शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिने

शनिबार, २२ कात्तिक २०८२, ०७ : ४३
शनिबार, २२ कात्तिक २०८२

सारांश

  • मुख्यमन्त्री जितेन्द्र सोनलले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका छन्।
  • सोनललाई लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र नेकपा एसको समर्थन रहेको छ।
  • सोनल सरकारलाई नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले पनि समर्थन जनाएका छन्।

जनकपुरधाम । मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सोनलले नेपालको संविधानको धारा १६८को उपधारा (४) बमोजिम आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् । 

मधेसका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएपछि ५ दलका ५६ जना प्रदेशसभा सदस्यहरूको समर्थनमा सोनललाई गथ असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो । 

मुख्यमन्त्री सोनललाई उनको पार्टी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थन रहेको छ । 

सरकारमा दाबी गर्ने समयमा ५ दल रहेपनि अहिले सोनल नेतृत्वको सरकारलाई नागरिक उन्मुक्ति पार्टी र रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीले समेत समर्थन गरेको छ ।

दुई पार्टीले समर्थन गरेपछि सोनल सरकारलाई ५७ मतको समर्थन रहेको देखिन्छ । १०७ सदस्यीय प्रदेश सभामा हाल १०४ जना प्रदेशसभा कायम छन् । सोनल नेतृत्वको सरकारले विश्वासको मत पाउनका लागि प्रदेशसभामा कायम रहेको सदस्यको बहुमत सदस्यको समर्थनको आवश्यक छ । 

सरकारमा सहभागी रहेका जसपा नेपालका १८ जना, जनमत पार्टीका १३ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना, नेकपा एकीकृत समाजवादी पार्टीका ७ जना र नागरिक उन्मुक्ति पार्टीका तथा नेपाल संघीय समाजवादी पार्टीका १ जना प्रदेश सभा सदस्य मुख्यमन्त्री सोनलको पक्षमा छन् । प्रदेशसभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले भने विपक्षमा छन् । 

यता जनमत पार्टीबाट प्रदेश सभा सदस्य रहेका निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साह जनमत फुटेर बनेको जनस्वराज पार्टीतर्फ लागिसकेकाले यी दुई प्रदेशसभा सदस्य कतै पनि खुलेका छैनन् ।  

त्यस्तै जसपा नेपालका एक जना प्रदेशसभा सदस्य निलम्बनमा छन् । मधेस प्रदेश सभा सदस्य सरोज सिंह कुशवहा निलम्बित रहेकाले विश्वासको मत दिन पाउने छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप