शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

न्युजिल्यान्ड र भारतबिच ‘रणनीतिक साझेदारी’ घोषणा

शनिबार, २७ असार २०८३, १५ : २९
शनिबार, २७ असार २०८३

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले रक्षा र सुरक्षासहित विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले शनिबार ‘रणनीतिक साझेदारी’ घोषणा गरेका छन् ।

न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई न्युजिल्यान्डको आदिवासी माओरी परम्पराअनुसार स्वागत गर्दै सम्मान गारद (गार्ड अफ अनर) प्रदान गरे । गत अप्रिलमा स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर भएपछि दुई देशबिचको सम्बन्ध विस्तारको प्रयास भइरहेका बेला लक्सनले उक्त सम्झौतालाई आर्थिक लाभको महत्वपूर्ण अवसरका रूपमा प्रस्तुत गरेका हुन् ।

जुलाई ६ देखि जुलाई ११ सम्मको मोदीको भ्रमण इन्डोनेसिया र अस्ट्रेलियाको यात्रासहितको कार्यक्रमको अन्तिम चरण हो । प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य गतिविधिबारे चिन्ता बढिरहेका बेला मोदीको न्युजिल्यान्ड भ्रमण भएको हो ।

चालिस वर्षपछि कुनै भारतीय प्रधानमन्त्रीले गरेको यो पहिलो न्युजिल्यान्ड भ्रमण हो । यसले प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावका बिच भारतको कूटनीतिक सक्रियतालाई पनि सङ्केत गरेको छ ।

अकल्यान्डस्थित गभर्नमेन्ट हाउसमा मोदीको स्वागत गर्दै प्रधानमन्त्री लक्सनले भारत–न्युजिल्यान्ड साझेदारीले सम्बन्धलाई नयाँ दिशा र व्यापकता प्रदान गर्ने बताए । मोदीले दुई देशबीचको सम्बन्धलाई ‘थप ऊर्जा र आत्मविश्वास प्रदान गर्ने महत्वपूर्ण कोशेढुङ्गा’ को सङ्ज्ञा दिए । उनले भने, “लोकतान्त्रिक मूल्यप्रतिको हाम्रो साझा प्रतिबद्धताले हामीलाई स्वाभाविक साझेदार बनाएको छ ।”

दुवै देशले जारी गरेको संयुक्त वक्तव्यमा रक्षा सहकार्य, नौसेना अभ्यास, व्यापार, कूटनीति, संस्कृति, खेलकुद र विज्ञान तथा प्रविधिका क्षेत्रमा सहकार्य विस्तार गर्ने उल्लेख गरिएको छ । दुवै नेताले “स्वतन्त्र, खुला, शान्तिपूर्ण र समृद्ध इन्डो–प्यासिफिक क्षेत्र” निर्माणमा साझा चासो रहेको बताएका छन् ।

व्यापार सम्झौतामाथि बहस

मोदीको भ्रमणका क्रममा अकल्यान्डस्थित स्पार्क एरेनामा भारतीय समुदायलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । न्युजिल्यान्डमा बसोबास गर्ने करिब तीन लाख भारतीय समुदायमध्ये हजारौँ सहभागी हुने अपेक्षा गरिएको छ ।

यसअघि अस्ट्रेलियाको मेलबर्नमा भएको कार्यक्रममा करिब ३० हजार भारतीय समुदायका मानिस सहभागी भएका थिए । नोभेम्बरमा हुने आमनिर्वाचनलाई लक्षित गर्दै प्रधानमन्त्री लक्सनले भारतसँगको स्वतन्त्र व्यापार सम्झौताबाट रोजगारी र आर्थिक लाभ हुने बताउँदै आएका छन् । तर, उक्त सम्झौताका केही प्रावधान, विशेषगरी भारतीय विद्यार्थी र कामदारका लागि आप्रवासन तथा भिसा सहज बनाउने विषयमा न्युजिल्यान्डभित्र आलोचना भइरहेको छ ।

लक्सन नेतृत्वको गठबन्धनमा रहेको ‘न्युजिल्यान्ड फस्र्ट’ पार्टीका केही सांसदले सम्झौताका प्रावधानप्रति असन्तुष्टि जनाएका छन् । सरकारीमन्त्री शेन जोन्सले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै सम्झौताबारे आफ्नो आपत्ति जनाएका थिए । उनको भनाइलाई लिएर भारतीय समुदायका केही नेताले जातीय विभेदपूर्ण टिप्पणी भएको आरोप लगाएका छन् ।

यसैबिच, न्युजिल्यान्डका विवादास्पद धार्मिक नेता ब्रायन तामाकीले मोदीको भ्रमणको विरोध गर्दै सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएका छन् । उनको टिप्पणीलाई न्युजिल्यान्डका जातीय सम्बन्ध आयुक्तले कडा आलोचना गर्दै ‘अत्यन्त आपत्तिजनक’ भनेका छन् ।

प्रधानमन्त्री लक्सनले भने मोदीको भ्रमणलाई दुई देशबिचको सम्बन्ध सुदृढ बनाउने अवसरका रूपमा प्रस्तुत गरेका छन् । “यो भ्रमण न्युजिल्यान्ड र भारतबिचको सफल साझेदारीको उत्सव हो, जसले दुवै देशका नागरिकका लागि समृद्धि र सुरक्षामा योगदान पुर्याउनेछ”, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप