बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेसमा कोरिएको ‘डेडलाइन मङ्सिर’

बिहीबार, ३० असोज २०८२, १० : ००
बिहीबार, ३० असोज २०८२

सारांश

  • देशको भविष्य अनिश्चित रहेको र नयाँ पुस्ताको विद्रोह अन्तिम बनाउनुपर्ने कुरामा जोड दिइएको छ।
  • नेपाली कांग्रेसको नेतृत्वमा पार्टी पुन: निर्माण आवश्यक रहेको र पार्टी सभापति शेरबहादुर देउवाको भूमिकाको प्रशंसा गरिएको छ।
  • पार्टीको आगामी महाधिवेशन मङ्सिरमै हुनुपर्ने र युवा पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने कुरा उल्लेख छ।

एउटा भयानक शून्यताबाट देश अलिकति तङ्ग्रिन थालेको छ । तथापि मिहिन त्रास अनि अन्योलका धर्साहरूले अहिले पनि देशको भविष्यलाई कताकता जेलिरहेको छ । यो अलमल, अन्योल र गञ्जागोल समयचक्रबाट हामी फेरि छिटै बाहिर निस्किनेछौँ, यो विश्वासलाई मर्न नदिऔँ किनकि हरेक संकटसँगै सम्भावनाका ढोकाहरू हामीले पटक–पटक खोलिसकेका छौँ ।

गत भदौ २३ र २४ गते नेपालमा जे भयो, त्यो आफैँमा एउटा अप्रत्याशित र आततायी घटना थियो । लोकतन्त्रलाई जब कसैले आफ्नो सिंहासन सम्झिन्छ, तब ऊ जनताभन्दा पनि माथि–माथि उड्न थाल्छ । जनताले नेतृत्वका लागि छानेका कतिपय नेताले आफूलाई शासक सम्झिन थाले । लोकतन्त्रले जन्माएको र त्यही लोकतन्त्रको आडमा आफूलाई राजनीतिको शीर्ष स्थानमा पुर्‍याएको व्यक्ति कहिलेकाहीँ ‘तानाशाह’ बन्न खोज्छ । अवचेतनका यस्तै तत्त्वहरूबाट विवेक बन्धक बनाएकाहरूले जब आफू र आफ्नो शासनलाई जनताभन्दा माथि राख्न थाल्छन् अनि इतिहासमा त्यस्ता भदौ २३ र २४ हरू दोहोरिइरहन्छन् । त्यसैले लोकतन्त्रमा विवेक प्रयोग सबैभन्दा ठुलो हतियार हो ।

समुन्नत, सुशासित राष्ट्र अनि बलियो राष्ट्रियता र आफ्नै उज्यालो भविष्यका बाटो खोजिरहेका नवपुस्ताले जुनप्रकारको बलिदान दिएको छ, त्यसलाई इतिहासले सधैँ सम्झिरहनेछ । त्यही बलिदान खेर जान नदिनु नै उनीहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुन्छ । अझ सच्चा सम्मानका लागि उनीहरूको भावनालाई अबका नेतृत्वले कहिल्यै नजरअन्दाज गर्नु हुँदैन । लोकतन्त्रमा हकअधिकारका लागि आवाज उठाउँदा जुनप्रकारको नरसंहार भएको छ, त्यसका भागीदारहरूले सजाय पाउनैपर्छ । नत्र इतिहासले उनीहरूलाई दण्डित त पक्कै गर्ने नै छ । लोकतन्त्र भनेको अराजकता पनि होइन, नवपुस्ताले इतिहासलाई अलिकति खोतलेर हेर्नैपर्छ । यही लोकतन्त्रका लागि हाम्रा पुर्खाले कति रगत बगाएका छन् । कति बलिदान दिएका छन्, जो त्यो बेला आजकै पुस्ता थियो । हामीले पटक–पटक अब अर्को पुस्ताले आन्दोलन गर्नै नपरोस् भनेर कैयौँ क्रान्ति, आन्दोलन र विद्रोह गरेका छौँ, र पनि पटक–पटक हरेक पुस्ताले विद्रोह गर्नै परिरहेको छ । अब रोकौँ, त्यसका लागि विवेकलाई बन्धक नराखौँ । नयाँ पुस्ताले जुन विद्रोह गरेको छ, त्यसको भावलाई नेतृत्वले सधैँ आफ्नो विवेकमा राखौँ र यो पुस्ताको यो विद्रोहलाई नै अन्तिम बनाऔँ । देश बनाउनका लागि धेरै काम बाँकी छन् । समयले हामीलाई फेरि पनि धेरै पछि नै छोडेर अघि बढिसकेको छ ।

सबैभन्दा पहिला पार्टीको नवनिर्माण जरुरी छ । थोत्रिएका विचार अनि सोचले कहिल्यै पनि सही गन्तव्यको यात्रा तय गर्न सक्दैन ।

नेपालको राजनीतिक इतिहास निर्माणमा कैयौँ राजनीतिक दलका आ–आफ्नै जन्मकथा छन् । जेनजी विद्रोहबाट राजनीतिक दलहरू केही क्षणका लागि विस्थापित भए पनि अन्ततः फेरि पनि लयमा फर्किन थालेका छन् । नेपाली कांग्रेस पनि इतिहासका त्यस्तै विद्रोहबाट जन्मिएको एउटा ऐतिहासिक राजनीतिक पार्टी हो, जोसँग नेपाली इतिहासका धेरै पाना गाँसिएका छन् । राजनीतिका सिद्धान्तहरू टाँसिएका छन् । विद्रोहका गाथाहरू छन् । तथापि नेपाली कांग्रेसले राष्ट्र, राष्ट्रियता अनि लोकतन्त्रलाई कहिल्यै हार्न दिएको छैन । बरु आफैँले हारेको छ, तर राष्ट्रियता र लोकतन्त्रका विरुद्ध कहिल्यै सम्झौता गरेको छैन । क्रान्ति, विद्रोह र आन्दोलनका कैयौँ भेललाई नेपाली कांग्रेसले सधैँ सामना गर्दै आएको छ । परिवर्तनका हरेक भावहरूलाई नेपाली कांग्रेसले आत्मसात् गर्दै आएको छ र अहिले जेनजी पुस्ताको विद्रोहको यो भावलाई पनि नेपाली कांग्रेसले स्वीकार गरिसकेको छ । इतिहासका कालखण्ड हेर्‍यौँ भने नेपाली कांग्रेस हरेक निर्णायक मोडमा देशको अभिभावकीय जिम्मेवारी निभाउँदै आएको राजनीतिक पार्टी हो । फेरि पनि इतिहासले कांग्रेसलाई त्यस्तै जिम्मेवारीमा ल्याइपुर्‍याएको छ ।

त्यसका लागि सबैभन्दा पहिला पार्टीको नवनिर्माण जरुरी छ । थोत्रिएका विचार अनि सोचले कहिल्यै पनि सही गन्तव्यको यात्रा तय गर्न सक्दैन । त्यसैले परिवर्तन जरुरी छ । नेतृत्वकै सोचका कारण लामो समयदेखि नेपाली कांग्रेस आफैँ कोमामा छ । यस्तो अवस्थामा फेरि एकपटक जाग्ने बेला भइसकेको छ । नेपाली कांग्रेस जाग्नैपर्छ र राष्ट्रको नेतृत्व गर्नैपर्छ । यो इतिहासले सुम्पिँदै आएको जिम्मेवारी हो । यद्यपि त्यसको सुरुवात त नेपाली कांग्रेसमा देखा परिसकेको छ । पार्टी सभापति शेरबहादुर देउवा आफैँले अब कार्यकारी भूमिकाबाट बिदा लिइसकेको अवस्था छ । पार्टी नेतृत्वमा फेरि एकपटक ‘कार्यवाहक’ सभापतिको परीक्षा सुरु भएको छ । नेपाली कांग्रेसमा ‘कार्यवाहक’ जिम्मेवारीका लामा इतिहास छन् । नेपाली कांग्रेसको राजनीतिक इतिहासमा बीपी कोइरालादेखि गिरिजाप्रसाद कोइरालासम्मका सभापतिहरूले आफू पदमै रहँदा पनि तत्कालीन विशेष परिस्थितिका कारण ‘कार्यवाहक’ जिम्मेवारी हस्तान्तरण गरेको इतिहास छ र, उहाँहरू सधैँ पार्टी, राष्ट्र, राष्ट्रियता र लोकतन्त्र अनि जनताका लागि अभिभावकत्वको जिम्मेवारीमै रहनुभयो । अनि कार्यवाहक जिम्मेवारी पाउनेहरूले पनि पार्टीलाई निकै विवेकपूर्ण निकास दिनुभएको छ ।

एउटा त्यस्तै अवस्थामा अहिले पार्टी सभापति शेरबहादुर देउवाले पनि कार्यवाहक जिम्मेवारी दिएको अवस्था छ । नेपालको राजनीतिमा देउवाजीले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रका लागि गर्नुभएको योगदानको मूल्याङ्कन इतिहासले गर्नेछ । तथापि हाम्रालागि अहिलेका अभिभावक भनेको देउवाजी नै हो भन्ने कुरामा दुईमत छैन । इतिहासका कैयौँ परिवर्तनका मोडमा नेपाली कांग्रेसले राष्ट्र र जनताका लागि अभिभावकीय भूमिका अनि नेतृत्व गर्दै आएको छ । परिस्थितिले आज पनि नेपाली कांग्रेसकै नेतृत्व खोजिरहेको छ । यस्तो अवस्थामा पार्टीको जिम्मेवारी वा भूमिका त हामी आ–आफैँसँग छँदैछ, त्योभन्दा माथि उठेर यतिबेला राष्ट्र, राष्ट्रियता र लोकतन्त्रका खातिर फेरि एकपटक नेपाली कांग्रेसले आफ्नो नेतृत्वदायी भूमिका प्रकट गर्नुपर्ने अवस्था आएको छ ।

पार्टी सभापतिले सहज स्वीकार्यता देखाएर जुनप्रकारको लोकतान्त्रिक चरित्र देखाउनु भएको छ, त्यसप्रति हामी नतमस्तक छौँ ।

परिवर्तन, विद्रोह अनि क्रान्तिका भावलाई नेपाली कांग्रेसले सधैँ स्विकार्दै आएको छ । यसको गर्भ रचना पनि त्यहीँबाट अङ्कुरित भएको हो । त्यसैले हालको जेनजी विद्रोह भनौँ वा त्यसपछिको परिस्थितिजन्य परिवर्तनलाई हामीले स्वीकार गर्नैपर्छ र त्यसको भावअनुसार आफूले आफैँलाई निर्मम समीक्षा गर्नैपर्छ । यो आजको एउटा अकाट्य सत्य पनि हो ।

पार्टी सभापतिले सहज स्वीकार्यता देखाएर जुनप्रकारको लोकतान्त्रिक चरित्र देखाउनु भएको छ, त्यसप्रति हामी नतमस्तक छौँ । जसलाई उहाँले आगामी कार्यभार सुम्पेर जिम्मेवारी दिनुभएको छ, अब यो नेतृत्वले आफ्नो व्यक्तिगत इगो, ईर्ष्या र गुटगत चाहना र भावनाभन्दा माथि उठेर तत्कालीन विद्रोहको भावअनुसार पार्टीलाई अगाडि बढाउनुपर्छ । त्यो भनेको यही मङ्सिरभित्रैमा पार्टीको नियमित अर्थात् १५औँ महाधिवेशन नै हो । त्यसका लागि वातावरण बनाउने र कांग्रेसीजनहरूमा नयाँ नेतृत्व चयनका लागि उत्साहित नवपुस्तामा उमङ्ग भर्ने गरी पार्टीका गतिविधिहरूलाई अघि बढाउने जिम्मेवारी कार्यवाहक सभापतिज्यूको काँधमा छ ।

यो गहन र ऐतिहासिक जिम्मेवारी पूरा गरेमात्रै अभिभावकत्वको भूमिकामा आफूलाई सम्हाल्नुभएका हाम्रा पार्टी सभापति देउवाप्रति न्याय हुनेछ । यो उहाँको मात्रै होइन, नेपाली कांग्रेसका लाखौँ कार्यकर्ता अनि शुभेच्छुकहरूको शुभेच्छा पनि हो । त्यसका लागि सबैभन्दा पहिला त विद्रोहको चेत र भावलाई बुझ्न जरुरी छ । त्यो भनेको अहिलेको नवपुस्ता अर्थात् जेनजी विद्रोहको भावादेश पनि हो । नयाँ पुस्तालाई कसरी परिणाममुखी प्रतिनिधित्वमा पुर्‍याउने भन्नेबारेमा यसअघि नै नेपाली कांग्रेसले विवेकपूर्ण निर्णय गरिसकेको छ । हाम्रा नीतिहरू कति दूरदर्शी हुन्छन् भन्ने कुरा हामीले जनतालाई भन्न सकिरहेका छैनौँ वा त्यसलाई बुझाउन सकिरहेका छैनौँ । नवपुस्ताको आवाजलाई हामीले यसअघि नै सम्बोधन गरिसकेका छौँ ।

अबको निकास पार्टीको नवनिर्माण नै हो । अनि हाम्रा अभिभावक तथा पार्टी सभापति शेरबहादुर देउवाले भनेजस्तै अब देशलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार भनेको निर्वाचन नै हो ।

भलै हामी त्यसको व्यावहारिक कार्यान्वयनमा चुकेका हौँला तर त्यसलाई अहिले पनि लागु गर्न सक्छौँ जस्तो कि नेपाली कांग्रेसको संशोधित विधान २०७८ को धारा ६७ मा भएको व्यवस्थाअनुसार– ‘टोल कार्यसमितिदेखि जिल्ला कार्यसमितिसम्मका तहका पार्टीका कार्यसमितिमा अठारदेखि तीस वर्षसम्मको उमेर समूहका सदस्यको पन्ध्र प्रतिशत प्रतिनिधित्व हुन नसकेको भए सम्बन्धित तहको सभापतिले यस विधान बमोजिम कार्यसमितिमा मनोनीत गर्दा उक्त उमेर समूहको सदस्य सङ्ख्या कम्तीमा पन्ध्र प्रतिशत प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ’ भन्ने व्यवस्था गरिएको छ । तर त्यसको सही कार्यान्वयनका लागि यो उमेर समूहको क्लस्टर थपेर अघि बढ्न पनि सकिन्छ ।

अबको निकास पार्टीको नवनिर्माण नै हो । अनि हाम्रा अभिभावक तथा पार्टी सभापति शेरबहादुर देउवाले भनेजस्तै अब देशलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार भनेको निर्वाचन नै हो । त्यसका लागि फेरि पनि बलियो, एकताबद्ध अनि अझ जिम्मेवार नेपाली कांग्रेसको जरुरी छ । त्यसका लागि मङ्सिरमै पार्टीको १५ औँ महाधिवेशन अझ जरुरी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. शोभाकर पराजुली
डा. शोभाकर पराजुली
लेखकबाट थप