शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

अमेरिकामा सार्क फाइनान्स गभर्नर ग्रुपको बैठक, नेतृत्व भुटानको केन्द्रीय बैंकलाई

बुधबार, २९ असोज २०८२, १७ : २६
बुधबार, २९ असोज २०८२

काठमाडौँ । अमेरिकाको वासिङ्टनमा ४८ औँ सार्क फाइनान्स गभर्नर ग्रुप बैठक सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसहित दक्षिण एसियाली देशका केन्द्रीय बैंकका गभर्नर, डेपुटी गभर्नर अर्थ मन्त्रालयका अधिकारी र अन्य प्रतिनिधिको सहभागिता समेत सहभागी थिए ।

वासिङ्गटन डीसीमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका दौरान उक्त बैठक आयोजना गरिएको हो । बङ्गलादेश बैंकका गभर्नर डा. असान एच. मन्सुरको अध्यक्षतामा आयोजित उक्त बैठक आयोजना भएको थियो ।

बैठकलाई सम्बोधन गर्दै गभर्नर पौडेलले नेपालको वर्तमान आर्थिक स्थितिको विश्लेषण गर्दै मुद्रास्फीति र बाह्य क्षेत्रका सूचकहरू सहज अवस्थामा रहेको बताए ।

तथापि हालै विकसित राजनीतिक परिस्थितिका कारण वित्तीय सन्तुलन र दिगो आर्थिक वृद्धिका प्रयासमा चुनौती थपिएको धारणा उनले राखे ।

उक्त चुनौतीलाई सम्बोधन गर्दै अर्थतन्त्रको पुनरुत्थान र गतिशीलताको निम्ति नीतिगत सहजीकरणको प्रयास थालिएको जानकारी गभर्नर पौडेल दिए । 

सो अवसरमा सहभागी केन्द्रीय बैंकका तर्फबाट आ–आफ्नो देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे प्रस्तुति दिइएको थियो । 

बैठकमा सार्क पेमेन्ट काउन्सिलको प्रभावकारिता, सार्क क्षेत्रमा वित्तीय समावेशीकरण, सार्क मुलुकबिच ’करेन्सी स्वाप’को सम्भावना, साझा अनुसन्धान र तथ्याङ्क प्रणाली, सार्क छात्रवृत्ति र आगामी कार्यदिशाका विषयमा सहभागीहरूबिच छलफल भएको थियो । 

कार्यक्रममा सहभागी केन्द्रीय बैंकका गभर्नरहरूबाट सार्क सदस्य राष्ट्र बिच आगामी दिनमा आर्थिक तथा वित्तीय क्षेत्रका समसामयिक विषयमा समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा जोड दिइएको थियो ।

उक्त बैठकबाट सार्क फाइनान्सको अध्यक्षता भुटानको केन्द्रीय बैंक ’रोयल मनिटरी अथोरिटी’मा हस्तान्तरण भएको छ ।

बैठकमा आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. रामशरण खरेल र गभर्नरको कार्यालयका निर्देशक शरणकुमार अधिकारीको समेत सहभागिता थियो ।

सार्क राष्ट्रबिच समष्टिगत आर्थिक नीतिको विषयमा छलफल र पारस्परिक सहयोग आदान प्रदान गर्ने उद्देश्यका साथ सन् १९८८ मा उक्त संस्था स्थापना भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप