सुशीला कार्कीको हुती हेरेर ओलीले चुनावमा भाग लिन्नँ भनेर चुनौती दिन थाले : प्रभु साह
सारांश
- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री सुशीला कार्की चुनाव गराउन नचाहेको आरोप लगाए।
- साहले सरकार र एमाले दुवैलाई चुनावको तयारीमा लाग्न र षडयन्त्र नगर्न चेतावनी दिए।
- उनले देशलाई संकटबाट बचाउन सबै दलका राम्रा नेताहरूबीच सहकार्यको आवश्यकता रहेको बताए।
विराटनगर। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री सुशीला कार्की चुनाव गराउने दिशामा नभएर देशलाई दिशाहीन गन्तव्यमा पुर्याउन उद्धत रहेको आरोप लगाएका छन् । वर्तमान सरकारको हुती हेरेर नै भदौ २३ गते जेनजी आन्दोलनको क्रममा युवाहरूको नरसंहारमा उत्रिएका केपी ओलीजस्ता अधिनायकवादी शासकहरूले अहिले टाउको उठाउन थालेको उनको दाबी छ ।
विराटनगरमा आज (शनिबार) आयोजित कोशी प्रदेशको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले वर्तमान सरकारले देशलाई निकास दिन नसक्ने सङ्केत देखिएको भन्दै निर्णायक सङ्घर्षमा होमिनको लागि न्याय प्रेमी, देशभक्त र क्रान्तिकारी शक्तिहरूलाई अपिल गरेका छन् । उनले वर्तमान सरकार फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गराउनको लागि बनाइएको भए पनि अहिले सरकारले जथाभाबी हात हाल्न थालेको भन्दै त्यसको उपज राजदूतहरू अकारण फिर्ता बोलाइएकोमा आक्रोश पोखे ।
उनले भने– ‘इलेक्सनको म्यान्डेट लिएर बनेको अहिलेको सरकार आफ्ना आसेपासे र भरौटेहरूलाई फेरि राजदूत बनाउनको लागि सक्रिय भयो, म यही कार्यक्रमबाट भन्न चाहन्छु–प्रधानमन्त्रीजी तपाईं इलेक्सनमा ध्यान दिनुहोस्, यो राजदूतहरू सेलेक्सनमा होइन ।’ राजदूत फिर्ता बोलाउँदा पनि भारतका लागि नेपाली राजदूतलाई फिर्ता नबोलाउनुको कारण पनि उनले प्रधानमन्त्री कार्कीसमक्ष सोधेका छन् ।
उनले भने– ‘भारतका लागि नेपाली राजदूतमा के त्यस्तो क्षमता र गुण रहेछ, उहाँ सबैको प्रिय भइराख्नुपर्ने, रोचक त यो छ कि भारतका लागि अहिलेको राजदूतलाई आरजु राणाको आशीर्वाद छ भनिन्छ, अहिले सुशीला म्याडम पनि आरजुको खातिरदारीमा लाग्नुभएको हो र ?, होइन भने किन यो तहको अतिरिक्त मोह र सम्मान देखाउनुभयो ?’
पूर्व मन्त्री साहले एमाले चुनावदेखि डराएर भाग्न खोजेको भन्दै जनताको अदालतमा उभिन डराउनेहरू कहिल्यै पनि असल राजनीतिक नेतृत्व हुन नसक्ने टिप्पणी गरे । एमालेको हिजो सम्पन्न भएको केन्द्रीय कमिटीको बैठकले प्रतिनिधिसभा पूनःस्थापनाको लागि जनपरिचालन गर्ने निर्णय लिएको र २१ फागुनको निर्वाचनमा भाग नलिने अध्यक्ष ओलीको उद्घोष थियो ।
साहले ओलीले आफ्नो अपराधको ढाकछोप गर्नको लागि सिङ्गो पार्टीलाई नै दाउमा लगाएको भन्दै चुनाव भाँड्ने कुचेष्टा नगर्न चेतावनी समेत दिए । उनले सिङ्गो एमाले पङ्क्तिलाई देशलाई थप असफल बनाउनबाट बचाउनको लागि पनि चुनावको पक्षमा दृढताका साथ उभिन अपिल गरेका छन् ।
एकातिर अध्यक्ष ओलीले चुनावमा भाग नलिने निर्णय लिएको भए पनि अर्कोतिर एमाले नेताहरू शीतलनिवास र निर्वाचन आयोगतिर चुनावी तयारीको लागि डाकिएको बैठकमा भाग लिने गरेको भन्दै यस्तो दैध चरित्र नदेखाउन पनि उनको आग्रह छ ।
उनले वर्तमान सरकार चुनाव गराउने दिशामा नदेखिनु र आवश्यक तयारीसमेत नगरेको बेलामा एमालेले चुनावमा भाग नलिने भनेर घोषणा गर्नुमा षड्यन्त्रको गन्ध देखिएको आरोप लगाए । वर्तमान सरकार केपी ओलीकै सिफारिसमा बनेकोले यो सरकारलाई एमालेले असंवैधानिक भनेर भन्न नमिल्ने पनि साहको भनाई छ ।
उनले भने, ‘मैले अस्ति काठमाडौँमा बृहत् पत्रकार सम्मेलनमा पनि यो सरकार कसरी जन्मियो भनेर प्रस्टसँग भनिसकेको छु, सुशीला कार्की मुख्यतया बालेन शाह र केपी ओलीको कारण प्रधानमन्त्री हुनुभएको हो, बालेनको प्रस्ताव र केपी ओलीको समर्थनमा उहाँ प्रधानमन्त्री हुनुभएको छ, अनि अहिले आएर केपी ओलीले असंवैधानिक भन्न मिल्छ ? राष्ट्रपतिजीले सुशीलालाई प्रधानमन्त्री बनाउनका लागि केपी ओलीले दिएको लिखित सिफारिस पत्र सार्वजनिक गर्नुपर्छ ।’
प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूसँग दूरी राखेर गलत गरेको पनि साहको आरोप छ । उनले भने, ‘अहिले प्रधानमन्त्रीले दलहरूसँग संवाद नै नगर्ने कसम खाएकोजस्तो देखिन्छ, उहाँले ब्लण्डर गर्दै हुनुहुन्छ, चुनाव गराउने म्यान्डेट बोकेको प्रधानमन्त्रीले यसरी दलहरूसँग दुरी बनाउन मिल्छ ? उहाँ आफैँ राजनीतिक व्यक्तित्व हो नि, प्रधानमन्त्री बन्ने, सुख सुविधा भोग गर्ने अनि दलहरूसँग संवाद गर्दिनँ भन्न मिल्छ ? कदापि मिल्दैन ।’
उनले चुनावी तयारीको नाममा अनावश्यक नाटक मञ्चन गर्न बन्द गर्न र शीतल निवासमा तमासा देखाउने काम नगर्न प्रधानमन्त्री कार्कीलाई चेतावनी दिएका छन् । कार्यकारी भूमिका लिएको प्रधानमन्त्रीले दलका नेताहरू, जेनजीका प्रतिनिधिहरूसँग दिनहुँ शीतल निवासमा वार्ता गर्नु अशोभनीय भएको उनको आरोप छ ।
उनले भने, ‘चुनावी तयारी, जेनजीहरुसँगको संवाद सबै बालुवाटारमा गर्नुहोस्, शीतलनिवास र निर्वाचन आयोग देखाएर दलहरूसँग दूरी कायम राख्ने काम नगर्नुहोस्, तपाईँले नचाहेर पनि जनताले अब चुनाव चाहिसकेका छन् । यो सरकारलाई कान समातेर पनि अब हामी चुनाव गराउन लगाउँछौँ ।’
सुशीला सरकारमा सहभागीहरूको अनुहार हेर्दा नै देशको मुहार नफेरिने निश्चित रहेको उनको दाबी छ । ‘को कसरी मन्त्री भए भन्ने कुरा नेपाली जनतालाई केही थाहा छैन, फुत्त फुत्त ल्याएर मन्त्री बनाइएको छ, एक महिना भन्दा बढी समय व्यतीत भइसक्यो, बाँकी मन्त्री नियुक्त हुन सकेको छैन, सुशीला कार्की आफैँमा प्लेयर देखिनुभएन, उहाँलाई कसैले निर्देशन दिएको होला, होइन भने एक महिनासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्दैन ?’ साहको आक्रोश थियो ।
देशलाई शक्ति राष्ट्रहरूको खेल मैदान बनाउन खोजिएको भन्दै सबै दलमा भएका राम्रा र सच्चा क्रान्तिकारीहरूबिचको मोर्चाबन्दी र एकता आवश्यकता रहेको पनि साहले औंल्याएका छन् । उनले भने, ‘देश अहिले सङ्कटको भुमरीमा फसेको छ ।
यसबाट बाहिर निकाल्नका लागि सबै दलमा भएका राम्राहरूबिच सहकार्यको आवश्यकता छ । कांग्रेस, एमालेमा भएका राम्राहरू यसरी गलत नेतृत्वको पछि सती नजानुहोस्, आफ्नो विवेक प्रयोग गर्नुहोस्, देशको सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनतामा सङ्कट देखिएको छ । सबै मिलेर सामना गर्नुपर्छ ।’
देशमा शान्ति, सुरक्षा र अमनचयनको जिम्मा लिएका गृहमन्त्रीले राम्रो सुझबुझ देखाउन नसकेको र राजनीतिक प्रतिशोधमो उत्रिन खोजेको आभास हुन थालेको भन्दै साहले आलोचना गरे । अध्यक्ष साहले गृहमन्त्री ओमप्रकाश अर्याललाई चुनावको म्यान्डेटमा ध्यान दिन भन्दै अनावश्यक मिडियाबाजी र म्यानुपुलेशनमा नलाग्न पनि चेतावनी दिए ।
उनले देशको गृह प्रशासन चलाउने कुरा अदालतमा रिट निवेदन हाल्ने र बहस गरेजस्तो सजिलो नहुने भन्दै समयको गम्भीरतालाई ध्यान दिएर चुनावको वातावरण बनाउने कुरामा आफ्नो भूमिका निर्वाह गर्न गृहमन्त्रीलाई सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण