शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुशीला र ओमप्रकाशहरू ओली र आरजुकै नयाँ भेरिएन्ट हुन्, यिनीहरुले देशलाई निकास दिन सक्दैनन् : प्रभु साह

शुक्रबार, ०७ कात्तिक २०८२, १५ : २५
शुक्रबार, ०७ कात्तिक २०८२

सारांश

  • आजपा अध्यक्ष प्रभु साहले वर्तमान सरकारले देशलाई निकास दिन नसक्ने आरोप लगाए।
  • उनले प्रधानमन्त्री सुशीला कार्की र ओमप्रकाश अर्यालको नेतृत्वलाई 'देश नबुझेको' भन्दै आलोचना गरे।
  • साहले सरकार बदलावसँगै व्यवस्था परिवर्तनको आवश्यकता औंल्याउँदै जनताको निर्णायक संघर्षको आह्वान गरे।

सिराहा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको सरकारले देशलाई निकास दिन नसक्ने दाबी गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सत्तामा उदय नै अदृश्य तवरले भएकोले यो सरकारले देशलाई सही दिशा दिन नसक्ने साहको टिप्पणी छ । 

पुरानै संविधान र पुरानै व्यवस्था राखेर अघि बढ्दा गन्तव्य पनि पुरानै नेपाल हुने उल्लेख गर्दै साहले अबको निकास भनेको नै ‘सरकार बदलावसंगै व्यवस्थाको पनि बदलाव हो । अन्तरिम सरकार र अन्तरिम संविधान’ भएको ठोकुवा गरे ।

शुक्रबार सिराहाको सुखीपुर नगरपालिका–१० दहिपौरी बजारमा दशैं, दिपावली, छठ पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साहले सुशीला कार्की र ओमप्रकाश अर्यालले ‘देश नबुझेको र जनता नै नचिनेको’ आरोप लगाउँदै उनीहरूको नेतृत्वमा देशले निकास नपाउने टिप्पणी गरे । उनले बरु झन् सङ्कटको भुमरीमा फसेको आरोप लगाएका हुन् ।

उनले फेक जेनजीहरुको सहारा लिएर मुलुकको शासन–सत्ता हात पारेका सुशीला कार्कीहरूले देशलाई अनन्त कालसम्म सङ्कटमा धकेल्ने कुचेष्टा गरिरहेकोले अब जनताको सहभागितामा निर्णायक सङ्घर्ष गर्न जरुरी रहेको पनि आवश्यकता औँल्याए । 

‘सुशीला कार्कीहरू जेनजी आन्दोलनका अपहरणकारीहरू हुन् । जेनजी विद्रोहमा जसरी केपी ओली र रमेश लेखकहरूले दमन गरे, त्यो भन्दा बढी युवाहरूको सपना अनि भावनामाथि यी सुशीला र ओमप्रकाश अर्यालहरूले फोहोरी खेल खेलेका छन् । षड्यन्त्र गरेका छन् । छलछाम गरेका छन् । यो कुरा अहिले न्यायप्रेमी जनताले थाहा पाइसके,’ आजपा अध्यक्ष साहले भने । 

उनले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललाई केपी ओली र आरजु राणा देउवाकै नयाँ भेरिएन्टको संज्ञा दिए । 

उनले थपे, ‘यिनीहरूले देशलाई निकास दिन सक्दैनन् । बरु, देशलाई झनै षड्यन्त्रको भड्खालोमा हालेका छन् । ढुक्क हुनुहोस्, यिनीहरूले देशलाई लिड गर्न सक्दैनन् । बरु, संक्रमणकालको फाइदा लिएर व्यक्तिगत डिल गर्न तत्पर देखिन्छन् । हामीले देशव्यापी रूपमा अब यो सरकारको भण्डाफोर गर्नुपर्छ ।’

२१ फागुनमा प्रतिनिधिसभाको चुनाव गराउने म्याण्डेट पाएको सरकार आफ्नो मूल उद्देश्यबाट च्यूत भई बरालिएको साहको आरोप छ । उनले भने, ‘यो सरकारले म्याण्डेटलाई ध्यान दिनुको साटो म्यानुपुलेशन गरिरहेको छ । अहिलेका मन्त्रीहरूले हिराईजिम देखाइरहेका छन् । यिनीहरू सोसल मिडियाले बनाएका हिरो हुन्, जनताको सेवाको हिसाबले त जिरो हुन् ।’

राष्ट्रपतिले पुरानै संविधानअनुसार नियुक्त गरेको प्रधानमन्त्रीले जेनजीहरुको भावना बुझ्न नसक्ने भन्दै साहले तत्काल सुशीला कार्कीलाई मार्ग प्रशस्त गरेर मुलुकलाई सही दिशा दिन सुझाएका छन् । उनले भने, ‘यो सरकारले देशलाई पार लगाउन सक्दैनन्, यसको जन्म नै शितलनिवासको शीतल तापेर भएको छ, युवाहरूले पुरानो व्यवस्था र संविधान खराब भएर जनताको अवस्था खराब भएको भनेर विद्रोह गरेका हुन् । यो विद्रोह युवाको मात्रै विद्रोह थिएन, यसमा त पूरै जनताको साथ थियो । मैले यसलाई जनविद्रोह भन्ने गरेको छु । विद्रोहपछिको अवस्था नेतृत्वविहीन हुँदा सुशीला कार्की, ओमप्रकाश अर्यालहरूले धोकाको राजनीति गरे।’

नेपाली राजनीति बजारमा जेनजीको नाममा सुशीलाहरूले नै थरिथरिका जेनजी समूह जन्माएको र उनीहरूको भावनामाथि कुठाराघात गरेको साहको आरोप छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप