शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

जनकपुरधाममा छठ पर्वको तयारी तीव्र, बजारमा बढ्यो चहलपहल

शुक्रबार, ०७ कात्तिक २०८२, १६ : ५३
शुक्रबार, ०७ कात्तिक २०८२

जनकपुरधाम । मिथिला र मधेस क्षेत्रको महान् आस्था र निष्ठाको पर्व छठ नजिकिँदै गर्दा जनकपुरधाममा यसको तयारी हर्षोल्लासपूर्वक सुरु भएको छ । 

अन्नकुट, गोधन र भातृद्वितिया पर्व सम्पन्न हुनासाथ मैथिल समुदाय पारिवारिक सुख–समृद्धिको कामना गर्दै सूर्य उपासना पर्व छठ मनाउने तयारीमा जुटेका छन् ।

जनकपुरधामका धार्मिक पोखरीहरू– गंगासागर, धनुषसागर, अंगराजसर र दशरथ तलाउमा अहिले सरसफाइ र सजावटको काम तीव्र रूपमा भइरहेको छ ।

पोखरीका किनारहरूमा माटो सम्याउने, रंगोली बनाउने र दीप सजावट गर्ने कार्य भइरहेको छ । श्रद्धालुहरूले सूर्य भगवानलाई अर्घ दिनका लागि घाटहरू विशेष रूपमा सिङ्गारिरहेका छन् ।

त्यसैगरी बजारमा पनि छठका लागि आवश्यक सामग्री खरिद गर्ने भक्तजनहरूको भीड बढेको छ । बाँसका डलिया, सुपा, दौरा, माटोका दीयाे, हाँडी र परम्परागत भाँडाकुँडा, साथै पूजा सामग्रीका रूपमा प्रयोग हुने ठेकुवा, फलफूल, गहुँ, दूध र खर किन्नेको चहलपहलले बजारमा रौनक ल्याएको छ ।

व्यापारीहरूका अनुसार छठ नजिकिँदै गर्दा परम्परागत वस्तुहरूको बिक्री दोब्बर बढेको छ। जनकपुरधामका गंगासागर, धनुषसागर र अंगराजसर पोखरीहरूमा मात्र ११ हजारभन्दा बढी श्रद्धालुहरूले छठ पूजा गर्ने अनुमान गरिएको छ ।

चार दिनसम्म चल्ने यो पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन साँझको अर्घ, र अन्तिम दिन बिहानको अर्घ गरी सम्पन्न हुन्छ।

आदिदेव सूर्य भगवान र ऊषा–अरुणालाई अर्घ दिई परिवारको सुख, स्वास्थ्य र समृद्धिको कामना गर्ने यो पर्व मिथिला समाजको असल परम्पराको प्रतीक बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप