बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

उखुको मूल्य तोक्नुअघि अध्ययन सुरु

शनिबार, २९ कात्तिक २०८२, २२ : ३०
शनिबार, २९ कात्तिक २०८२

सारांश

  • सरकारले यस वर्ष उखुको खरिद मूल्य तोक्ने तयारी गरेको छ, जसका लागि स्थलगत सर्वेक्षण सुरु गरिएको छ।
  • कृषि मन्त्रालयले किसानको लागत, ढुवानी खर्च लगायतका विवरण संकलन गरी मूल्य निर्धारण गर्ने जनाएको छ।
  • सरकारले किसानलाई सिधै अनुदान दिने र गत वर्ष प्रतिक्विन्टल रु ३५ का दरले सहयोग गरेको थियो।

काठमाडौँ । सरकारले यस वर्षका लागि उखुको खरिद मूल्य तोक्ने तयारी गरेको छ । मूल्य निर्धारणका लागि सुनसरी, मोरङ, रोतहटलगायत आठ जिल्लामा स्थलगत अध्ययनका लागि सर्वेक्षण सुरु गरिएको जनाइएको छ । 

उखु उत्पादनको लागत तथा प्रतिहेक्टर जमिनको उत्पादन लागत, वास्तविक खर्चको विवरण सङ्कलन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले टोली त्यसतर्फ पठाइएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । 

उक्त टोलीले सङ्कलन गरेको सूचनाका आधारमा किसानको प्रतिक्विन्टल उखु उत्पादन कार्यमा लागेको लागत, उत्पादन लागतमा नाफासमेत जोडेर मिलसम्म पुर्‍याउँदा लाग्ने ढुवानी खर्चको औसत मूल्य जोडेर खरिद मूल्य निर्धारण हुन्छ । हरेक वस्तुको मूल्य उत्पादन लागतका आधारमा गर्ने गरिन्छ । सरकारले उखुको खरिद मूल्य तोकेपछि मात्र उखु मिलले सोही मूल्यमा उखु खरिद गर्ने गर्दछन् । 

स्थानीय तहको समन्वयमा सर्वेक्षण सम्पन्न भएपछि कृषि विभागले मूल्य निर्धारण गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सिफारिस गर्ने, सोही सिफारिसलाई उद्योग मन्त्रालयमा पठाइने र अर्थ मन्त्रालयको सहमतिमा मूल्य तोकिने मन्त्रालयका सूचना अधिकारी जोशीले बताउनुभयो ।  

किसानको उत्पादनका आधारमा सरकारले अनुदानबापत किसानको खातामा सिधै पैसा पठाउने व्यवस्था छ । सरकारले गत वर्ष अनुदानबापत प्रतिक्विन्टल रु ३५ का दरले सम्बन्धित किसानलाई सहयोग उपलब्ध गराएको थियो । गत वर्ष दुई करोड १६ लाख क्विन्टल उखु उत्पादन भएको थियो । देशभर हाल करिब ३० लाख हेक्टरमा उखुखेती भइरहेको र करिब ६५ हजार किसान आबद्ध रहेका मन्त्रालयले जनाएको छ ।  

अनुदान प्रवाहमा बिचौलियाको प्रभाव नियन्त्रण गरी वास्तविक कृषकलाई नै अनुदान रकम प्रदान गर्न स्थानीय तहमा उखु कृषक दर्ता गरी सोको आधारमा अनुदान प्रदान गर्ने व्यवस्था रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप