शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

विशेष महाधिवेशनको माग गर्नेहरूको भावनालाई उपेक्षा गरिनु हुँदैन : योगेन्द्र चौधरी

शुक्रबार, २१ कात्तिक २०८२, २० : ५५
शुक्रबार, २१ कात्तिक २०८२

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले पार्टीमा विशेष महाधिवेशनको माग गरिरहेकाहरूलाई उपेक्षा गरेर जान नहुने बताएका छन् । 

गत असार २८ गतेबाट सानेपामा जारी केन्द्रीय समितिको शुक्रबारको बैठकमा चौधरीले विशेष महाधिवेशन पक्षधरको भावनालाई सम्बोधन नगरिए आगामी निर्वाचनमा पार्टीले क्षति बेहोर्ने बताएका हुन् ।

'पार्टीमा अहिले विशेष र नियमित महाधिवेशनको बहस भइरहेको छ । यही दुवै बहसलाई केन्द्रमा राखेर फागुन २१ को निर्वाचनअघि पार्टीको महाधिवेशन सुरु गर्नुपर्छ । विशेष महाधिवेशनको हस्ताक्षर अभियानकर्ताको भावनालाई सम्बोधन हुने गरी केन्द्रीय समिति बैठकले निकास दिनुपर्छ । उहाँहरूलाई उपेक्षा गरेर जाँदा निर्वाचनमा पार्टीलाई क्षति हुन्छ,' उनले भने । 

विशेष महाधिवेशनको माग गर्नेहरूलाई बाहिर राखेर पार्टी निर्वाचनमा जान नसक्ने चौधरीको भनाई छ । पार्टीका शीर्ष नेताहरू राज्य सत्ता सञ्चालन गर्दा गरेको कमजोरीको महसुस नगर्नुले भदौ २३ र २४ मा देशले ठुलो जनधनको क्षति बेहोर्नुपरेको उनले बताए । 

हामीले विगत गरेको गल्ती दोहाेर्‍याउँदैनाैँ भनेर जनतालाई  विश्वास दिलाउने आधार के के हुन् ? पुरानै अनुहार र पुरानै शैलीका साथ चुनावमा जाँदा जनताले विश्वास गर्छन् ? त्यसैले निर्वाचन अगाडि महाधिवेशनमा जाऊ । त्यसले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको पनि भावनाको सम्मान हुन्छ,  उनले भने । 

जनताको आकांक्षा र चाहनालाई बुझेर निर्वाचनमा जानुपर्ने बेला आफ्नै नेता–कार्यकर्ताको भावनालाई उपेक्षा गर्ने कुरा पार्टीको हितमा नरहेको चौधरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप