प्रधानमन्त्रीले गरिन् निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग आगामी निर्वाचनको तयारीबारे छलफल गरिन्।
- आयोगले फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिने विश्वास व्यक्त गर्दै मतदाता नामावली र अन्य तयारीबारे जानकारी गरायो।
- प्रधानमन्त्रीले निर्वाचनमा उम्मेदवारको खर्च घटाउन र मतदाताको सहजताका लागि चासो व्यक्त गरिन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग आगामी निर्वाचनको तयारीका विषयमा छलफल गरेकी छन् ।
आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकारी तुलाधर, सगुनशमशेर राणा र अन्य अधिकारीहरू समेतको टोली छलफलका लागि बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको थियो ।
आयोगले निर्वाचन तयारीअन्तर्गतका ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको र हालसम्मको मूल्याङ्कनमा आउँदो फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिने विश्वास रहेको जानकारी दिएको छ ।
आयोगमा दर्ता रहेका र वडा सदस्यसम्म मात्र पनि विजय भएका दलहरूसँग छलफल गर्दा अहिलेसम्म कसैले पनि निर्वाचनमा भाग लिन नसकिने भन्ने भाव व्यक्त नगरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए ।
बरु विगतमा निर्वाचन बहिष्कार गरी बाधा–विरोध गर्ने समूह र दलहरूसमेत अहिले आयोगमा दर्ता भएर चुनावमा भाग लिन तत्पर भएको कारण विगतमा भन्दा अझै सहज वातावरण बन्दै गएको उनले बताए ।
आयोगमा नयाँ दल दर्ता र मतदाता नामावलीमा समावेश हुने क्रम पनि उत्साहजनक रहेको बताउँदै उनले भने, ‘हाम्रो मूल्याङ्कनअनुसार, तोकिएकै मितिमा निर्वाचन गराउन सम्भव छ र आयोग यसका लागि सक्षम छ। कुनै दुविधा राख्नुपर्ने अवस्था छैन।’
प्रधानमन्त्री कार्कीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पठाएको तीन बुँदे पत्रको सम्बोधनमा भएका कामको प्रगति पनि आयोगले जानकारी गराएको थियो ।
जसअनुसार, आयोगको अनलाइन प्रणालीमा मतदाता नामावली दर्ताको चाप व्यवस्थापन गर्न बिहान ७ देखि साँझ ७ बजेसम्म दुई सत्रमा काम गर्न थालिएको, जनशक्ति पनि बढाइएको र प्राविधिक समस्याको पनि तत्काल समाधानको व्यवस्था मिलाइएको उनले बताए ।
यस्तै राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नवराज घिमिरेले राष्ट्रिय परिचय पत्र वितरणका लागि सङ्कलन गरेको जैविक तथ्याङ्क निर्वाचन आयोगलाई उपलब्ध गराउन तयार रहेको बताए ।
यसले राष्ट्रिय परिचयपत्र नम्बर भएका र आफै निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदातालाई सहज बनाउनेछ ।
आयोगले बिहीबारबाटै राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा पनि मतदाता नामावलीमा समावेश गर्ने प्रक्रिया सुरु गर्दै छ । यसका लागि आज रातभरिमा प्राविधिक तयारी र परीक्षणका सबै काम गरिसक्ने आयोगले जनाएको छ ।
हालसम्म १ करोड ८३ लाख ७७ हजार मतदाता आयोगको तथ्याङ्कमा अभिलिखित रहेको र पछिल्लो निर्वाचन घोषणापछि मात्र २ लाख ९ हजार ५५२ मतदाता थपिएको विवरण पनि कार्यवाहक प्रमुख आयुक्त भण्डारीले अवगत गराए ।
हालसम्म २२ वटा राष्ट्रिय र २ वटा अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाहरू निर्वाचन पर्यवेक्षणका लागि नाम दर्ता गराउन आइसकेको उनको भनाइ छ ।
आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा सुझावका लागि सबै दललाई पठाइसकिएको जानकारी दिँदै अब निर्वाचन कार्यक्रम प्रकाशन गर्न लागेको बताए । उनका अनुसार त्यसअघि दलहरूसँग पुनः छलफल गरिनेछ ।
प्रधानमन्त्री कार्कीले निर्वाचनमा उम्मेदवारको खर्च घटाउन र मतदाताको सहजताका लागि अन्तरजिल्ला मतदानको व्यवस्था गर्न कति सम्भव छ भनेर चासो राखेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल (अन्तर्वार्ता)
-
कांग्रेसले प्रतिनिधिसभामा भन्यो– राहदानी छपाइमा दोषी जोसुकै भए पनि कारबाही होस्
-
राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी
-
हात्तीपाइले रोग लगाउने परजीविबारे अध्ययन सुरु
-
कोशी प्रदेशमा बजेट विवाद समाधान गर्न कांग्रेस–एमालेको दौडधुप
-
अनुमति बिना स्टिकरको प्रयोग निषेध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण