नेवार समुदायले मनाए सकिमना पुन्ही, टोलटोलमा अन्नका आकृति र दाफा भजन
भक्तपुर । भक्तपुरको पाँचतले मन्दिर परिसर र मध्यपुरथिमिको ऐतिहासिक मठ मन्दिर एवं चोकमा आज साँझ झलमल्ल छ । मन्दिर र पाटीमा दाफा भजनले चकमन्न रातलाई निकै गुञ्जयामान बनाएको छ ।
बुधबार कात्तिक शुक्ल पूर्णिमा अर्थात् नेवार समुदायले मान्दै आएको ‘सकिमना पुन्ही’ को दिन विभिन्न मन्दिर एवं पाटी अगाडि धान, मकै, भटमास, भुटेका गेडागुडीलगायत विभिन्न अन्नबाट गणेश, बिस्काः जात्राको रथ, मन्दिरलगायत विभिन्न देवीदेवताका आकृति बनाई बत्ती बालेर भेटी चढाउनुका साथै पाटीमा दाफा भजन गाएर भव्य रूपमा मनाएका छन् ।
आजको दिन नेवार समुदायमा आ–आफ्नो टोलमा रहेका दाफा भजन खलःले नसाःबाट मठमन्दिर अगाडि गहुँ विछ्याएर ताय (धानको लावा) र कालो भटमासले भगवानकोस्वरूप बनाउने, त्यस्ता स्वरूपलाई चारैतिर भुटेको मकैले घेरा बनाउँदै त्यसमाथि पुरी र माल्पुवाले घेरेर फूलको मालाले शृङरपटार गरी दक्षिणा चढाइ दियो बालेर भजनकीर्तन गाउने प्रचलनअनुसार आज मन्दिर र पाटी पौवामा यस्ता दृश्य जताततै देख्न पाइन्छ ।
नेवार समुदायका भजन खलः, दाफा भजन खलःहरूले आजको दिनलाई विशेष पर्वको रूपमा मनाएका छन् भने कोजाग्रत पूर्णिमाको दिन सुरु गरिएको एक महिने रात्रिकालीन दाफा भजनकीर्तन पनि आज रातिदेखि समापन गरिनेछ । आज रातभर मन्दिर अगाडि भजनकीतर्न हुने गर्दछ ।
आजको दिन पिँडालु उसिनेर खाने र नसाः (मकै, भटमास, गहुँ र ताय) बाट भगवान्का आकृति बनाइ त्यसलाई प्रसादको रूपमा बाँड्ने प्रचलन रहेको इतिहास तथा संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले बताए ।
पूजामा माल्पुवा, पुरी, नसाः, गाईको दूधले बनेको खिर, सुन्तला, बदाम, उसिनेको पिँडालु र सख्खरखण्डलगायत परिकार टोलका देवीदेवता, महादेव र नारायणलाई प्रसादका रूपमा चढाएर त्यसलाई प्रसादको रूपमा ग्रहरण गर्ने प्रचलन रहेको अर्का संस्कतिविद् कमलनाथ जोशीले बताए ।
उनले भने,“साँझ चन्द्रमा उदाएपछि चन्द्रमा र तुलसीलाई गाईको दूधको अर्घ दिई विधिवत् रूपमा पूजा गरी प्रसाद चढाएर पूजा सम्पन्न गर्ने प्रचलनसमेत रहेको छ । ऋतु अनुसारको भोजन भगवानलाई चढाएर मात्र खाने पर्वको रूपमा समेत सकिमना पुन्हीलाई लिने गरिएको छ ।”
आज विषेशगरी नारायणको पूजा आराधना गरिने हुनाले नेपाल संवतको बाह्रमहिनाको पहिलो पुन्हीमा भगवान् नारायणलगायत महादेव र आफ्नो इष्टदेवतालाई प्रसाद चढाएर खानाले पुण्य प्राप्तिका साथै शारीरिक शक्ति प्राप्त हुने धार्मिक विश्वास रहेको उनको भनाइ छ ।
नेवार समुदायमा नसाःलाई सकिमना पुन्हीको दिनमा मात्र नभई गणेश चतुर्थीका दिनमा पनि प्रसादको रूपमा चढाउने र गुफा राख्दा गुफा बसेका बालिकालाई सूर्यसँग विवाह गर्ने क्रममा पनि प्रसाद स्वरूप नसाः खुवाउने प्रचलन रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण