सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सरकार चुनाव सम्पन्न गर्ने भन्दा पनि खलबल्याउने पक्षमा देखियो : महर

शनिबार, ०८ कात्तिक २०८२, १३ : ०९
शनिबार, ०८ कात्तिक २०८२

सारांश

  • नेपाली कांग्रेसका नेता नैनसिंह महरले फागुन २१ गते चुनाव गर्न सरकार इमान्दार हुनुपर्ने बताए।
  • उनले सरकार निर्वाचन खलबल्याउने भन्दा चुनावमा केन्द्रित हुनुपर्ने र कर्मचारी सरुवामा समय खर्च गरेको आरोप लगाए।
  • महरले निष्पक्ष निर्वाचनका लागि राजनीतिक दलहरूसँग संवाद गर्न र जनतामा आत्मविश्वास जगाउनुपर्ने बताए।

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले आसन्न प्रतिनिधिसभाको चुनाव फागुन २१ गते नै सम्पन्न गर्ने विषयमा सरकार इमानदार हुनुपर्ने बताएका छन्। नेपाली कांग्रेस नगर समिति, परशुराम डडेल्धुराले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले आपत्कालीन समयमा भएको सम्झौता सरकारले इमानदारितापूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन्।

'तत्कालीन समयमा राष्ट्रपतिको समन्वयमा आन्दोलनकारी, राजनीतिक दलका नेता र नेपाललाई माया गर्ने देशी विदेशी कूटनीतिक क्षेत्रका मित्रहरूको चाहना नै फागुन २१ गते निर्वाचन सम्पन्न गरेर देशलाई निकास दिने भन्ने हो,' महरले भने, 'जनादेश प्राप्त सरकार नभएकाले यसको काम निर्वाचन सम्पन्न गर्नु हो। आन्दोलनको आदेश पनि त्यही हो। यसबाट सरकार विचलित नहोस्।'

उनले चुनाव समयमा गर्न नसके सरकारको औचित्यमाथि नै प्रश्न उठ्ने भन्दै सोधे, ‘चुनाव समयमा गर्न नसके यो सरकारले के सक्छ? यो प्रश्न आम जनताको हो। त्यसैले जसरी पनि सरकार चुनावमा केन्द्रित हुनुपर्छ।’

महरले सरकार चुनाव सम्पन्न गर्ने भन्दा पनि खलबल्याउने पक्षमा देखिएको आरोप लगाए। उनले सरकार आफ्नो उद्देश्य भुलेर कर्मचारी सरुवालगायतका अधिकारभन्दा बाहिरका क्रियाकलापमा समय खर्च गरिरहेको टिप्पणी गरे।

उनले सरकारले राजनीतिक दलहरूसँग संवाद गरेर, देशी विदेशी मित्रहरूलाई विश्वासमा लिएर, सुरक्षाकर्मीको गुमेको विश्वासलाई बढाएर र जनतामा आत्मविश्वास जगाएर निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गर्न ध्यान दिनुपर्ने बताए।

कांग्रेसको धारणा पनि सरकार फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने बाटोमा 'अर्जुन दृष्टि' लगाएर अघि बढोस् भन्ने रहेको महरले प्रष्ट पारे। कार्तिक १३ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा चुनावी वातावरणका पक्षमा कांग्रेसले निर्णय गरेर अघि बढ्ने उनले जानकारी दिए।

संसद् पुनर्स्थापनाको विषय कुनै विकल्प नबचेको अवस्थामा मात्र सम्भव हुने उनको भनाइ छ। उनले संविधानको धारामा लागेको ग्रहण हटाउनका लागि पुनः कानुन निर्माण गर्ने क्षेत्र संसद्लाई तयार गर्नुपर्ने बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप