भदौ २४ को विध्वंशमा राजनीतिक कार्यकर्ताकै सक्रियता रहेको स्वीकार गर्यो रास्वपाले
सारांश
- रास्वपाले भदौ २४ गतेको विध्वंशमा राजनीतिक कार्यकर्ताहरूको संलग्नता स्वीकार गरेको छ।
- रास्वपाले भदौ २३ र २४ गतेका घटनाहरूको निष्पक्ष छानबिनको माग गरेको छ, जसमा दोषीलाई कारबाहीको कुरा उल्लेख छ।
- कार्यवाहक सभापतिले घटना योजनाबद्ध भएको आशंका गर्दै दोषीलाई कारबाही नगरे न्याय स्थापित नहुने बताएका छन्।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनका क्रममा भदौ २४ गतेको विध्वंशमा राजनीतिक कार्यकर्ताहरूकै सक्रियता रहेको स्वीकार गरेको छ ।
शुक्रबार चितवनमा सुरु भएको केन्द्रीय समितिको विस्तारित बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले पेस गरेको राजनीतिक प्रतिवेदनमा भदौ २४ को विध्वंशमा राजनीतिक कार्यकर्ताकै सक्रियता रहेको तथ्य फोटो र भिडियोबाट खुलिसकेको उल्लेख छ ।
कार्यवाहक सभापति अर्यालले प्रतिवेदनमा भनेका छन्, ‘सार्वजनिक भएका केही तथ्यले भदौ २४ को घटना योजनाबद्ध हो कि भन्ने आशंकालाई पनि बढाएको छ ।’
रास्वपाले भदौ २३ र २४ गरी दुवै दिनका घटनाको निष्पक्ष र जनविश्वासयोग्य छानबिन आवश्यक रहेको औँल्याएको छ । प्रतिवेदनमा भनिएको छ, ‘हामी अत्यन्तै प्रस्ट रूपमा भन्छौँ– २३ गते राज्यशक्तिको दुरुपयोगमा जनहत्या भएकै कारण २४ गतेका घटना भएका हुन्, तर दुवै दिनका घटनाको निष्पक्ष छानबिन गरी अपराध र संलग्नताको आधारमा दोषीलाई कारबाही गर्नुपर्छ ।’
यसको सुरुवातचाहिँ भदौ २३ मा नरसंहार गर्नेहरूबाट थाल्नुपर्ने रास्वपाको जिकिर छ ।
‘दोषीहरूलाई कारबाही नगरी न्याय स्थापित हुन सक्दैन । दण्डहीनताले भविष्यमा पनि यस्ता घटना दोहोरिने सम्भावना बढाउँछ,’ कार्यवाहक सभापति अर्यालले आफ्नो राजनीतिक प्रतिवेदनमा भनेका छन्, ‘त्यसैले दोषीलाई कारबाही गरेर मात्र पीडितले न्याय पाउँछन् र कानुनी राज्यको प्रत्याभूति हुन्छ ।’
निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्दामात्र राज्य आफ्ना नागरिकप्रति जबाफदेही छ र आफ्नो शक्तिलाई गैर–जिम्मेवारपूर्ण तरिकाले प्रयोग गर्दैन भन्ने सन्देश जाने पनि उनले प्रस्ट पारेका छन् । यसबाट राज्यप्रतिको जनविश्वास पुनः स्थापित गर्न मद्दत गर्ने उनको तर्क छ ।
छानबिनबाट मात्रै भविष्यमा राज्यले बल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, भिड नियन्त्रणका उचित उपाय र शान्तिपूर्ण प्रदर्शनलाई सम्मान गर्ने तरिकाबारे नयाँ नीति र कार्यविधि बनाउन सकिने उनले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण