयाँ नगद जमानत राशि जम्मा गर्ने शर्तमा जमानत दिएको हो।
  • यसअघि अदालतले प्रकाश राजविरुद्ध गैर-जमानती वारेन्ट जारी गरेको थियो, जुन शुक्रबार पुरानो वारेन्ट रद्द गरेसँगै खारेज भएको छ।

हैदराबाद । चर्चित अभिनेता प्रकाश राजलाई एकभन्दा बढी भोटर आईडी कार्ड राखेको मामलामा अदालतबाट राहत मिलेको छ। अभिनेतामाथि एउटा वा दुईटा मात्र नभएर चारवटा भोटर आईडी कार्ड राखेको आरोप लागेको थियो। 

यसै सिलसिलामा बेंगलोरको ४८औँ एसीजेएम अदालतले शुक्रबार उनलाई जमानत दिएको हो। अदालतले जमानतका लागि एउटा शर्त राख्दै अभिनेतालाई ४ हजार रुपैयाँ नगद जमानत राशि जम्मा गर्न आदेश दिएको छ।

यसअघि अदालतले उनको विरुद्धमा गैर-जमानती वारेन्ट जारी गरिदिएको थियो। वारेन्ट जारी भए लगतै उनका वकिलले अदालतमा उक्त वारेन्ट फिर्ता लिनका लागि निवेदन दिएका थिए। प्रकाश राज शुक्रबार आफैँ अदालतमा उपस्थित भएपछि न्यायाधीशले पुरानो वारेन्ट रद्द गरिदिए। जमानतको शर्त पुरा गरेपछि उनले बेल पाएका हुन्।

सामाजिक तथा राजनीतिक मुद्दाहरूमा आफ्नो खुला विचार राख्ने प्रकाश राजको विवादहरूसँग पुरानो सम्बन्ध रहँदै आएको छ। उनी एक अब्बल अभिनेता, निर्देशक, निर्माता र टिभी होस्ट हुन्। उनले विभिन्न भाषाहरूका फिल्ममा अभिनय गरेका छन्। रंगमञ्चबाट अभिनय यात्रा सुरु गरेर टिभीमा काम गरेका उनले सन् १९९४ को तमिल फिल्म ‘डुएट’ बाट वास्तविक पहिचान पाएका थिए। 

यो फिल्म उनको हृदयको नजिक रहेकाले उनले आफ्नो प्रोडक्सन कम्पनीको नाम नै ‘डुएट मुभिज’ राखेका थिए। उनी फिल्म क्षेत्रमा आफ्नो उत्कृष्ट अभिनयका कारण ५ पटक नेशनल अवार्ड जित्न सफल भइसकेका छन्।

सुरुवाती दिनमा खलनायकको भूमिकाबाट पहिचान बनाएका प्रकाश राज अचेल उत्कृष्ट क्यारेक्टर रोलहरूमा छाउने गर्छन्। मणिरत्नमको ‘इरुवर’ र प्रियदर्शनको ‘काञ्चीवरम’ का लागि उनले नेशनल अवार्ड पाएका थिए। 

उनले निर्माताका रूपमा पनि आफ्नो बलियो उपस्थिति देखाएका छन्। कन्नड फिल्म ‘पुत्तक्कना हाइवे’ का लागि पनि उनले नेशनल अवार्ड जितेका थिए। उनले चर्चित टिभी शो ‘नीङ्गलुम वेल्लालम ओरु कोडी’ (केबीसीको तमिल भर्सन) होस्ट गरिसकेका छन्। 

प्रशंसकहरूले उनलाई आगामी दिनमा ‘दृश्यम ३’, ‘वाराणसी’, एक्सन ड्रामा ‘स्पिरिट’ र ‘गोलमाल ५’ मा देख्न पाउनेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप