शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धुलिखेल–खावा सडकको पुनः ठेक्का सम्झौता गरिँदै, लागत बढ्यो

सोमबार, २४ कात्तिक २०८२, १७ : ०२
सोमबार, २४ कात्तिक २०८२

सारांश

  • धुलिखेल-खावा सडक खण्ड विस्तारका लागि निर्माण कम्पनीसँग पुनः सम्झौता गरिने भएको छ।
  • भक्तपुर सडक डिभिजनले सीएम एवन,काली जेभीसँग करिब ३५ करोडमा सम्झौता गर्ने तयारी गरेको छ।
  • सडक विस्तार समयमा सम्पन्न नभएपछि पहिलेको ठेक्का रद्द गरिएको थियो।

काठमाडौँ । धुलिखेल–खावा सडक खण्ड विस्तारका लागि पुनः ठेक्का सम्झौता गर्ने तयारी भएको छ । 

सडक डिभिजन कार्यालय भक्तपुरले एक÷दुई दिनभित्र उक्त सडक खण्ड निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता गर्ने तयारी भएको जनाएको छ । 

भक्तपुर सडक डिभिजन प्रमुख सुमन योगेसले मंगलबार वा बुधबार निर्माणका लागि सीएम एवन,काली जेभीसँग सम्झौता गर्ने रातोपाटीलाई जानकारी दिए । ‘भ्याएसम्म भोलि नभए पर्सिसम्म सम्झौता गर्ने तयारी छ,’ उनले भने, ‘करिब ३५ करोड बराबर लागतमा ठेक्का सम्झौता गर्ने तयारी छ ।’

उनका अनुसार नयाँ ठेक्कामा करिब १५ करोड बराबर लागत बढेको देखिन्छ । डिभिजन भक्तपुर कार्यालयले २०८२ साउन १ गते सूचना जारी गर्दै उक्त सडक विस्तारका लागि ठेक्का आह्वान गरेको थियो । इच्छुक निर्माण कम्पनीले ठेक्का आह्वान भएको ३० दिनभित्र आवेदन दिन सक्ने जनाइएको थियो ।

 उक्त ठेक्काका लागि आवेदन आए पनि जेनजी आन्दोलन,दसैँ तिहार लगायतका विविध कारण निर्माण कम्पनीसँग सम्झौता हुन सकेको थिएन । 

यसअघि यो सडक विस्तार कार्य समयमै सम्पन्न नहुँदा ठेक्का रद्द गरिएको थियो । २०७९ जेठ २० गते सबैभन्दा कम रकम कबोलमा गौरी–पार्वती निर्माण सेवालाइ ठेक्का दिइएको थियो ।

 २० करोड १९ लाख ४६ हजार ५०१ रुपैयाँ २२ महिनाभित्र निर्माण सक्ने सर्तमा ठेक्का लगाएको सम्झौताको समय सीमा सकिएको ११ महिनापछि रद्द गरिएको थियो । उक्त सडक खण्ड अरनिको राजमार्गसँग जोडिएको र यसैबाट तातोपानी नाका हुँदै चीन तथा दोलखा, रामेछाप जस्ता जिल्लामा आवत जावत हुन्छ । 

करिब ४ किलोमिटर सडकलाई १२ मिटर चौडा पारेर कालोपत्र गर्ने योजनाअनुसार निर्माण थालिएको थियो । तर निर्माण व्यवसायीले समयमा निर्माण सम्पन्न नगरेपछि २०८१ फागुन १३ गते ठेक्का रद्ध गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप